विद्यालयमा सिकाइ प्रक्रिया, मूल्याङ्कन र आगामी दिशा



डा. लाक्पा शेर्पा

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारीले गर्दा नेपालको शैक्षिक क्षेत्र पनि प्रभावित बन्न पुग्यो । शैक्षिक सत्र २०७७ को अधिकांश सिकाइ प्रक्रिया अनलाइन र भर्चुअल माध्यमबाटै सञ्चालन भएको थियो । यद्यपि कोभिड सङ्क्रमण घट्दै जाँदा केही समय विद्यालयहरू भौतिकरूपमा सञ्चालनमा आएका थिए । तर फेरि कोभिड–१९ को नयाँ संस्करणले भारत र नेपालमा महामारीको रूप लिन थालेदेखि विद्यालयहरूले भौतिक पठनपाठन बन्द गरी पुनः अनलाइन र भर्चुअल माध्यमबाट पठनपाठनलाई अगाडि बढाएका थिए । यद्यपि सबै ठाउँका विद्यार्थीलाई अनलाइन र भर्चुअलमा समेट्न सकेको अवस्था हिजो पनि थिएन र आज पनि छैन ।

सिकाइ प्रक्रिया:

विद्यालयमा वैकल्पिक सिकाइका विभिन्न उपायहरू अवलम्बन गर्नुपर्ने अवस्था आउँदै गर्दा भौगोलिक कठिनाइ र दूरदराजका विद्यार्थीका लागि अनलाइन र भर्चुअल सिकाइ निकै कठिनको विषय बन्न गएको देखिन्छ । किनकि नेपालको विविध भौगोलिक अवस्थितिको कारणले इन्टरनेटको पहुँच सबै ठाउँमा समान ढङ्गले पुग्न सकेको छैन । उदाहरणको लागि काठमाडौँबाट नजिकको जिल्ला काभ्रेलाई लिने हो भने, बनेपा र धुलिखेलभन्दा माथिको गाउँ–टोलमा सञ्चारले उत्तिकै काम गर्न सकेको अवस्था देखिन्न ।
यस्तो अवस्थामा अनलाइन र भर्चुअल सिकाइ सहजतापूर्वक सबै ठाउँमा सञ्चालन हुनसक्ने स्थिति देखिन्न । यद्यपि कतिपय शहरी क्षेत्रमै पनि अनलाइन र भर्चुअलका साधनहरूको अभावले गर्दा सबै विद्यार्थीलाई सिकाइमा जोड्न सकिएको अवस्था देखिन्न ।

विद्यार्थीको मूल्याङ्कन:

वास्तवमा मूल्याङ्कनले मानवीय जीवनको हरेक पक्षमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यदि मूल्याङ्कन पद्धतिलाई दैनिक जीवनबाट टाढा राख्ने हो भने मानवीय मूल्य र उद्देश्य पक्षसित निकट सम्बन्ध राखेको हुन्छ ।
शिक्षाको सिकाइ प्रक्रियामा पनि मूल्याङ्कनको महत्व त्यत्तिकै रहेको हुन्छ । राष्ट्रिय शिक्षा र पाठ्यक्रमले निर्धारण गरेका उद्देश्यहरू विद्यार्थीले पूरा गर्न सके कि सकेनन् भन्ने कुराको सुनिश्चितता विद्यार्थीको मूल्याङ्कनबाट मात्र गर्न सकिन्छ ।

आन्तरिक तथा बाह्य मूल्याङ्कन:

