एलपी ग्याँसको विस्थापनबाट ४० अर्ब बचत हुने



नेपाल समाचारपत्र, काठमाडौं ।

एलपी ग्याँस नेपाल आयल निगमले र दाउरा नेपाल टिम्बर कर्पोरेसनले व्यस्थापन गर्ने भए पनि नेपाल विद्युत् प्राधिकरण ऊर्जा शक्तिको माग अनुमान गर्ने उपयुक्त निकाय नभएको ऊर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले बताउनुभएको छ ।

उहाँका अनुसार नेपालमा के कति ऊर्जाको आवश्यकता पर्छ भन्ने कुरा नेपाल सरकारले नै अध्ययन नगरेको जिकिर गर्नुभयो । हाल नेपालको जलविद्युत् उत्पादन क्षमता २ हजार मेगावाट रहे तापनि करिब १२ सय मेगावट मात्र उत्पादन भइरहेको र करिब ३ सय मेगावाट भारतबाट आयात भइरहेको उहाँले बताउनुभयो ।

हाल बिजुलीको दैनिक माग १६ मेगावाट हाराहारीमा खपत भइरहेकामा घरायसी प्रयोग तथा विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिने हो भने यो परिमाण पाँच गुणासम्म पु¥याउन सकिने प्रधानको दाबी थियो । नेपालमा उत्पादन हुन नसक्ने एलपी ग्याँसमा प्रतिसिलिन्डर ६ सय १८ रुपियाँका दरले अनुदान दिनु गलत रहेको उहाँको धारणा थियो ।

उक्त अनुदानले बिजुलीको प्रयोगलाई निषेध गरेको उहाँले बताउनुभयो । एलपी ग्याँस प्रतिस्थापन गर्न सके वार्षिक ४० अर्ब रुपियाँ बचत गर्न सकिने उहाँको राय थियो । १२ हजार बस तथा ट्रक दैनिक राजधानीमा ओहोर–दोहोर गर्ने उहाँले बताउनुभयो । वीरगन्ज‐काठमाडौं विद्युतीय रेल सञ्चालन गर्न सके २ घण्टामै राजधानीबाट तराई पुग्न सकिने उहाँले बताउनुभयो ।

मुलुकमा सञ्चालित ट्रक, बस, जिपलगायत सवारी साधनमा प्रयोग हुने टायर, स्पेयर्स पाट्स, डिजल, मोबिललगायतका चिजमा वर्षेनी १ खर्ब २० अर्ब देशबाट बाहिरिने गरेको ऊर्जाविद् प्रधानले बताउनुभयो । विद्युतीय रेल सञ्चालन गर्न सके उक्त लागत उल्लेखित मात्रमा कटौती गर्न सकिने उहाँको धारणा थियो । जनकपुरमा डिजलबाट चल्ने रेल ल्याइएकोमा उहाँले विद्युतीय ऊर्जाको उपहास गरेको आरोप लगाउनुभयो ।

पूर्व अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारी साधनको भन्सार दर वृद्धि गरेको बताउँदै हाल भन्सार दर अनुकूल रहेको बताउनुभयो ।
चालु वर्षको पहिलो ६ महिनमा विद्युतीय सवारी साधनको आयातउल्लेखीय वृद्धि भएको भए तापनि हलुका सवारी साधन मात्र आयात भएको विद्युत्बाट सञ्चालन हुन सक्ने ठूला सवारी साधन आयात गर्नु पर्ने उहाँको धारणा थियो ।

नेपालको बिजुली खरिद गर्न भारत कहिल्यै सकारात्मक नभएको धारण उहाँले राख्नुभयो । भारतले सौर्य ऊर्जामा लगानी बढाएको छ नि, नेपालको जलविद्युत् उसलाई खाँचोे नपर्ने होकि भन्ने जिज्ञासामा सौर्य ऊर्जाले दिनमा मात्र धान्ने भएकाले रात्रिकालीन आवश्यकता पूरा गर्न नेपालको बिजुली आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार भारतमा बिजुली निर्यात गर्न नेपालको मार्गचित्र(भिजन) अभाव रहेको छ । गतवर्ष भारतीय अनुदानमा निर्मित त्रिशूली जलविद्युत् आयोजना र देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विजुलीमात्र निर्यात अनुमति पाएकाले ५ सय मेगावाट खेर गएको स्मरण गर्नुभयो ।

चालु वर्षको वर्षायाममा बचत हुन सक्ने ८ सय मेगावाट बिजुलीमध्ये करिब ३ सय मेगावाट बिजुली भारतमा निर्यात हुन सक्ने उहाँको आँकलन थियो ।बंगालादेशले ऊर्जाशक्तिको लागि अहिले थर्मल पावरमा निर्भर रहेकाले नेपालको बिजुली खरिद गर्न खरिद चाहिरहेको उहाँले बताउनुभयो ।

बंगालादेशले नेपालको बिजुली महंगो मूल्यमा खरिद गर्ने कुरा के साँचो हो भन्ने जिज्ञासामा बंगालादेशले शून्य दशमलव ७२७ अर्थात् ८ रुपियाँ ५० पैसामा खरिद गर्न तत्पर रहेको र उक्त दर आफंैमा उच्च नै रहेको उहाँको बुझाइ थियो ।

प्रतिक्रिया दिनुहोस्