ओरालोमा नेपालको कम्युनिस्ट आन्दोलन



खेमराज निरौला

२००६सालको वैशाख १० गते भारतको कोलकातामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य,नारायणविलास श्रेष्ठ र मोतीदेवी श्रेष्ठको अगुवाइमा जन्मिएको नेपालको कम्युनिस्ट पार्टीले सामन्तवाद,साम्राज्यवाद रविस्तारवादविरुद्ध संघर्ष गर्दै नेपाललाई एउटा समृद्ध समाजवादउन्मुख मुलुकका रुपमा अघि बढाउने दृष्टिकोण राखेको थियो।

मुलुकलाई राणा शासकको पञ्जाबाट मुक्त राख्दै व्याप्त विभेद र असमानताको अन्त्य गर्ने प्रण त्यति बेलै गरिएको थियो । तर विडम्बना, पार्टी स्थापना हुनेबित्तिकै पार्टीभित्र दुई लाइन संघर्ष शुरु भइहाल्यो । २०१० साल माघ १७ देखि सम्पन्न पहिलो भूमिगत महाधिवेशनलेमनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गरेको थियो । मनमोहन चिनियाँकम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा भाग लिन चीन गएपछि पार्टीको जिम्मेवारीमा केशरजंग रायमाझी आए ।
२०१४ जेठ १५ देखि २५ गतेसम्म चलेको दोस्रो अधिवेशनमा पुष्पलालले पेस गरेको कार्यक्रम त पास भयो तर महासचिव केशरजंग रायमाझी बने । त्यसपछि राजा महेन्द्रको २०१७ सालको शाही ‘कु’ले भर्खरै संगठनमा लागेको कम्युनिस्ट पार्टीका लागि ठूलो प्रभाव प-यो । रायमाझीले राजाको ‘कु’लाई स्वागत गरे भने पुष्पलालहरुले विरोध गरेका थिए ।राजाको उक्त कदमलाई लिएर पुनः पुष्पलाल,रायमाझीर मोहनविक्रम सिंहको स्पष्ट तीन लाइनदेखाप¥यो । शाही ‘कु’को समर्थन गरेकोमा रायमाझीलाई महासचिवबाट हटाइयो र त्यसपछि विभिन्न क्षेत्रगत आधारमा समिति गठन गरियो ।

तेस्रो अधिवेशन २०१९ सालको वैशाखमा त्यही समितिले महाधिवेशन सम्पन्न गरी तुलसीलाल अमात्य महासचिव चुनिए । उता कारबाहीमा परेका रायमाझी समूहले आफ्नो समूहको महाधिवेशन २०२४ सालमा सम्पन्न ग-यो । त्यस्तै तुलसीलाल र पुष्पलाल समूहले पनि छुट्टाछुट्टै समूहको नेतृत्व गरी अघि बढे । २०२८ सालसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न धारहरुदेखापरिसकेका थिए । तिनै धारहरुमध्ये झापा जिल्ला कमिटीले सशस्त्र संघर्ष गर्ने निर्णयका साथ अघि बढ्यो । यसको नेतृत्व सिपी मैनालीले गरेका थिए, जसलाई आजसम्म झापा विद्रोहका नायक भनेर चिनिन्छ । अहिलेका प्रधानमन्त्री एवं नेकपा एमालेका वर्तमान अध्यक्ष पनिसोही झापा आन्दोलनको समूहमा आबद्ध थिए । झापा विद्रोहकै क्रममा २०२८ सालतिर रामनाथ दाहाल,नेत्र घिमिरे, कृष्ण कुइँकेल,वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायत सरकारले सुखानीको जंगलमा लगेर हत्यागरेको थियो, जेल सार्ने बहानामा ।यो अवस्थासम्म आइपुग्दा नेपालको कम्युनिस्ट आन्दोलन तहसनहस अवस्थामा पुगिसकेको थियो ।अझ भनौं, २०२३ सालतिरै आइपुग्दा करिब–करिब कम्युनिस्ट पार्टी अवसानको बाटोतिर लागिसकेको थियो ।एकातिर पूर्व मेची–कोशी प्रान्तीय कमिटी गठन भयो भनेअर्कातिर केशरजंगको समूह छुट्टियो ।पार्टीका अन्य प्रभावशाली नेताहरु तुलसीलाल र पुष्पलाल पनि छुट्टिए ।

