लोकप्रियता, जनअपेक्षा र बालेन सरकारको राजनीतिक भविष्य

0
Shares

सरकार भनेको सबैको हुन सक्नुपर्दछ, सरकार युवाको मात्र होइन, सरकार आज जन्मन बाँकी शिशुदेखि अति वृद्धसम्मका नागरिकको समेत संरक्षक बन्न सक्नुपर्दछ । कुनै पनि सरकारको सफलता एउटा उमेर समूह, वर्ग वा राजनीतिक पक्षलाई खुशी पार्नुमा मात्र सीमित हुनुहुँदैन । राज्यका सबै नागरिकले सरकारलाई आफ्नो साझा अभिभावकका रूपमा अनुभूति गर्न सक्नु नै लोकतान्त्रिक शासनको वास्तविक उदाहरण हुने गर्दछ । यदि कुनै एकजना मात्र स्वतन्त्र नागरिकले सरकार मेरो लागि होइन रहेछ भन्ने सोच्नुपर्ने अवस्था आयो भने त्यहाँ सरकारको असफलता देखिन्छ ।

अहिलेको सरकारको कार्यव्य वहारलाई हेर्दा यो जेन्जी पुस्ता अर्थात् युवाको चाहना र आकांक्षाहरुलाई मात्र सम्बोधन गर्न बनेको सरकार हो कि क्या हो भन्ने गुनासो यत्रतत्र चर्चाको विषय बनिरहेको छ । यो आरोपको यथार्थताको बारेमा सरकारले आफ्ना नीति, कार्यक्रम र कार्यशैलीबाट स्पष्ट पार्न सक्नुपर्दछ । युवा पुस्ताको परिवर्तनप्रतिको चाहना महत्वपूर्ण छ । उनीहरूको असन्तुष्टि, आक्रोश र भविष्यप्रतिको चिन्तालाई बेवास्ता गरेर मुलुक अघि बढ्न सक्दैन । तर युवाको आवाज सुन्नु र युवाको मात्र सरकार बन्नु फरक कुरा हो ।

वर्तमान नेतृत्वले भुल्नुहुँदैन कि, यो सरकार निर्माणमा विभिन्न उमेर समूहका नागरिकले आफ्नो भरोसाको मताधिकार प्रयोग गरेका छन् । लोकतन्त्रमा प्रत्येक मतको महत्व समान हुन्छ । युवा मतदाताको मत जति मूल्यवान् छ, ज्येष्ठ नागरिकको मत पनि उत्तिकै मूल्यवान् छ । किसान, मजदुर, कर्मचारी, व्यवसायी, शिक्षक, कानुन व्यवसायी, उद्यमी र सामान्य नागरिक सबैको मतले सरकारलाई वैधता प्रदान गरेको हुन्छ । त्यसैले सरकारको दायित्व पनि सबै नागरिकप्रति समान रूपमा रहनुपर्दछ । सरकारको प्राथमिकता निर्धारण गर्दा उमेर वा समूहका आधारमा होइन, आवश्यकता, न्याय, समान अवसर र सार्वजनिक हितको आधारमा हुनुपर्दछ ।

नेपालको राजनीति परिवर्तनशील छ । कुनै समय राष्ट्रिय राजनीतिमा अत्यन्त प्रभावशाली मानिएका नेताहरू पनि जनताको समर्थन गुमाउन सक्दारहेछन् । दुई दशकअघि प्रचण्ड राजनीतिको मूलधारमा प्रवेश गर्दै गर्दा शक्तिशाली राजनीतिक व्यक्तित्व र क्रान्तिकारी नेताका रूपमा स्थापित भएका थिए । केपी शर्मा ओलीको व्यक्तित्व र राजनीतिक प्रभाव पनि लामो समयसम्म आफ्नो दलभित्र मात्र होइन राष्ट्रिय स्तरमा नै उच्च रहेको थियो । उनीहरूका समर्थक मात्र होइनन्, विपक्षी र आलोचकहरुसमेत उनीहरूका विचार, अभिव्यक्ति र राजनीतिक कदमबारे चासो राख्ने गर्दथे । उनीहरूले नेपालको राजनीतिक दिशालाई आफ्नो ढंगले प्रभावित गर्ने क्षमता राख्दथे ।

