धुलिखेलमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न



न्युज अफ नेपाल, काभ्रे ।

धुलिखेलको संजिवनी माविमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, उच्च रक्तचाप, मधुमेह सम्बन्धि दुई दिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविर सम्पन्न भयो ।

विवाहित महिलाहरुमा देखा पर्ने विशेष गरि पाठेघरको मुखको क्यान्सर, पाठेघरको संक्रमण लगायतका समास्याका बारेमा समयमै पहिचान गर्ने उदेश्यले धुलिखेल अस्पताल काठमाडौ विश्व विद्यालय अस्पतालको सामुदायिक कार्यक्रम र धुलिखेल कल्याणकारी सेवा समाज परिवारको संयुक्त आयोजनामा संचालित विविरमा समाजका विवाहित महिलाहरुको पाठेघरको मुखको अवस्था, स्तन क्यान्सरको सम्भावित अवस्था, उच्च रक्तचाप, मधुमेहको परिक्षण गरिएको थियो ।

धुलिखेल अस्पतालका ८ जना स्वास्थ्यकर्मीहरुको समूहले पहिलो दिनमा महिलाहरुलाई परामर्श शिक्षा दिनुका साथै दोस्रो दिनमा स्वास्थ्य परिक्षण गरेको थियो । पाठेघरको मुख तथा स्तन क्यान्सरको सम्भावित परिक्षण गराउने महिलाहरु धुलिखेल कल्याणकारी सेवा समाज परिवारका ३४ जना महिलाहरु हुनुहुन्थ्यो ।

जसमा पाठेघरको मुखमा समस्या देखा परेका १२ जनाको आवश्यकता अनुसार थप परिक्षणका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ । परिक्षण गरिएकामा स्तन क्यान्सरको सम्भावना भने नभएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । धुलिेखल कल्याणकारी सेवा समाज विभिन्न जिल्ला तथा स्थानबाट धुलिखेलमा स्थायी बसोबास गर्नुहुने व्यक्तिहरु मिलेर स्थापना गरिएको सामाजिक संस्था हो ।

निःशुल्क स्वास्थ्य परिक्षणमा कुल ७५ जनाको उच्च रक्तचाप र मधुमेहको परिक्षण गरिएकोमा २ जनामा मधुमेहको सम्भावना देखिएको र ८ जनामा मधुमेह भैसकेको पाईएको धुलिखेल अस्पताल सामुदायिक स्वास्थ्य कार्यक्रम तथा कल्याणकारी सेवा समाज परिवारका स्वास्थ्य शिविरका सहजकर्ता बिनु बस्नेतले जानकारी गराउँनुभयो ।

पाठेघरको मुखको क्यान्सरको परिक्षण विधि महगो हुने र समस्या जटिल नभै उपचारमा जानुपर्छ भन्ने स्वास्थ्य सम्बन्धी पूर्ण ज्ञान सबैमा नहुँने भएकाले सामाजिक संस्थासँग सहकार्य गरि धुलिखेल अस्पतालले उक्त जनचेतना मुलक स्वास्थ्य शिविरको आयोजना गरेको बस्नेतले जानकारी गराउँनुभयो ।

धुलिखेलको संजीवनी माविमा संचालित निःशुल्क स्वास्थ्य शिविरलाई व्यवस्थित र मर्यादित बनाउँने कार्यमा स्वास्थ्यकर्मी तथा प्राविधिक सहयोग गर्ने धुलिखेल अस्पताल, स्थान उपलब्ध गराउँने विद्यालय परिवार, वातावरण तयार पार्न अहोरात्र खट्नुहुने कल्याणकारी सेवा समाजका सचिव गायत्रीरमण घिमिरे, कार्य समिति सदस्य खड्ग बहादुर श्रेष्ठ, सपना ढकाल, कुमारी भुजेल लगायतका सम्पूण सदस्य परिवारलाई संस्थाका अध्यक्ष दिल बहादुर गजुरेलले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि मानव कल्याणका लागि यस्तै सहयोग र सदभाव कायम रहिरहोस भन्ने कामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्