सीडी रेसियोमा राष्ट्र बैंक लचक, तरलता व्यवस्थापनमा राहत



काठमाडौं । 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भई तरलताको चाप बढ्दै गएका बेला केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा गरेको छ ।

कोभिड–१९ को असर आर्थिक क्षेत्रमा कम हुँदै गएकाले आर्थिक क्रियाकलापहरू विस्तार हुँदै जाने र विदेशी पर्यटकको आगमन बढ्न गई आर्थिक पुनरूत्थानमा सहयोग हुने अपेक्षा राष्ट्र बैंकले गरेको छ । त्यस्तै निक्षेप परिचालनको तुलनामा कर्जाको माग बढ्दै गएकाले केही समय तरलताको चाप विद्यमान रहने आँकलन राष्ट्र बैंकले गरेको छ ।

आगामी दिनमा मुद्रास्फीतिमा चाप पर्न सक्ने आँकलन गर्दै मौद्रिक नीतिको समीक्षामार्फत् चालू आर्थिक वर्षबाट लागू गरिएको कर्जा–निक्षेप अनुपात सीडी रेसियोको प्रावधानलाई ९० प्रतिशत नै कायम गर्दै त्यसको कार्यान्वयनको खाका निर्माण गर्न बैंक तथा वित्तीय संस्थालाई भनिएको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी असार मसान्तभित्रमा कर्जा–निक्षेप अनुपात ९० प्रतिशत कायम गर्ने कार्ययोजना तयार गरी सञ्चालक समितिबाट पास गराई राष्ट्र बैंकसमक्ष बुझाउनुपर्नेछ । समीक्षामार्फत् २०७९ असार मसान्तसम्म लक्षित अनुपात कायम गरे हुने गरी लचकता अपनाएको छ । यसले बैंकहरूलाई तरलता व्यवस्थापनमा केही राहत हुने नेपाल उद्योग परिसंघको धारणा रहेको छ ।

यसैगरी समीक्षामा व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरूले बैंक ग्यारेन्टी जारी गर्न सक्ने व्यवस्था मिलाउने उल्लेख छ । यसले उल्लेखित क्षेत्रमा नेपाली कम्पनीहरूलाई विदेशबाट संस्थागत ऋण लिन सहज हुने परिसंघको बुझाइ छ ।विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्कलगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने विषय पनि समीक्षामा समेटिएको छ

। साथै गैरआवासीय नेपालीलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने विषय सकारात्मक रहेको परिसंघको बुझाइ छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा आयातको दर अधिक रहेको र अपेक्षित विप्रेषण बढ्न नसक्दा वैदेशिक मुद्राको सञ्चितिमा चाप परेको जनाउँदै विभिन्न वस्तुको आयातमा कडाई गर्ने संकेत देखाएको छ । परिसंघले यस विषयलाई सम्बोधन गर्न औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीको आयातका लागि छुट्टै व्यवस्था गर्न आग्रह गर्दै आएको छ । राष्ट्र बैंकले यस मौद्रिक नीतिमार्फत् चाँदीको आयातमा समेत कडाई गरेको छ । राष्ट्र बैंकले समीक्षामार्फत् भारतबाट परिवत्र्य विदेशी मुद्रामा आयात गर्न पाउने गरी १५ वस्तु थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्