तर राजनीतिक इतिहासले एउटा महत्वपूर्ण पाठ सिकाउँछ– जनताको समर्थन स्थायी हुँदैन । जनताले कुनै नेतालाई ठूलो आशा र विश्वासका साथ शक्तिमा पु¥याउन सक्छन्, तर अपेक्षाअनुसार काम नभएमा त्यही जनताले अस्वीकार पनि गर्न सक्छन् । राजनीतिक शक्ति र लोकप्रियता समयसँगै बदलिन सक्छ । यसैले कुनै पनि नेताले आफ्नो विगतको योगदान, प्राप्त जनसमर्थन वा राजनीतिक हैसियतलाई स्थायी पुँजी ठान्न मिल्दैन ।

बालेन शाह आज लोकप्रिय छन् । उनको उदयले परम्परागत राजनीतिक अभ्यासप्रति असन्तुष्ट नागरिक, विशेष गरी युवा पुस्तामा नयाँ आशा जगाएको छ । पुरानो राजनीतिक शैलीबाट दिक्क भएका नागरिकले फरक नेतृत्व, कार्यशैली र परिणामको अपेक्षा गरेका छन् । यो अपेक्षालाई केवल भावनात्मक लहरका रूपमा बुझ्नुहुँदैन । यसभित्र सुशासन, भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता र सार्वजनिक सेवामा सुधारको वास्तविक चाहना पनि छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । तर लोकप्रियता र राजनीतिक नेतृत्व क्षमता एउटै कुरा होइन । लोकप्रियताले नेतृत्वलाई अवसर प्रदान गर्छ, तर त्यसलाई टिकाइराख्न क्षमता, अनुभव, दूरदृष्टि, धैर्य, संस्थागत दक्षता र समावेशी व्यवहार आवश्यक पर्दछ । बालेन शाहको राजनीतिक पृष्ठभूमि परम्परागत दलका नेताहरूको जस्तो लामो छैन । त्यसैले उनले आफूलाई केवल लोकप्रिय व्यक्तित्वका रूपमा मात्र होइन, जटिल राष्ट्रिय समस्याको समाधान दिन सक्ने एउटा कुशल राजनीतिक नेतृत्वका रूपमा आफूलाई उभ्याउन सक्नुपर्दछ ।

प्रचण्ड र केपी शर्मा ओलीजस्ता हिजोका स्थापित नेताहरूको राजनीतिक प्रभावसमेत जनताको असन्तुष्टिका कारण चुनौतीमा पर्न सक्छ भने बालेन शाहको राजनीतिक भविष्य पनि स्वतः सुरक्षित छ भन्न सकिँदैन । यस प्रश्नलाई व्यक्ति विशेषप्रतिको पूर्वाग्रहका रूपमा होइन, लोकतान्त्रिक राजनीतिमा लोकप्रियताको स्थायित्व र नेतृत्वको जवाफदेहितासँग जोडेर हेर्नुपर्ने हुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले परम्परागत राजनीतिक दलहरूप्रति असन्तुष्ट नागरिकका बीच नयाँ विकल्पका रूपमा आफ्नो स्थान बनाएको छ । यसप्रति जनताको आकर्षण केवल नयाँ नाम वा नयाँ अनुहारका कारण मात्र होइन, पुरानो राजनीतिक संस्कारको विकल्प खोज्ने चाहनाका कारण पनि थियो । त्यसैले रास्वपाप्रति जनताले गरेको अपेक्षा सामान्य राजनीतिक दलप्रतिको अपेक्षाभन्दा फरक र कतिपय अवस्थामा अझ उच्च छ । नयाँ राजनीतिक शक्तिका लागि सबैभन्दा ठूलो चुनौती जनताको विश्वास जित्नु मात्र होइन, जितेको विश्वासलाई परिणाममार्फत टिकाइराख्नु पनि हो । निर्वाचनमा प्राप्त सफलता शासन सञ्चालनको अन्तिम उपलब्धि होइन, जिम्मेवारीको शुरुवात हो भन्ने कुरा उसले बुझ्नुपर्दछ । अतः जनताले नयाँ शक्तिलाई अवसर दिएका छन् भने त्यस अवसरको औचित्य कामबाट प्रमाणित गर्नुपर्दछ ।

