डेरिभेटिभ बजार सीमित क्षेत्रमा मात्रै



काठमाडौं, (नेस) ।

नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानुनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थिति बारेमा विश्लेषण गरेको छ ।

अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाका बारेमा पनि विश्लेषण गरेको छ । सार्क मुलुकहरूमध्ये भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामा विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको छ । सर्वेक्षण नतिजाअनुसार नेपालमा सबै वाणिज्य बैंकहरू फवर्ड मार्केटमा संलग्न रहेको र आधाजसो बैंकहरू स्वापस् कारोबारमा संलग्न रहेको देखिएको छ । ८१ उत्तरदाता गैरवित्तीय फर्महरू (११५ फर्महरूलाई प्रश्नावली सोधिएको) मध्ये १४ दशमलव ८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेको देखिएको छ । जसमध्ये अधिकांश स्टिल तथा धातु उत्पादक फर्महरू रहेका छन् । दैनिक कारोबारमा विदेशी विनिमय जोखिम नरहेको भन्ने फर्महरू ३७ प्रतिशत रहेको र विदेशी विनिमय जोखिम रहेको भन्ने बाँकी फर्महरूमध्ये ५२ दशमलव ९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारीको अभाव रहेको अध्ययनले देखाएको छ । तरलता, बजार सहभागिता, कानुनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा हेर्दा नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा नै रहेको अध्ययनबाट देखिएको छ । विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्