सीपी मैनाली र मोहनविक्रम सिंहले क्रमशः झापाजिल्ला कमिटी र केन्द्रीय न्युक्लियसको नेतृत्व गर्थे । झापा विद्रोहमा ठूलो क्षति हुने भयले२०३१ सालतिर झापाली विद्रोही कमिटी र मोरङको क्रान्तिकारी संगठनले २०३२ सालमा संयुक्त सम्मेलन गरी अखिल नेपाल कम्युनिस्टक्रान्तिकारी कोअर्डिनेसन कमिटी गठन गरेको थियो । यो कमिटीमा अन्य विभिन्न कमिटीहरु पनि समेटिएका थिए । यही कोअर्डिनेसन कमिटीले २०३५ सालको पुसमा राष्ट्रिय सम्मेलन गरीसीपी मैनालीको नेतृत्वमा नेकपा एमाले गठन ग-यो ।२०३५ सालतिर पुष्पलालको निधन भएपछि पुष्पलालको पार्टी सहाना प्रधान र बलराम उपाध्यायले चलाए । २०४३ सालतिर आएर मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टीसँग पुष्पलालको पार्टी पनि एकीकरण भई नेपालकम्युनिस्ट पार्टी (माक्र्सवादी)बन्यो । २०४६सालको जनआन्दोलनमा सहभागी भएकोमनमोहन अधिकारीको दल र सीपी मैनालीको दलबीच २०४७ सालमा एकीकरण भई नेकपा एमालेको जन्म भयो । मदन भण्डारी महासचिव रहेको एमालेले जनताको बहुदलीय जनवादलाई अंगिकार गर्दै अघि बढ्ने निर्णय ग-यो ।उता अलग धारको रुपमा रहेको मोहनविक्रम सिंह नेतृत्वको समूहभित्र पनि २०३६ सालको जनमत संग्रह हेर्ने दृष्टिकोणमा मत भिन्नता आउँदा उक्त समूहभित्र पनि गुटहरु सिर्जना भए । २०४० सालमा निर्मल लामाहरुले पार्टी फुटाएर नेकपा (चौम) बनाए । मोहनविक्रम सिंह समूहले नेकपा (मसाल) राखे । मोहन वैद्य (किरण),पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेताहरु पनि मोहनविक्रम सिंहसँगै रहे ।मसाल पाँचौं महाधिवेशनसम्म आइपुग्दा फेरि अर्काे विभाजनमाप-यो ।मोहनविक्रम सिंहमा गम्भीर सैद्धान्तिक विचलनको आरोप लगाउँदै प्रचण्डले प्रतिवेदन पेस गरेपछि मोहन वैद्य (किरण) लाई महामन्त्रीमा चयन गरियो ।

२०४२ सालमा पाँचौंमहाधिवेशनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्यमध्ये चारजनालाई लिएर मोहनविक्रम सिंहले नेकपा मसाल गठन गरे । यसलाई पातलो (मसाल)भन्न थालियो । २०४३ सालमा नेकपा मशालअर्थात् मोटो मसालका तर्फबाटआक्रामक गतिविधि र पोस्टर टाँस्ने काम भयो, जसले पार्टीलाई ठूलो क्षति पनि पु-याएको थियो । यसमा पार्टीको योजना असफल भएपछि मोहन वैद्यले पार्टीबाट राजीनामा दिए । २०४५ सालमा नेकपा मसालको सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित ग¥यो र माओवाद पास ग¥यो । त्यसपछि दीर्घकालीन जनयुद्धको कार्यदिशासमेत पास ग-यो ।२०४७ साल श्रावणमा प्रचण्ड नेतृत्वको नेकपा (मसाल),निर्मल लामा नेतृत्वको नेकपा चौम र रुपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक संगठनबीच एकता भई नेकपा एकता केन्द्र बन्यो । २०४७ सालतिरै हरिबोल गजुरेल र बाबुराम भट्टराईलगायतको टिम मोहनविक्रम सिंहसँग विद्रोह गरी नेकपा एकता केन्द्रमा प्रवेश ग-यो। २०४८ साल मंसिर ४ मा एकता महाधिवेशनले प्रचण्डको दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित ग-यो र पार्टीको नाम नेकपा (माओवादी) राखी २०५२ साल फागुन १ गतेदेखि सशस्त्र जनयुद्धमा होमियो ।नेपालका कम्युनिस्ट पार्टीहरुको फुट र एकले अर्काेलाई कारबाहीको शृङ्खला यतिमा मात्रै सीमित छैन ।२०४६ सालको राजनीतिक परिवर्तनपछि सबैभन्दा ठूलोकम्युनिस्ट शक्ति बनेको नेकपा (एमाले)पहिलोपटक महाकाली सन्धिको विषयलाई लिएर फुटेको थियो । अहिलेको नेकपा एमालेको उपाध्यक्ष वामदेव गौतमको अगुवाइमा पार्टी फुटाएर नेकपा (माले) बनाए तर निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि पुनः एमालेमै फर्किए । सीपी मैनाली भने आजसम्म मालेकै नेतृत्व गरिरहेका छन् ।२०६२-६३ को जनआन्दोलनपश्चात्कम्युनिस्टका दुईमुख्य धार नेकपा एमाले र नेकपा माओवादी अस्तित्वमा आए ।

