निर्माण व्यवसायी संघ काभ्रेको २५ औ स्थापना दिवस

‘सहकारी मार्फत टेण्डर गर्ने प्रावधान खारेज नभए आन्दोलनको चेतावनी’



मोतीराम तिमल्सिना, काभ्रे ।

निर्माण व्यवसायी संघ काभ्रेले स्थापनाको २५ औ बर्षको अवसरमा रजत जयन्ती समारोह आयोजना गरेको छ । स्थापना दिवसका अवसरमा संघले आफ्नै कार्यालयमा निर्माण क्षेत्रका विविध विषयमा सरोकारवालाहरुले धारणा राखेका थिए ।

‘मुलुक निर्माणको क्षेत्रमा निर्माण ब्यवसायीहरुले पु-याएको योगदान अविश्मरणीय छ’–निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले भन्नुभयो–‘सरकारले निर्माण ब्यवसायीहरुलाई व्यवसायीका रुपमा ब्यवहार गर्न सकिरहेको छैन ।’ सरकारकै कारण निर्माण क्षेत्रमा ढिलाई भईरहेको महासचिव दाहालले बताउनुभयो । एक पछि अर्काे गर्दै व्यवसायीहरुलाई सरकारले असहज वातावरण तयार गरिरहेकाले संघ मार्फत ब्यवसायीहरु एकजुट हुन महासचिव दाहालले अनुृरोध गर्नु भयो । अध्यक्ष उपेन्द्र घिसिङ्गले काभ्रेपलाञ्चोक जिल्लामा निर्माण व्यवसायी संघको स्थापना, संस्थापकहरु, निर्माण ब्यवसायका क्षेत्रमा भएका स्वस्थ र अस्वस्थ प्रतिस्पर्धा, तीन तहका सरकारले खेलेको भूमिका र व्यवसायीहरुले झेलिरहेका समस्याका बारेमा नीतिगत रुपमै महासंघले सरकारको ध्यानाकर्षण गराउनु पर्ने बताउनु भएको थियो । रजत महोत्सवको वर्षमा स्मारिका प्रकाशन, संघको इतिहास तथा संस्थापकहरुको भूमिका र योगदानका बारेमा संस्थागत गरिने अध्यक्ष घिसिङ्गले बताउनु भयो ।

निर्माण व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष सुवित श्रेष्ठले सरकारले निर्माण व्यवसायीको काम सम्पन्न भएकै २५ अर्ब भन्दा धेरै भुक्तानी नगरिरहेको बताउनु भयो । कोभिड महामारीका कारण केहि समय म्याद थप्न गरिएको अनुरोधलाई ढिलै भए पनि सरकारले सुने पनि भुक्तानी तथा निर्माण क्षेत्रका विविध समस्याहरु समधानमा सरकारले चासो नदिएको श्रेष्ठले बताउनु भयो । ‘कोभिडले निर्माण क्षेत्रका व्यवसायीहरु पनि संकटमा परेका छन् । काम सम्पन्न भएको २५ अर्ब रकम दशै अघि सरकारले भुक्तानी गर्नु पर्छ’–बागमती प्रदेश अध्यक्ष सुवित श्रेष्ठले भन्नुभयो–‘कार्य सम्पन्नका आधारमा ३५ अर्ब भन्दा धेरै रकम भुक्तानी गर्न बाँकी छ । कार्य सम्पन्न भएन भनेर व्यवसायीलाई आरोप लगाईरहँदा सरकारले आयोजनाहरुको श्रोत सुनिश्चित गर्नु पर्छ ।’ सरकारले बजेट मार्फत सहकारी मार्फत दिने भनिएको टेण्डरको प्रावधान खारेज नगरे देशभर आन्दोलन गर्ने चेतावनी व्यवसायीहरुले दिएका छन् ।

स्थापना दिवसमा प्रदेश महासचिव राजकुमार बुढाथोकी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, संघका सल्लाहकार सदस्य हरि लामा लगायतले संघले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु-याएको बताउनु भयो । निर्माण व्यवसायीहरुले गुणस्तरमा ध्यान दिए पनि उपभोक्ता समितिले कार्य जिम्मेवारी लिँदा त्यस्तो हुन नसकेको, उपभोक्ता समितिले जिम्मेवारी लिएका काम ठेक्का मार्फत लगाउँदै कमिसन माग्ने गरेको सहभागिहरुले बताएका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष शंखबुद्ध लामा, पुर्व अध्यक्ष अध्यक्षहरु राकेश लामा, ज्ञानबहादुर लामा, रत्न लामा, हस्त लामा, चन्द लामा लगायतलाई संघको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्