सरकारले प्रभावकारी सेवा प्रवाह गर्न सकेन, भ्रष्टाचार नियन्त्रणमा विश्वसनीय परिणाम दिन सकेन, रोजगारीका अवसर सिर्जना गर्न सकेन र नागरिकका आधारभूत समस्या समाधान गर्न असफल भयो भने त्यसको राजनीतिक मूल्य रास्वपाले चुकाउनुपर्ने हुन्छ । जनताले पुराना दललाई अस्वीकार गरेकै कारण नयाँ दललाई सधैँ समर्थन गरिरहन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । जनताले सधैँ विकल्प रोज्न सक्छन् । त्यसैले रास्वपाको भविष्य कुनै एक नेताको लोकप्रियतामा मात्र निर्भर रहनुहुँदैन । पार्टीभित्र लोकतान्त्रिक अभ्यास, योग्य व्यक्तिको छनोट, विचारमा स्पष्टता, संगठनात्मक अनुशासन, आन्तरिक जवाफदेहिता र संस्थागत निर्णय प्रक्रियाको विकास आवश्यक छ । व्यक्ति केन्द्रित राजनीतिको सट्टा नीति, सिद्धान्त र कार्यसम्पादनमा आधारित राजनीतिक संस्कार स्थापित गर्न सकिएमा मात्र नयाँ राजनीतिक शक्तिको भविष्य दिगो हुन सक्छ । अन्यथा मुलुकले नयाँ दुर्घटनाको सामना गर्नु नपर्ला भन्न सकिन्न ।

सरकारले जनताको विश्वास जित्ने सबैभन्दा प्रभावकारी उपाय परिणाममुखी शासन हो । नागरिकले परिवर्तनको अनुभूति आफ्नो दैनिक जीवनमा गर्न पाउनुपर्दछ । रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता कम हुनु, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच हुनु, सार्वजनिक कार्यालयमा अनावश्यक झन्झट हट्नु, भ्रष्टाचार नियन्त्रण हुनु र न्याय प्राप्त गर्न समय तथा खर्च कम लाग्नु नागरिकका आधारभूत अपेक्षा हुन् । युवा पुस्ताका लागि रोजगारी, उद्यमशीलता, प्रविधिको विकास र योग्यताअनुसारको अवसर महत्वपूर्ण छन् । देशका सबै नागरिकका समस्या एकै खालका हुँदैनन् । बालबालिकालाई गुणस्तरीय शिक्षा र सुरक्षित वातावरण चाहिन्छ । किसानलाई उत्पादनको उचित मूल्य, मल, बीउ र बजारको सुनिश्चितता आवश्यक छ । श्रमिकलाई मर्यादित काम र उचित पारिश्रमिक चाहिएको छ । ज्येष्ठ नागरिकलाई सम्मान, सामाजिक सुरक्षा र सहज स्वास्थ्य सेवा आवश्यक छ । अपांगता भएका व्यक्ति, आर्थिक रूपमा विपन्न परिवार र न्यायबाट वञ्चित नागरिकका लागि राज्यको विशेष संरक्षणको आवश्यकता हुन्छ । त्यसैले सरकारको सफलता कुनै एउटा समूहका माग पूरा गर्नुमा मात्र होइन, विविध आवश्यकताहरुका बीच न्यायपूर्ण सन्तुलन कायम गर्नुमा हुनेछ । सीमित स्रोत–साधनको उपयोग गर्दा पनि सरकारको दृष्टिकोण समावेशी हुनुपर्दछ । विकासको लाभ समाजका सीमित व्यक्तिमा केन्द्रित नभई आम नागरिकसम्म पुग्नै पर्दछ ।

सुशासनको नाममा कानुनी प्रक्रिया, संवैधानिक मर्यादा र नागरिक अधिकारलाई कमजोर बनाउनु पटक्कै हुँदैन । भ्रष्टाचार नियन्त्रण र अनियमिततामाथि कारबाही आवश्यक छ, तर त्यो निष्पक्ष, प्रमाण, विधिसम्मत प्रक्रिया र कानुनी शासनका आधारमा हुनुपर्दछ । सरकारको आलोचना गर्नेहरुलाई विरोधी ठान्ने, असहमतिलाई शत्रुताका रूपमा लिने वा राजनीतिक प्रतिशोधको आशंका उत्पन्न हुने खालको व्यवहारले लोकतन्त्रलार्य सुदृढ बनाउँदैन । सरकारको शक्ति आलोचना दबाउनमा होइन, आलोचनाको सामना गरेर आफूलाई सुधार्न सक्ने क्षमतामा देखिनुपर्दछ ।

