मेलम्चीमा राजनीति



बहुप्रतिक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर दोस्रोपटक परीक्षण शुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेको दाबी गरेपछि पानी हालेर परीक्षण शुरु गरिएको बताइएको छ ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य ढोका फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । यसपछि विगत ३० वर्षदेखि काठमाडौं उपत्यकाले साँचेर राखेको सपनामा एकाएक तुषारापात भएको थियो । राष्ट्रिय महत्वको अत्यन्त आधारभूत मानिएको खानेपानीको परियोजनाको परीक्षणमा नै नेपालीले बलिदान दिनुपरेको अवस्थाले सबैलाई निराश मात्र पारेन, भ्रष्टाचार र कमिसनकै कारण कमजोर संरचना तयार पारिएको भन्दै व्यापक क्षोभ पनि व्यक्त भयो ।असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेर आलोचनाको केन्द्रमा रहेका प्रधानमन्त्री केपी ओलीको राजनीतिक भविष्य यति बेला सर्वोच अदालतमा विचाराधीन बन्न पुगेको छ । झोंक र लहडमा संविधानमै नभएको नभएको अधिकार प्रयोग गरेर ओलीले नेपालको संविधान–२०७२ लाई नै रद्दीको टोकरीमा हाल्ने दुष्प्रयास गर्नुभएको छ । सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय खारेज गरिदिनासाथ प्रधानमन्त्री ओलीको राजनीतिक जीवन समाप्त प्रायः हुनेछ । त्यस अवस्थामा ‘मेलम्चीको पानी काठमाडौंमा ल्याउने मै हुँ’ भन्ने बाटो बनाइराख्नु उहाँको राजनीतिक जीवनको अनिकालमा काम लाग्छ ।

‘मुलुक सुरुङ युगमा प्रवेश गरिसक्यो’ भन्दैआएका प्रधानमन्त्री ओलीले नागढुंगामा पुगेर हेलमेट लगाएको तस्वीर पनि जनतालाई प्रभाव पार्न काम लाग्नसक्छ । पछिल्लो समयका ओली सरकारका व्यवहार ‘यश संकलन’मा केन्द्रित देखिन्छन् । तर, भोलि कुन परियोजनामा कसको योगदान थियो भनेर इतिहास हेर्दा सबै छर्लंग हुने नै छ । मेलम्चीको पानी ल्याएर राजधानीको सडक पखाल्ने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको घोषणासँगै मेलम्ची खानेपानी आयोजनासँग राजधानीबासीको नयाँ सपना जोडिएको सर्वविदितै छ । सन्तनेता पनि भनिने भट्टराईले २०४८ को चुनाव प्रचारका क्रममा बानेश्वरमा भाषण गर्दै ‘मेलम्चीको पानी आएपछि काठमाडौंका सडक पखाल्न पुग्छ’ भन्नुभएको थियो । त्यसो त मेलम्ची आयोजनाका बारेमा २०४१ सालमै उठेको विषय हो । राजधानीमा जनसंख्या बढ्दै जाँदा भएका पानीका स्रोतले नपुग्ने देखिएपछि खानेपानी विभागले वैकल्पिक स्रोतहरुको खोजी शुरु गरेको थियो । काठमाडौंको उचाइअनुसार सतह पनि मिल्ने गरी पानीसमेत प्रशस्त भेटिएपछि मेलम्चीको अध्ययन शुरु भएको थियो । जनतालाई सपना बाँडी विकासका नाममा कनिका छरेर र कुरो–कन्थो जोडेरै मूर्ख बनाउन सकिन्छ भन्ने सोच उहाँमा देखिन्छ । मेलम्चीको तामझाम पनि त्यसकै उदाहरण नहोला भन्न सकिन्न ।

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम आयोजना गरी परीक्षण शुरु गरिएको थियो । सुरुङमा पानी हालेर परीक्षण गरिनु आफैंमा एक उत्सवको विषय हुन सक्छ तर पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले नागढुंगा सुरुङ मार्गदेखि केही ठूला परियोजनामा आफैं उपस्थित भएर निरीक्षण गर्ने र यस परीक्षणमा पनि आफ्नो सरकारका मन्त्री मणि थापालाई खटाउनुभयो, यसले उहाँ विकासभन्दा बढी राजनीति गर्न लाग्नुभएको त होइन भन्ने आशंका सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्