विद्यार्थी सिकाइमा कक्षा शिक्षण प्रक्रियाहरु



डा. लाक्पा शेर्पा

विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा विद्यालयको समग्र विकासमा भौतिक पूर्वाधार, मानव स्रोत र समुदायको लगानी महत्वपूर्ण हुन्छ । त्यसरी नै प्रक्रियाको पनि उत्तिकै महत्व हुन्छ । भौतिक पूर्वाधार र मानव संसाधनले पूर्ण भएका शिक्षण संस्थाहरू पनि प्रक्रियाको कारणले पछाडि परेको देखिन्छ । यसमा कक्षा शिक्षण,विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेसागत विकास, नेतृत्व र व्यवस्थापन, सह÷अतिरिक्त क्रियाकलापजस्ता विषयहरू महत्वपूर्ण हुने गर्दछन् ।वर्तमान सन्दर्भमा विद्यालयहरूले भौतिक कक्षाको ठाउँमा अनलाइन तथा भर्चुअल विधिबाट सिकाइ अगाडि बढाइरहेको हुनाले विद्यार्थी सिकाइमा कक्षा शिक्षण प्रक्रियाको महत्वपूर्ण भूमिका हुने गरेको देखिन्छ । कक्षा शिक्षण प्रक्रियामा विशेष गरेर शैक्षिक योजना, शैक्षिक सामग्री, छलफल तथा अन्तरक्रिया, कक्षाकोठा व्यवस्थापन, सूचना प्रविधि, गृहकार्य तथा परियोजना, सकारात्मक पुनर्बल,शिक्षण सुधार, योजनालगायत कार्यमूलक अनुसन्धानजस्ता विषयहरू पर्दछन् ।

शैक्षिक योजना:

कक्षा शिक्षणमा शिक्षकको तयारीलाई महत्वका साथ हेरिने गरिन्छ । शिक्षकले शिक्षण गर्नुपूर्व आफ्ना विद्यार्थीका लागि शैक्षिक योजना बनाउने प्रचलन छ । यसरी शिक्षकले कक्षामा विद्यार्थी सिकाइका लागि शैक्षिक योजना तयार गर्ने सवालमा वार्षिक तथा दैनिक पाठ योजनालगायत विभिन्न टिपोटहरू गर्दछन् । यसरी तयार गरी पठनपाठन गर्दा विद्यालयले विद्यार्थी सिकाइमा निश्चय नै सफलता हासिल गर्न सक्दछ । वर्तमान सन्दर्भमा शिक्षकले अनलाइन तथा भर्चुअलको माध्यमबाटै यी कार्यहरू गर्न जरूरी रहेको देखिन्छ ।

शैक्षिक सामग्री:

त्यसै गरी अर्को महत्वपूर्ण पक्ष भनेको शैक्षिक सामग्रीलाई लिन सकिन्छ । शैक्षिक सामग्रीको व्यापक प्रयोग गरी विद्यालयले विद्यार्थी सिकाइमा सहजता ल्याउन सक्दछ । एकजना अमेरिकन वैज्ञानिक बेन्जामिन फ्य्राङ्क्लिनले भनेका छन् कि ‘सुनेको कुरा बिर्सन सकिन्छ भने देखेको कुरा सधैँ स्मरण गर्न सकिन्छ ।’ त्यसैले शिक्षण सामग्रीको निर्माण र सङ्कलन गरी कक्षा कोठामा सिकाइ गर्न सकेको खण्डमा निश्चय नै विद्यार्थी सिकाइ प्रभावकारी बन्न सक्छ । यी शैक्षिक सामग्रीहरू इन्टरनेट, गुगल र अन्य विभिन्न प्लेटफर्मको मद्दतबाट विषयसँग सम्बन्धित सामग्रीहरू निर्माण र संकलन गर्न सकिन्छ । यसका लागि पी.पी.टी.-पावर पोइन्टदेखि युट्युब लगायतका सामग्रीहरू तयार गरेर सिकाइ कार्य गर्न सकिन्छ ।

विद्यार्थी केन्द्रित छलफल:

त्यसरी नै विद्यार्थीलाई सक्रिय र उत्सुकताका साथ पठनपाठनमा निरन्तर अगाडि बढाउन विद्यार्थी केन्द्रित छलफल गर्नाले विद्यार्थीहरूको आत्मबल र आत्मविश्वास बढ्ने हँुदा विद्यालयले विद्यार्थी सिकाइमा उपलब्धि हासिल गर्ने गरेको देखिन्छ । यस्ता छलफल कार्य अनलाइन तथा भर्चुअलको माध्यमबाट गर्दा निश्चय पनि विद्यार्थी केन्द्रित, खोज तथा सोचमूलक हुनु जरुरी देखिन्छ । यस प्रकारको छलफल अन्तरक्रियात्मक र विद्यार्थीलाई उत्साहित बनाउने किसिमको हुनुपर्ने देखिन्छ ।अनलाइन र भर्चुअल विधिमा विद्यार्थीलाई सक्रिय सहभागी गराइराख्न शिक्षकले भाषाशैली, मनोभावना, आवेग र उत्तेजनालाई ध्यान पु¥याउन आवश्यक देखिन्छ । त्यसै गरी विशेष आवश्यकता भएका विद्यार्थीलाई समेत सहयोग पुग्ने गरी उचित प्रकारको सामग्री व्यवस्थापन गरी शिक्षण सिकाइ प्रभावकारी बनाउने कार्य हुन जरुरी देखिन्छ । यसका लागि अनलाइन र भर्चुअलको माध्यमबाटै उपयुक्त सामग्रीको छनोट, सङ्कलन र निर्माण गरी विद्यार्थी सिकाइसँग जोड्न सकिन्छ ।