नयाँ सरकारप्रति जनताको अपेक्षा उच्च हुनु स्वाभाविक हो । तर, उच्च अपेक्षासँगै धैर्य, संवाद र जिम्मेवार सार्वजनिक बहस पनि आवश्यक हुन्छ । सरकारका समर्थकले प्रत्येक निर्णयको अन्धसमर्थन गर्नु र आलोचकले प्रत्येक कामको विरोध गर्नु दुवै लोकतान्त्रिक संस्कारका लागि हानिकारक हुने गर्दछ । सरकारको मूल्यांकन तथ्य, नीति र परिणामका आधारमा हुनुपर्दछ । सरकारले पनि लोकप्रियताको मोहमा आलोचनात्मक आवाजलाई बेवास्ता गर्नुहुँदैन । विपक्षी दल, नागरिक समाज, सञ्चारमाध्यम, बुद्धिजीवी र आम नागरिकले उठाएका प्रश्नहरुमध्ये कुन जायज छन् भन्ने कुरा सरकारले विवेकपूर्ण ढंगले परीक्षण गर्नुपर्दछ । आलोचनामा कमजोरी देखिए तथ्यका आधारमा जवाफ दिनुपर्छ र कमजोरी औँल्याइएको छ भने सुधार गरेर अघि बढ्नुपर्दछ । यो लोकतान्त्रिक परिपक्वताको परिचय हो ।

पक्कै पनि सरकारले सबैलाई खुशी पार्न सक्दैन होला, तर सबैलाई समान सम्मान दिन सक्छ । सरकारले हरेक माग सम्बोधन गर्न सक्दैन होला, तर हरेक नागरिकको आवाज सुन्न सक्छ । सबै समस्या तत्काल समाधान गर्न नसक्ला तर समाधानको स्पष्ट दिशा, समयसीमा र जवाफदेहिताको प्रत्याभूत गर्न सक्छ । अतः नागरिकले सरकारबाट खोज्ने मुख्य कुरा यिनै हुन्– इमानदारिता, सक्षमता, निष्पक्षता र परिणाममुखी कार्यसम्पादन ।

वर्तमान सरकार असफल भएमा त्यसको असर रास्वपाको राजनीतिक भविष्यमा मात्र सीमित रहनेछैन, नयाँ राजनीतिक विकल्पप्रति जनताले राखेको आशासमेत कमजोर बन्न पुग्छ । सरकारको सफलता भनेको एउटा दल वा नेताको सफलता मात्र होइन, समग्र मुलुकको लोकतान्त्रिक भविष्यसँग जोडिएको विषय हो । सरकारले बुझ्नुपर्ने सत्य के हो भने, जनताले दिएको समर्थन उसको अधिकार होइन, जिम्मेवारी हो ।

आज धमिलो पानीमा माछा मार्ने बेला होइन, हामीले बुझ्नै पर्दछ कि, वर्तमान सरकार असफल भएमा त्यसको असर रास्वपाको राजनीतिक भविष्यमा मात्र सीमित रहनेछैन, नयाँ राजनीतिक विकल्पप्रति जनताले राखेको आशासमेत कमजोर बन्न पुग्छ । सरकारको सफलता भनेको एउटा दल वा नेताको सफलता मात्र होइन, समग्र मुलुकको लोकतान्त्रिक भविष्यसँग जोडिएको विषय हो । सरकारले बुझ्नुपर्ने सत्य के हो भने, जनताले दिएको समर्थन उसको अधिकार होइन, जिम्मेवारी हो । विश्वास सधैँ कामबाट आर्जन गर्नुपर्छ । बालेन शाह र रास्वपाका लागि अहिलेको समय जनअपेक्षा पूरा गरेर आफूलाई प्रमाणित गर्ने अवसर हो । यो अवसरलाई व्यक्ति केन्द्रित लोकप्रियताको संरक्षणमा होइन, संस्थागत सुधार, निष्पक्ष शासन र नागरिकको जीवनस्तर उकास्नमा उपयोग गर्न सक्नुपर्दछ । फेरि दोहो¥याउनुपरेको छ, सरकार युवादेखि ज्येष्ठसम्म सबैको हुन सक्नुपर्दछ । यो प्रमाणित गरिनुपर्दछ कि, मुलुक कुनै एउटा दल, नेता वा पुस्ताको निजी सम्पत्ति होइन । यो हामी सबैको साझा घर हो । यसको निर्माण र संरक्षण गर्ने जिम्मेवारी पनि हामी सबैको हो । त्यसैले सरकार सचेत बनोस्, राजनीतिक दल जिम्मेवार बनून् र नागरिक जागरुक बनौँ । मुलुक हामीले नै बनाउने हो ।

(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ ।)