फलेबास नगरपालिकाको प्रशासकीय भवन निर्माण शुरु , उपप्रमुखद्वारा बहिष्कार



पर्वत ।

भवन निर्माणस्थलका बिषयमा भएको बिबादका कारण लामो समय देखि रोकिएको पर्वतको फलेवास नगरपालिकाको प्रशासनिक भवन निर्माण शुरु भएको छ ।

फलेवास ५ खानीगाउँमा अस्थायी रुपमा रहेको कार्यापालिका कार्यालय झकलक सार्ने निर्णय भएपछि सर्वोच्च अदालतमा परेको रिट निवदेनका कारण रोकिएको भवन निर्माण कार्यको बिहीबार शिलन्यास भएको हो । नगरपालिकाका प्रमुख पदमपाणी शर्माले भब्य समारोहका बिच भवन निर्माण कार्यको शिलन्यास गर्नुभयो ।

फलेवासको खानीगाउँ झकलक चौरमा निर्माण शुरु भएको भवन ४२ कोठे हुनेछ । जुम्ले थान एण्ड आचार्य विल्डर्स प्रा.लि बागलुङले लिएको छ । भवन निर्माणका लागि २०७८ भदौमा सम्झौता भएको थियो । ९ करोड २ लाख रुपैंयाको लागतमा डेढ बर्षमा भवन सम्पन्न गर्ने गरि सम्झौता भएको नगरपालिकाका इन्जिनियर सुवास पोखरेलले जानकारी दिनुभयो ।

स्थापनाकाल देखि भाडाको भवनमा बस्दै आएको नगरपालिका केही समय देखि फलेबास सिंचाई आयोजनाको कार्यालयमा बस्दै आएको थियो । सिंचाई कार्यालय परिसर साँघुरो भएका कारण भवन निर्माणका लागि फराकिलो ठाउँ खोजिएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो ।

‘हाम्रो आफ्नो भवन नहुँदा जनताका काम गर्नमा समस्या भएको थियो, अहिले फराकिलो ठाउँमा आफ्नो भवन निर्माण गर्नतिर लागेका छौँ, सबैलाई सहज हुने छ ।’ नगरपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले ६० रोपनी ८ आना जग्गा निःशुल्क नगरपालिकाको कार्यालयको नाममा पास गरिदिएका थिए ।

त्यस स्थानमा झण्डै ४० रोपनी सरकारी जमिन समेत भएकाले दिर्घकालिन रुपमा सेवा बिस्तारका लागि समेत सहज हुने प्रमुख शर्माको भनाई छ । नगर उपप्रमुख मञ्जु अधिकारीले भने भवन निर्माणस्थलको बिषयमा शुरु देखि नै असहमति राख्दै आउनुभएको छ । कार्यपालिकाले गरेको निर्णयमा असहमति राख्दै उपप्रमुख अधिकारीले सर्वोच्च अदालतमा भवन निर्माण कार्य रोक्न रिट निवेदन समेत दिनु भएको थियो ।

पछि सर्वोच्चले अन्तिरम आदेश खारेज गरेपछि भवन निर्माण प्रकृया शुरु भएको थियो । कार्यपालिकाका सबै सदस्य र नगरपरिषदका दुई तिहाई भन्दा बढी सदस्यको समर्थन र सहभागिता रहेको भवन निर्माण शिलन्यास कार्यक्रम पनि उपप्रमुख अधिकारीले बहिष्कार गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्