दशैं घरलगायत घर-घरमा जमरा राखियो



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमान ढोकाको दशैं घरमा बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा विधिपूर्वक घटस्थापना गरिएको हो । घटस्थापनाको बेला नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो ।

बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ ।नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन आज घरघरमा बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । यद्यपी, कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य रोप्ने पनि चलन छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य एवं महासरस्वतीलाई विद्या तथा वुद्धिको प्रतीकको रुपमा लिइ पूजा गर्ने चलन रही आएको छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।

प्रतिक्रिया दिनुहोस्