हिँडाइका फाइदा
उचित हिँडाइले शरीर फूर्तिलो र जाँगरिलो बन्छ । शरीरमा रक्तसञ्चार बढ्छ । छिटो वा तीव्र हिँडाइले शरीरमा पर्याप्त व्यायाम पुग्छ, पसिना निस्केर रगतको सफाइ हुन्छ र अनावश्यक क्यालोरी घट्छ । त्यस्तै शरीरका बोसो, खराब कोलेस्टेरोल घट्ने र राम्रो कोलेस्टेरोल बढ्ने हुन्छ । हाड–नसा बलियो हुन्छ र कार्यक्षमता पनि बढ्छ । हिँडाइकै कारणले मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ । तनाव, डिप्रेसन, चिन्ता, डर, रिस आदिको उपचारमा पनि हिँडाइले लाभ दिन्छ । प्रकृतिको मनोरमतालाई अनुभूति गर्दै बिस्तारै हिँड्दा मनमा शान्ति र आनन्द आउँछ । भोक, पाचन, निष्कासन, निद्रा आदिमा पनि हिँडाइले सुधार ल्याउँछ । हिँड्ने क्रममा साथीभाइसँगको भेटघाटले सामाजिक सम्बन्ध बढ्छ र आध्यात्मिक वा धार्मिक क्षेत्रमा हिँड्नाले त्यसको सात्विक प्रभाव पनि मनमा पर्दछ । अस्पतालमा पनि बिरामीलाई शल्यक्रियापछि निश्चित समयपछि बिस्तारै हिँड्न प्रेरित गरिन्छ र हिँडाइन्छ । यसबाट बिरामी छिट्टै तङ्ग्रिने हुन्छ र स्वास्थ्य राम्रो हुन्छ । गर्भावस्थाका विशेष समस्यामा बाहेक अरु अवस्थामा हल्का हिँडाइले फाइदा गर्दछ । हिँडाइका बारेमा अनेक अनुसन्धान भएका छन् । ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिनमा प्रकाशित अध्ययन (Sarah Hanson & Andy Jones, 2015) र जर्नल अफ ओमेन्स हेल्थ (Katrina M. Serwe et al., 2011) आदि अनेकौं अध्ययनहरुले हिँड्दा प्राप्त हुने अनेकौं शारीरिक तथा मानसिक स्वास्थ्य लाभका बारेमा उल्लेख गरेका छन् ।बेफाइदाहरु
हिँडदा जति फाइदा छ, हिँड्न नजादा वा सावधानी नअपनाउँदा त्यति नै बेफाइदा पनि छ । मौसम, स्वास्थ्य तथा सुरक्षाको प्रतिकूल अवस्थामा हिँँड्नु घातक पनि हुन सक्छ । बढी पानी पर्ने, हावाहुरी चल्ने, बिजुली चम्कने वा चट्याड. पर्न सक्ने, असिना झर्ने, हिउँ पर्ने आदि अवस्थामा बाहिर हिँड्नुहुँदैन । साथै स्वास्थ्यको कारण आराम गर्नै पर्ने अवस्था र विशेष सुरक्षा जोखिमको परिस्थितिमा हिँड्नु बेफाइदा हुन्छ ।सही तरिकाले हिँड्दा अनेक शारीरिक, मानसिक लाभ पाइन्छ भने गलत हिँडाइ विभिन्न समस्याको कारक हुन सक्छ ।