सूचना प्रविधि:

विद्यार्थी सिकाइमा सूचना प्रविधिको प्रगोग पनि अर्को महत्वपूर्ण पक्ष हो । शिक्षण प्रक्रियामा प्रविधिलाई जोड्न सकेको खण्डमा विद्यार्थी सिकाइ सहज बनाउन सकिन्छ । प्रविधि २१ औं शताब्दीको महत्वपूर्ण उपकरण भएको हुनाले यसको हरेक क्षेत्रमा प्रयोग हुँदै आएको छ ।कम्प्युटर, प्रोजेक्टर, इन्टरनेट, स्मार्टबोर्ड र सेलफोनजस्ता सामग्रीको प्रयोग उचित तवरले गर्न सकेको खण्डमा सिकाइ अवश्य नै प्रभावकारी बन्न सक्छ । वर्तमान परिस्थितिमा अनलाइन र भर्चुअल विधिमा शिक्षण कार्य भइरहेको हुँदा झनै यसको महत्व बढेर गएको अवस्था छ ।

गृहकार्य तथा परियोजना:

गृहकार्य तथा परियोजना कार्य पनि अर्को महत्वपूर्ण विषय हो । शिक्षकले नियमित रूपमा गृहकार्य र परियोजना कार्य दिँदा विद्यार्थीहरू लाभान्वित हुने भएकाले शिक्षकले यसमा ध्यान दिन जरुरी देखिन्छ । शिक्षकले विद्यार्थीलाई गृहकार्य तथा परियोजनाहरू नियमित दिएर परीक्षण गरी त्यसको पृष्ठपोषणसमेत दिएको खण्डमा विद्यार्थी लाभान्वित हुन्छन् । यसमा सबै शिक्षकहरूको उत्तिकै सहभागिता हुनु जरुरी देखिन्छ ।

सकारात्मक पुनर्बल:

विद्यार्थी सिकाइमा सकारात्मक पुनर्बल पनि एउटा महत्वपूर्ण विषय हो । अमेरिकन मनोवैज्ञानिक स्किनरले भनेका छन्, ‘यदि सकारात्मक आचरणका साथ विद्यार्थीलाई सिकाइ गरेको खण्डमा विद्यार्थीले त्यसलाई सकारात्मक ढंगले नै व्यवहारमा लागू गर्दछन् ।’ शिक्षकले विद्यालयमा विद्यार्थीलाई सकारात्मक पुनर्बल दिने कार्य गर्नाले उनीहरूलाई एक प्रकारको ऊर्जा र हौसला प्राप्त हुने गर्दछ । त्यसकारण अहिलेको सन्दर्भमा भर्चुअल र अनलाइनको माध्यमबाट पनि विद्यार्थीलाई सकारात्मक पुनर्बल प्रदान गर्न आवश्यक देखिन्छ ।

शिक्षण सुधार योजना:

विद्यार्थी सिकाइमा शिक्षण सुधार योजना पनि महत्वपूर्ण पक्ष हो । पाठ्यक्रमको अध्ययन गरी विषयवस्तु पाठ्यभारका आधारमा सुधार योजना तयार गर्ने, अद्यावधिक गर्ने, साथै कमजोर विद्यार्थीका लागि सुधारात्मक, निदानात्मक र उपचारात्मक विधि अवलम्बन गर्ने, विषयगत शिक्षकहरूको बैठक बसी छलफल गर्ने, पेसागत विकाससँग सम्बन्धित अनुसन्धानात्मक एवम् खोजमूलक कार्य गर्ने तथा लेख प्रकाशनजस्ता कार्य गर्दा शिक्षण सिकाइमा गुणस्तर वृद्धि हुनुका साथै शिक्षकको पेसागत दक्षतामा पनि अभिवृद्धि हुन सक्छ र यसबाट विद्यार्थी सिकाइमा मद्दत पुग्छ । वर्तमान अनलाइन र भर्चुअल शिक्षण प्रक्रियामा पनि यस्ता सम्पूर्ण कार्य विद्यालयमा शिक्षक र विद्यालयले गर्न सक्ने स्थिति रहन्छ ।

कार्यमूलक अनुसन्धान:

विद्यार्थी सिकाइमा कार्यमूलक अनुसन्धान पनि महत्वपूर्ण पक्ष हो भन्ने लाग्छ । शिक्षकहरूले आफ्नो पठनपाठनको विषयमा देखिएका समस्याहरूको सम्बन्धमा कार्यमूलक अनुसन्धान गरी त्यसको निराकरणका लागि कदम चाल्ने गर्नाले सिकाइमा सुधार आउन सक्छ । प्रिस्टल विश्वविद्यालयका अनुसार कार्यमूलक अनुसन्धान एउटा प्रणालीगत खोज हो, जसलाई अन्वेषकको रूपमा रहेका शिक्षकले आफ्नो दैनिक शिक्षण कार्यमा प्रयोग गर्न आवश्यक पर्दछ । यसरी शिक्षकले कार्यमूलक अनुसन्धान गर्दा विद्यार्थीको समस्या पत्ता लगाउन सहज हुने भएकाले सबै शिक्षकले कुनै न कुनै विषयको अनुसन्धान गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्