भारतबाट फर्किएकी एक महिलाको मृत्यु, कोरोना सङ्क्रमणको आशङ्का



डोटी । शिखर नगरपालिका–१ तेछडा गाउँमा एक महिलाको मृत्यु भएको छ । केही दिनअघि भारतको गुजरातबाट श्रीमानसँग काम गरी घर फर्किए कि तेछडा गाउँकी २८ वर्षीया एक महिलाको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मृतक महिला भारतबाट आएर घरकै होम आइसोलेसनमा बस्नुभएको रहेछ, आज मृत्यु भएको छ, कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।” प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो,

मृत्यु भएका व्यक्तिको कोरोना जाँच नगर्नु भन्ने सरकारी निर्देशनानुसार उनको कोरोना परीक्षण नागरिएको जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति तेजबहादुर शाहीले बताउनुभयो । कोरोनाका कारण मृत्यु भएको भनिएकी निज महिलाको सम्पर्कमा आएका व्यक्ति तथा उनको घर परिवारका सदस्यको स्वाब परीक्षण गर्न जिल्लास्थित स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो ।

सामान्य स्वास्थ्य समस्या देखिएपछि एकाएक छटपटाहट बढेको र आफ्नै घरमा ती महिलाको मृत्यु भएको वडाध्यक्ष खडकबहादुर शाहीले जानकारी दिनुभयो । जिल्लामा क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक सीधै गाउँ जान थालेका कारण समस्या हुने गरेको बताइएको छ ।

भारतबाट आएका नागरिकले कोरोना जाँच नै नगरी सीधै घर आउने गरेका कारण गाउँमा त्रास फैलिएको शिखर नगरपालिका–१ कपल्लेकीका रतनबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट काम गरी घर आएकाको कुनै स्वास्थ्य जाँच हुने गरेको छैन, उनीहरु सीधै गाउँ आउने तथा घुलमिल हुने गरेकाले गाउँमा कोरोनाको ठूलो महामारी हुने सम्भावना बढेको छ ।”

प्रतिक्रिया दिनुहोस्