नेकपा एमालेले संसदीय व्यवस्था रोजेको थियो भने नेकपा माओवादीले शान्तिपूर्ण राजनीतिक अवतरणरोजेको थियो ।अन्य साना कम्युनिस्ट घटकहरु पनि आ–आफ्नै किसिमले जुट्दै, फुट्दै गरिरहेका थिए ।२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा भाग लिएको नेकपा माओवादीबाट मोहन वैद्य (किरण)फेरि पुष्पकमल दाहालबाट अलग भए ।नेत्रविक्रम चन्द (विप्लव) ले पनि पुष्पकमल दाहालको नेकपा माओवादी छोडी सशस्त्र संघर्ष रोजे । दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी तेस्रो स्थानमा खुम्चन पुग्यो ।माओवादीको संगठन त्यसपछि कमजोर बन्दै गयो ।निर्वाचनमा पराजय भोग्दै गएपछि २०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो। नेकपाले२०७४ को निर्वाचनमा करिब २ तिहाइ जनमतको समर्थन प्राप्त ग-यो र एकल नेतृत्वको सरकार बन्यो ।तर एकता भएको तीन वर्ष नपुग्दै पार्टी फुटेर एमाले र माओवादीकै अवस्थामा फर्किए ।ठूलो अपेक्षा र भरोसाले निर्वाचनमा सफलता प्राप्त गरेको दलभित्र अहिले चलिरहेको रडाकोले देशको राजनीतिक,सामाजिक,आर्थिक एवं सम्पूर्ण क्षेत्रमा नराम्रो प्रभाव पारिरहेको छ । जनअपेक्षामा ठूलो आघात पुगेको छ । समाजवादको नाराले २०७४ सालमा सम्पन्न निर्वाचनमा दुई तिहाइको जनमत प्राप्त गरेको नेकपा आन्तरिक कलहले गर्दा विभाजित बन्नपुग्यो । विकास, समृद्धि र समाजवाद त केवल मृगतृष्णा मात्र बन्न पुुगेको छ ।समृद्धि र समाजवादकै प्रलोभनले जनताले कम्युनिस्ट पार्टीलाई सत्तामा त पु-याए तर तीन वर्ष पनि पूरा हुन नपाउँदै व्यक्तिगत टकराव र गुटगत राजनीतिको प्रवृत्तिले सग्लो कम्युनिस्ट पार्टी विभिन्न समूहमा विभक्त हुँदा जनमतमाथि नै अपमान भएको छ ।

अहिले नेकपा एमालेभित्रको घिनलाग्दो जनभावना विपरीतका गतिविधि पनि सत्ता, शक्ति,गुटर नेतृत्वमा हालिमुहाली गर्ने कुत्सित मानसिकताको उपज हो ।विधि, पद्धति,संस्कार, सहमति, सहकार्य, एक–अर्काको सम्मान, जे–जस्ता शब्दजाल प्रयोग गरिए तापनि अहिलेको मुख्य समस्या भनेकै पार्टी कब्जा गर्दै सत्ता र शक्तिमा आफ्नो गुटलाई स्थापित गर्ने नै हो । पार्टी सुदृढीकरण र पुनर्गठनका नाममा चलाइएका समानान्तर गतिविधिले नेकपा एमाले कहाँ पुग्ने हो,अनिश्चितछ । एक–अर्काप्रति प्रयोग भएका गाली–गलौजका शब्द र कारबाही हेर्दा लाग्छ– अबनेकपा एमाले एक ढिक्का हुने सम्भावना न्यून बन्दै गएको छ ।आमकार्यकर्ता,समर्थक, शुभेच्छुकको एउटै चिन्ता छ– अब नेकपा एमाले कस्तो अवस्थामा पुग्ने हो, कम्युनिस्ट आन्दोलन कहाँ पुगेर दुर्घटनाग्रस्त हुने हो ?मुलुकलाई राणा शासनबाट मुक्ति दिलाउन २००६ सालमा राणाविरोधी आन्दोलनको शुरुवात हुँदै गर्दा जन्मिएको कम्युनिस्ट पार्टी विभिन्न कालखण्डमा टुक्रिने, चोइटिने, विभिन्न धारमा नेताहरु विभाजित हुने र दरबारसँग नजिक हुँदै फाइदा लुट्ने प्रवृत्ति नै कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि चलिआएका शृङ्खला हुन् । यसैक्रममा चोइटिएर जानेले एक–अर्कालाई प्रतिगामी, यथास्थितिवादी, विसर्जनवादी, लालगद्दार अवसरवादी, लम्पसारवादीजस्ता बिल्ला भिराइदिने र आफू मात्र सच्चा कम्युनिस्टहुँ भन्ने अनि अर्कालाई भित्तैमा पु-याउने क्रम संस्कारकै रुपमा चलिआएको छ । राजनीतिक, वैयक्तिक, सांस्कृतिक एवं वैचारिकरुपमै क्षतविक्षत हुने गरी गाली–गलौजमा उत्रिने प्रवृत्ति नै आज कम्युनिस्ट प्रविृत्तिका रुपमा विकसित भएको छ ।

प्रतिक्रिया दिनुहोस्