भागरथी :दुई हप्ते असफलता



भागरथी भट्टको बलात्कारपछि हत्या भएको दुई साता पूरा भएको छ । माघ २१ का दिन हत्या भएको भनिएकी भागरथीको शव २२ गते फेला परेको मितिले आज १४ दिन पूरा भएको छ । तर निर्मला पन्त हत्या प्रकरणजस्तै उपलब्धि शून्य अवस्था छ । बलात्कार र हत्याका घटनाका कारण सारा नेपाली लज्जित महशुस गरिरहेका बेला प्रधानमन्त्री केपी ओलीलगायतका नेताहरु शक्ति प्रदर्शनको ठट्टा र नाटकमा लागेका छन् । अपराधी पत्ता लगाउन सरकारी संयन्त्र असफल भएका बेला शक्तिशाली भनिएका पार्टीले दक्ष ‘प्राइभेट डिकेक्टिभ’ को प्रयोग गरेर हिरो बन्ने अवसर किन गुमाएको, जवाफ छैन ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्र्षीया भागरथी भट्टको अज्ञात अपराधीले जघन्य किसिमले हत्या गरेको देखिएको छ । बिहान आमाले पकाएको खाना खाएर विद्यालय हिँडेकी भट्ट कहिल्यै फर्किनन् । प्रहरीको प्रारम्भिक सर्वेक्षणअनुसार भागरथीको बीभत्स किसिमले कुटपिट गर्दै बलात्कारपछि हत्या गरिएको देखिन्छ । घटनाको प्रकृति हेर्दा यौन पीपाषुबाटै यो अपराध भएकोमा शंका छैन । उनको हत्याको खबर सुनेपछि शिक्षक, विद्यार्थी, आफन्तका साथै देशवासी शोकमा डुब्दै न्यायको माग गरिरहेका छन् । मुलुकमा दैनिक ६ देखि ७ महिला तथा बालिकामाथि जघन्य आपराधिक बलात्कारजन्य घटनाहरु भएको प्रहरीको तथ्याङ्क छ । घना जङ्गलस्थित सडकबाट झन्डै ५० मिटर पर झाडीमा भेटिएकी भागरथीको टाउको, घाँटी, हातमा चोट छ ।

यौनाङ्गबाट रगत बगेको बताइएको छ । यसै गरी, २०७५ साउन १० गते साथीको घरमा पढ्न गएकी कञ्चनपुरकी १३ वर्र्षीया निर्मला पन्तको पनि बलात्कारपछि हत्या गरिएको थियो । तर, स्वाव संकलनलगायत विभिन्न अनुसन्धानका कामहरु प्रभावित हुने गरी विभिन्न कर्म भएका कारण उनका अपराधी दण्डहीनताको आनन्द उठाइरहेका छन् । अब भागरथी हत्या प्रकरण पनि निर्मलाको जस्तै रहस्यमै हराउने त होइन भन्ने आशंका बढेको छ । सम्झना विक, संगीता मण्डल, कञ्चन पञ्जियार, आकृति राई, निर्मला पन्त, पूर्णिमा मोक्तान, शर्मिला दनुवारजस्ता सयौं चेलीले बलात्कारपछि जघन्य हत्याको शिकार हुनुपरेको छ ।पीडितको मौनता र असावधानीले अपराधीलाई बचाएको देखिन्छ । तर, पीडित पक्ष किन मौन बस्छ भनेर खोज्ने हो भने भ्रष्ट राजनीति र कमजोर प्रशासनले सिर्जना गरेको अविश्वास कारणका रूपमा देखिन्छ । प्रहरीले अपराधीसँग मिलिभगत गर्दैन भन्ने विश्वासको अभावमा पीडित मौन बस्छन् भन्ने सत्य नबुझ्ने र केबल मौनता, घटना लुकाउने प्रवृत्तिलाई मात्र दोष दिने दृष्टिकोण त्रुटिपूर्ण छ ।

राज्यको जिम्मेवार निकाय तथा उच्चपदस्थ व्यक्तिले बलात्कारलाई संवेदनशील मुद्दाको रूपमा हेर्न चुकेको देखिन्छ । विगतमा निर्मला पन्तको जस्तै भागरथी हत्या प्रकरणको अनुसन्धानमा पनि सरकार गैरजिम्मेवार नबनोस् भन्ने सबैको कामना छ । अमानवीय तथा पाशविक हत्याविरुद्ध शून्य सहनशीलता अपनाउँदै घटनामा संलग्न जो–कोही भए पनि कानुनी दायरामा ल्याउनै पर्छ । विगतका घटना हेर्दा वर्तमान सरकारले छोरीचेली गुमाएर पीडामा परेका आफन्तको आँसु पुछ्न नसकेको तीतो यथार्थ छ । भागरथीका हत्यारालाई शीघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन नसकेसम्म सरकारले तीन वर्षमा हासिल गरेका उपलब्धिको चर्चा अर्थहीन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्