सरकारको निर्णय भएपनि सीमा नाका खुलेनन



उत्तम नेपाल, भद्रपुर ।

सरकारले कोभिड १९ का कारण बन्द भएका भारतसँग सीमा जोडिएका सबै नाका खुलाउने निर्णय गरेपनि कार्यान्वयन नहुदाँ सर्वसाधारणले सास्ती पाएका छन् ।

कार्यान्वयन पक्ष फितलो बनेका कारण अहिले सर्वसाधारणमा अन्यौल छाएको छ । सरकारको नाका खुलाउने सरकारी निर्णयले औपचारिकता पाउन ढिलाई भएका कारण झन समस्या देखिएको छ । नाका खुलाउने सरकारी निर्णय औपचारिकता पाउन नसकेकै कारण झापाको काँकडभिट्टामा यसअघि आवतजावतमा गरिएको कडाई नै यथावत रहेको छ । यता भद्रपुर नाका भने शुरु देखिनै बन्द रहेको छ ।
असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको थियो । भारतसँग सीमा जोडिएका सबै नाका अब खुल्ने निर्णय विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि काँकडभिट्टा र भद्रपुर नाकामा मानिसको भीड समेत बढ्न थाल्यो । नाका खुलाउने सरकारको निर्णय सुनेर नेपालबाट भारत जाने तथा भारतबाट नेपाल आउने सयौं मानिसहरु अहिले पनि नाकाबाटै फर्कन थालेका छन् ।

मन्त्रिपरिषद्ले गरेको निर्णय एक हप्ता बित्न लाग्दासम्म कार्यान्वयनमा आउन सकेको छैन् । सरकारको निर्णय एकतिर र गराई अर्र्कोतिर भएका कारण सर्वसाधारण भने अन्यौलमा छन् । सरकारको निर्णय कार्यान्वयन नहुँदा सीमाक्षेत्रमा यसले अन्यौल सिर्जना गरेको नेपाल एशोसिएसन टुर्स एण्ड ट्राभल एजेण्ट्स नाटा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ ।झण्डै दुईवर्षअघिदेखि बन्द भएको नेपाल प्रवेशको पूर्वीद्वार काँकडभिट्टा र भद्रपुर नाका सञ्चालनमा नआउँदा सर्वसाधारणहरू किनमेल गर्न भारतीय बजारसम्म जान पाएका छैनन् । भारतीय बजारमा दैनिक उपभोग्य सामानहरू नेपालभन्दा निक्कै सस्तोमा पाइने हुनाले दैनिक हजारौँ मानिस भारतीय बजारसम्म पुग्ने गर्दछन् ।

उपचार गर्न र अत्यावश्यक कामका लागि भारतजाने नेपाली नागरिकहरुलाई ७२ घण्टाअघि परीक्षण गरिएको पीसीआरको रिपोर्ट वा कोभिड १९ विरुद्घको दुवै मात्रा लगाएको खोपको प्रमाणपत्र र नेपाली नागरिक भएको पहिचान खुल्ने सरकारी कागजात अनिवार्य गरिएको छ । भन्सार नाका बन्द रहँदा भारतबाट नेपालतिर र नेपालबाट भारततिर आफन्तकहाँ विवाह, पूजा, व्रतबन्ध तथा अन्य पारिवारिक भेटघाटमा आउने भारतीयहरुलाई समेत समस्या भएको बताइएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयनमा आए यो समस्या हल हुन सक्ने बुझाई सर्वसाधारणको छ । तर, निर्णय कार्यान्वयन नभएका कारण उनीहरु अन्यौलमा छन् ।कोभिड १९ को संक्रमण दर निक्कै कम हुँदै गएपछि नेपाल सरकारले भारतसँग जोडिएका सबै सीमानाका खुलाउने निर्णय गरेपनि कार्यान्वयनमा नआएको कारण होटल व्यवसायीहरु मारमा परेको क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका अध्यक्षका सुरेशकुमार श्रेष्ठको भनाई छ ।

कोभिड १९ को पहिलो लहरबाटै बन्द भएका यी नाका यतिका दिनसम्म पूर्णरुपमा सञ्चालनमा नआएका कारण सीमाक्षेत्रका व्यवसायीहरु मारमा परेको भन्दैं क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरको अगुवाईमा स्थानीयबासी तथा व्यावसायीहरूले प्रदर्शन नै गरेका थिए भने, प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाएका थिए । तर पनि समस्या ज्यूँ का त्यू रहेको उहाँको भनाई छ । नाका बन्द हुँदा निकै अप्ठ्यारो परेको भन्दै नाका खुलाउन व्यावसायीहरू पनि प्रदर्शनमा उत्रिन बाँध्य भएको उहाँको भनाई छ । नेपाल सरकार मन्त्री परिषद्को यो निर्णय तत्काल कार्यान्वयमा ल्याउन र नेपाल–भारत सीमा नाकालाई खुलाएर जनजीवन सामान्य बनाउन उहाँले सरकारसँग माग गर्नुभएको छ ।केहीदिनअघि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सबै सीमानाका खोल्ने भन्ने समाचार प्रकाशित भएपछि आम नागरिकमा अब नाका खुल्ने रहेछ भन्ने छाप परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहाल बताउँनुहुन्छ ।

समाचार आएपछि यसनाकाबाट आवतजावत गर्नेको प्रेसर रहेको र संख्या बढेको उहाँको भनाई छ । तर, स्थानीय प्रशासनले सबै मानिसलाई भारततर्फ पठाउने गरेको छैन् । पत्रपत्रिकामा निर्णयको समाचार आए पनि आधिकारिकरुपमा कुनै लिखित तथा मौखिकरुपमा जानकारी नआएका कारण नाकाबाट सहजरुपमै आवतजावत गर्न नदिएको दाहालको भनाई छ । स्थानीय प्रशासन अहिलेपनि माथिको आदेश पर्खेर बसेको छ । माथिबाट आदेश नआएका कारण काँकडभिट्टा र भद्रपुर नाकामा हिजो जसरी सञ्चालन भएको थियो अहिले पनि त्यसरी नै सञ्चालनमा आइरहेको उहाँको भनाई छ । नाकामा कुनै परिर्वतन नआएको झापा ट्राभल्स संघका अध्यक्ष नीरबहादुर कार्की(नेत्र)ले बताउँनुभयो । नाका सहज नहुदाँ दुवै देशका नागरिकले सास्ती ब्यहोर्नु परेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्