बौद्ध दर्शनसम्बन्धी बसन्त महर्जनको पुस्तक प्रकाशित



काठमाडौं ।

बौद्ध अध्ययन क्षेत्रमा बसन्त महर्जनद्वारा लिखित पुस्तक ‘बौद्ध दर्शन सहज चिन्तन’ प्रकाशित भएको छ । बौद्ध विषयका विविध पक्षमा अध्ययन अनुसन्धान तथा लेखन कर्म गर्दै आएका लेखकको यो दशौं कृति हो ।

बौद्ध दर्शनका विविध पक्ष र विषयवस्तुको चर्चा, चिन्तन–मनन र विश्लेषण गरी लेखिएका चवन्न वटा आलेख पुस्तकमा संग्रहित छन् । लेखकका अनुसार आलेखहरू शास्त्रीय पद्दतिअनुसार नभएर बौद्ध दर्शनलाई सर्वसुभल बनाउन र सहज चिन्तनको संस्कृति बसाल्न सर्वसाधारणलाई ध्यानमा राखी लेखिएको हो ।

बौद्ध धर्मदर्शनको मूलभूत मान्यताको रूपमा लिइने त्रिलक्षणको अनित्य, दुःख र अनात्म, प्रतीयसमुत्पाद, मध्यममार्ग, तथा विभिन्न यान तथा सम्प्रदायहरूको विकास तथा त्यसको तात्पर्यमाथि पुस्तकमा चर्चा गरिएको छ । यसरी नै बुद्ध र बुद्ध वचनसम्बन्धी चर्चा गर्दै हिंसा, अहिंसा, जातिवाद, लैगिक विभेद आदिका बारेमा प्रष्ट्याउने काम पुस्तकमा गरिएको छ । पुस्तक इन्साइट पब्लिकेशन प्रा।लि। बाट प्रकाशित हो ।

प्रतिक्रिया दिनुहोस्