एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै



न्युज अफ नेपाल, काठमाडौँ ।

एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशन मस्यौदामा समूहगत छलफल हुँदैछ । अपराह्न १ बजे शुरू हुने बैठकमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छलफल शुरू हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

शुक्रबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएको थियो ।प्रतिवेदनमाथि छलफल गर्न ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरूको एक समूह, विभागीय प्रमुखहरूको समूह र प्रदेशमा सम्पर्क कमिटीहरू, उपत्यका विशेष कमिटीहरू,लगायतका समूहहरूलाई हेर्न अर्को समूह निर्माण गरेको थियो ।एमालेको विधान महाधिवेशन ललितपुर गोदावरीस्थित सम्मेलन हलमा १५–१७ असोजमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्