मृगौला स्वास्थ्यबारे बेलैमा सचेत होऔं



मृगौला मानव शरीरको एक अभिन्न अंग हो । यो अंग सिमीको आकारको हुने गर्दछ । यो मेरुदण्डको दुवैपट्टि हुन्छ । यो करिब–करिब ४–५ इन्च लामो अथवा एउटा ठूलो मुठीजत्रो हुन्छ । प्रत्येक मृगौलामा लाखौँ स–साना छान्ने जालीहरू हुन्छन्, जसलाई नेफ्रोन्स भनिन्छ । मृगौलाको कुनै भागमा मात्रै समस्या आयो भने यसले राम्रोसँग काम गर्न सक्दैन ।

मृगौलाले रगत छान्ने, शरीरमा झोलिलो पदार्थको मात्रा नियन्त्रन गर्ने, सही मात्रामा इलेक्ट्रोलाइट्स कायम राख्ने र शरीरलाई नचाहिने पदार्थहरू पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्दछ । जब मृगौलाले यस फिल्टरिङ क्षमता गुमाउँछ, तरल पदार्थ र फोहोरको हानिकारक स्तरहरू शरीरमा संकलन हने गर्दछ, जसले रक्तचापलाई बढाउँछ र किड्नी विफलता अर्थात् किड्नी रोगको परिणाम दिन सक्छ ।जब मृगौलाले सामान्यरूपमा काम गर्ने क्षमता ९० प्रतिशतले गुमाउँछ तब बिरामी मृगौला रोगको अन्तिम चरणमा पुग्छ । रगत मृगौलासम्म नपुग्दा मृगौलाको केही भाग अथवा सिंगै मृगौलाले काम गर्न छोड्छ, जसलाई किड्नी फेलर अथवा अन्तिम चरणको मृगौला रोग भन्ने गरिन्छ । मृगौलाको रोगसम्बन्धी गरिने अध्ययनलाई नेफ्रोलोजी भनिन्छ ।

मृगौला स्वास्थ्यबारे जनचेतना भने निश्चय नै कम छ । केयरलेस भएकै कारण कहिलेकाहीँ दुवै मृगौला फेल हुने अवस्थासम्म पनि पुगेको हुन्छ । दुईवटा भएकोले पनि एकै पटक अन्तिम अवस्थामा मात्रै पनि थाहा हुन्छ । त्यसले गर्दा पनि मान्छेले शुरुमा खासै मतलब नगर्ने गरेको हो ।मृगौलालाई स्वस्थ राख्ने सबैभन्दा सस्तो र सहज उपाय पानी नै हो । दिनमा दुई–तीन लिटर पानी अनिवार्य पिउनुपर्छ । हामीले खाएको कुनै पनि कुराको फिल्टर या त कलेजोमा हुन्छ, या त मृगौलामा । कलेजोले प्रोसेस गरेका कुराहरु दिसाको माध्यमबाट बाहिर निस्कन्छ भने मृगौलामा भएको प्रोसेसमा पिसाबबाट जान्छ । तर धेरैजसो खानेकुराले मृगौलामा नै बढी असर गर्छ । त्यही भएर पानी अर्थात् तरल पदार्थ धेरै खानुस् भनिएको हो । जसले गर्दा नचाहिने तत्वहरु मृगौलामा थेग्रिन नदेओस् नै भन्ने हो । पानी धेरै खायो भने पखाल्दै जान्छ ।मृगौलालाई स्वस्थ राख्ने अर्को उपाय भनेको मृगौला फेलिएर हुने कारणहरुबाट सतर्क हुनु नै हो । मृगौला फेल हुने सबभन्दा मुख्य कारण डायबिटिज हो । यदि सुगरलाई नियन्त्रणमा राख्न सक्यो भने त्यसबाट पनि अप्रत्यक्षरुपमा मृगौलालाई सहयोग नै पुगिराखेको हुन्छ । त्यसपछि प्रेसरलाई पनि नियन्त्रणमा राख्न जरुरी छ ।

यसका साथै प्रशस्तै मात्रामा पानी पिउने । खानेकुराहरुमा ब्यालेन्स मिलाउने । नून धेरै नखाने र खानेकुरामा प्रोटिनको मात्रा पनि धेरै खानुहुँदैन । साथसाथै नियमित व्यायाम र चेकजाँच गराइराख्नु भयो भने मृगौलालाइ स्वस्थ राख्न सकिन्छ ।मृगौला बिग्रिनुको दुईवटा कारण छन् । एउटा अचानक फेल हुने र अर्को दीर्घकालीन मृगौला रोग । अचानक मृगौला फेल हुने, जसलाई एक्युड किड्नी इन्ज्युरी पनि भनिन्छ । यो खासगरी विषजन्य पदार्थहरु जस्तो– बारुला, सर्पको टोकाइ, पेनकिलर तथा बढी मात्रामा औषधि सेवनले हुन्छ । हामीले खाएको कुराहरु अन्तमा फिल्टर गर्ने भनेको मृगौलाले नै हो । मृगौलाले पनि निश्चित क्षमता धान्दछ । यदि क्षमताभन्दा बढी हुन गयो भने फिल्टर गर्न सक्दैन र थिग्रिन थाल्छ । जसको कारण अचानक मृगौलाले काम गर्न छोड्छ । तत्काल उपचार गरेनौं भने एकेआई अर्थात् एक्युट किड्नी इन्जुरीपछि गएर दीर्घकालीन मृगौला रोग बन्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा के कारणले त्यस्तो भएको हो, त्यसको उपचार गरेर दीर्घकालीन रोगबाट बच्न सकिन्छ ।

मृगौला कुनै लक्षण नदेखाईकन एक्कासि पनि फेल हुन सक्छ, त्यसैले बेला–बेलामा चेकजाँच गराइरहँदा सजिलो हुन्छ । त्यसपछि दोस्रो चरण भनेको वाकवाकी आउने, खानामा अरुचि बढ्ने, कमजोरी महसुस हुने, रिँगटा लाग्ने, टाउको दुख्ने आदि लक्षणहरु देखा पर्न सक्छ ।त्यसै गरी डायबिटिजको लक्षण देखा प-यो भने, छिन्–छिन्मा पिसाब लाग्ने र पिसाब गर्न कठिन हुने हुन्छ । मृगौलाको पत्थरी पनि एउटा कारण हो । पत्थरीको पनि आ–आफ्नै लक्षणहरु छन् । तल्लो पेट दुख्ने हुन्छ । लक्षण देखा पर्न थाल्यो भने एकपटक चेकजाँच गरेर के भएको हो त्यसको उपचार गरिहाल्नुपर्छ ।

यदि मृगौलामा कुनै समस्या छ र समयमै थाहा पाउन सक्यो भने उपचार सम्भव हुन्छ । किड्नी फेलै भयो भन्दैमा डाइलासिस गर्ने अवस्था हुँदैन । त्यसको पनि स्टेजहरु छन् । स्टेप एकबाट पाँचौंसम्म जानलाई दुई वर्षसम्म लाग्न सक्छ । त्यो दुई वर्षलाई बीस वर्ष कसरी बनाउने त ? औषधि खाएर हुन्छ कि मुख बारेर हुन्छ, डाक्टरले त्यही अनुसार सल्लाह दिन्छन् । मुख्य कुरा हामी नै बेलैदेखि सचेत हुनुपर्छ । मृगौला बिग्रिएपछि पछुताउनुभन्दा समयमै बुद्धि पु¥याउनु बेस ।
– सुमिता मानन्धर, पाटन ।

प्रतिक्रिया दिनुहोस्