शैक्षिक सत्र २०७७ को गन्तव्य २०७८ वैशाख मसान्तसम्म तय भएको अवस्थामा राष्ट्रिय परीक्षा बोर्ड र स्थानीय तहले लिने परीक्षाहरूबाहेक विद्यालयले निश्चित तहका आन्तरिकरूपमा आफ्ना विद्यार्थीको मूल्याङ्कन गरी प्रमाणीकरण गर्न सरकारले पनि सूचना जारी गरिसकेको स्थिति छ । कतिपय विद्यालयले वार्षिक परीक्षा सञ्चालन गरिसकेको देखिन्छ भने कतिपय विद्यालयले अनलाइन र भर्चुअलको माध्यमबाट सञ्चालन गरिरहेको अवस्था छ ।विद्यालयले विभिन्न तहका विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरे पनि आधारभूत, एस.ई.ई. तथा एस.एल.सी. तहका विद्यार्थीका लागि भने यसअगाडि नै कार्यतालिका सार्वजनिक भइसकेको थियो । तर महामारीले गर्दा सो अनुरूप हुनसक्ने स्थिति देखिन्न । तथापि सम्बन्धित निकायहरूले नै निर्णय गर्ने भएको हुँदा उचित समयमा त्यसको उपयुक्त प्रक्रिया शुरू हुने कुराप्रति विश्वास गर्न सकिन्छ ।यद्यपि विगतको वर्षमा जस्तै विद्यालयलाई नै आन्तरिक मूल्याङ्कनको जिम्मा दिने हो भने पनि त्यसको भर पर्दो विधि तय गर्न जरूरी देखिन्छ । किनभने विद्यालयहरूले गरेको मूल्याङ्कनप्रति प्रश्नहरू पनि खडा नभएका होइनन् । यद्यपि यसमा विद्यालयका लागि पनि कतिपय चुनौतीहरू होलान् र त्यसलाई नजरअन्दाज गर्न नमिल्ला । तथापि चुनौतीहरूलाई विवेकपूर्ण ढंगबाट अवसरमा बदल्न सक्नु विद्यालयहरूको कर्तव्य हुन जान्छ ।

भावी दिशा:

शैक्षिक सत्र २०७७ को शुरूवातमा भर्चुअल र अनलाइनमा जोडिने विद्यार्थीहरू थोरै देखिए पनि पछिल्ला दिनमा वैकल्पिक सिकाइमा जोडिने विद्यार्थीको सङ्ख्या बढ्दै गएको थियो । यद्यपि राज्यले पनि यसका लागि थुप्रै निर्णय र कार्यहरू गरिसकेको अवस्था छ । विगतमा गरिएका निर्णय र स्रोत–साधनलाई समेत ध्यान दिँदै आउने शैक्षिक सत्रलाई सकेसम्म समयमै व्यवस्था गर्नुपर्ने देखिन्छ । वैकल्पिक तथा भर्चुअल अनलाइनलाई सबैको पहुँचमा पु-याउन सम्बन्धित पक्षबाट तदारूकता देखाउन जरूरी छ । यसका लागि विद्यालय, शिक्षक, अभिभावक र सम्बन्धित पक्षहरूले पनि भूमिका खेल्न आवश्यक छ ।आज आममानिस भर्चुअल संसारमा प्रवेश गर्दै गर्दा हाम्रा हरेक गतिविधिहरू अनलाइन र भर्चुअलमा सीमित हुँदै गइरहेको अवस्था छ । हाम्रा व्यापार, व्यवसाय र कारोबारहरूसमेत भर्चुअल र अनलाइनको माध्यमबाट सञ्चालन हुँदै गएको स्थिति देखिन्छ । अर्कातिर यस्ता विभिन्न रोगव्याधी र महामारीमा अनलाइन तथा भर्चुअलको उपयोगिता झनै बढ्रेको देखिन्छ ।

भविष्यमा पनि यस प्रकारका महामारीहरू नआऊलान् भन्न सकिन्न । यस्तो विषम परिस्थितिमा पनि शिक्षालाई निर्बाधरूपमा अगाडि बढाउनका लागि विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकहरूले ध्यान दिन जरूरी देखिन्छ । सिकाइमा सबै पक्षको उत्तिकै सहकार्य हुन जरूरी देखिन्छ । यिनै सहयोग र सहभागिताका बीच सिकाइलाई पूर्णता दिन सकिन्छ । फेरि पनि यसलाई सबैले एउटा अवसरको रूपमा र प्रविधिको प्रयोग गर्ने उचित समयको रूपमा लिन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्