टन्डनको उम्मेदवारीले अर्घाखाँचीका कांग्रेसमा तरङ



न्युज अफ नेपाल, काठमाडौं । 

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत अर्घाखाँची जिल्लाबाट अशोक टन्डनले केन्द्रीय महाधिवेशन प्रतिनिधिको खुल्लातर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ ।

स्थायी जागिर छोडेर सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका टन्डनले नयाँ विचार र दृष्टिकोणसहित युवापुस्तालाई नेतृत्वमा स्थापित गर्ने भन्दै आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।पञ्चायतकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय टन्डनले अर्घाखाँचीमा बिग्रिँदै गएको नेपाली कांग्रेसको संगठन पुरानै अवस्थामा फर्काउन आफूले उम्मेवारी दिएको बताउनुहुन्छ ।

पार्टीभित्र देखापरेको गुट उपगुटको पक्षमा आफू नलागेर लोकतान्त्रिक विधिबाट आन्तरिक प्रतिस्पर्धाका आधारमा आफू नेतृत्वमा आउन खोजेको बताउनुभयो । आफ्नो उम्मेवारीले अर्घाखाँचीका युवा विद्यार्थीलाई उत्साह जगाएको दाबी गर्दै भन्नुभयो–‘तुलनात्मकरूपमा जिल्लाको पश्चिमी क्षेत्र जहाँबाट मेरो क्रियाशील सदस्यता छ, त्यहाँ नेपाली कांग्रेसको संगठन कमजोर छ । यद्यपि, मेरो उम्मेवारीसँगै त्यस क्षेत्रमा वर्षौदेखि कमजोर महशुस गरेका पार्टी सदस्यको आत्मबल बढाउने काम गरेको छ । साथीहरूले विपक्षी पार्टीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने नेतृत्व खोजी रहनुभएकाले म मैदानमा उत्रिएको हुँ ।’

२०४८ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य रहनुभएका उहाँ नेविसंघ र पार्टीका विभिन्न शुभेच्छुक संगठनको नेतृत्वमा रहेर काम गर्नुभएको छ । टन्डनको उम्मेदवारीसँगै जिल्लाको कांग्रेसभित्र तरङ सिर्जना भएको उल्लेख गर्दै नेपाली कांग्रेस अर्घाखाँचीका एक पूर्वसचिवले भन्नुभयो–‘अशोकजीको उम्मेदवारीले बास्तवमा हंसपुर, गोखुङ्गा, धारापानी, बाँगीलगायतका क्षेत्रमा पार्टीका निम्ति उत्साह जगाएको छ ।’

प्रतिक्रिया दिनुहोस्