करको दायरा बढाउन र असुलीमा कडाई गर्न अर्थमन्त्रीको जोड

यी हुन् धेरै कर तिर्ने



नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करको दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताउनुभएको छ । नवौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालयद्वारा जोरपाटीमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताउनु भएको हो ।
त्यसक्रममा अर्थमन्त्री पौडेलले कर परीक्षण, कर अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरुजु फछर्यौट जस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न निर्देशन दिनुभयो । उहाँले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रक्रियागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिनुभयो । यस्तै करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा र पहुँच बिस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजस्व विभाग र मातहतका सबै राजस्व कार्यालयलाई निर्देशन दिनुभयो ।
करदाता र कर प्रशासनबीचको स्वच्छ व्यावसायिक सम्बन्ध र आपसी विश्वास मजबुद भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने अर्थमन्त्रीको धारणा थियो । अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीलाई शासकका रुपमा होइन, नागरिकको सेवकका रुपमा काम गर्न निर्देशन दिनुभयो । कोभिड–१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञालगायतबाट अर्थतन्त्रमा आएको संकुचनका बावजुद आर्थिक वर्ष २०७६÷७७ को राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक रहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको बाँकी अवधिमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा योगदान गर्न विगतमा झैं निरन्तरको सहकार्य र सहयोगका लागि सम्पूर्ण करदातालाई अपिल गर्नु भएको छ । यस्तै कर प्रशासनमा सुशासन, सदाचार र भ्रष्टाचारप्रतिको शून्य सहनशीलताको नीतिलाई पालन गर्न निर्देशन दिनुभयो । आन्तरिक राजस्व विभागको चालू आर्थिक वर्षका लागि तय गरेको कार्यमूलक सूचकमा तोकिएको लक्ष्य हासिल गर्न र आर्थिक ऐन २०७७ मार्फत ल्याइएका विभिन्न योजना तथा सुधारका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा योगदान गर्नु हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
अर्थमन्त्री पौडेलले कर दिवसले कर प्रशासनको आवश्यक ज्ञान र दक्षता अभिबृद्धि गर्नुको साथै कर प्रशासनलाई निष्पक्ष सेवाग्राहीमैत्री भावनाको विकास गर्न उत्प्रेरित गराउन र सुशासनयुक्त तथा पारदर्शी बनाउन सहयोग पु¥याएको बताउनुभयो ।

यी हुन् धेरै कर तिर्ने
आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने करदाताको सूची सार्वजनिक गरेको छ । नवौं कर दिवसको समापनका अवसरमा आइतबार धेरै कर तिर्नेको नाम घोषणा गरिएको हो ।
विभागले मंसिर १ गते कर दिवस मनाउने गरेको मा यसपटक कोभिड र तिहारका कारण औपचारिक कार्यक्रम भने गरेन । यद्यपि, उच्च करदातालाई कोभिड संक्रमण कम भएपछि औपचारिक कार्यक्रम गरेर सम्मान गर्ने विभागले जनाएको छ।
विभागका अनुसार गत वर्ष सबैभन्दा धेरै आयकर तिर्नेमा सूर्य नेपाल रहेको छ। यस कम्पनीले गत वर्ष ५ अर्ब ३१ करोड रुपियाँ आयकर तिरेको थियो । यस्तै भ्याटतर्फ ३ अर्ब ८७ करोड रुपियाँ कर तिरेको थियो।
त्यस्तै व्यक्तिगत आयकर तिर्नेमा हिमालयन डिस्टिलरीका विजयबहादुर शाह रहेका छन् । रेमिट्यान्सतर्फ आइएई कम्पनी रहेको छ भने व्यापार व्यवसायतर्फ अग्नि इन्कर्पोरेटेड रहेको छ । निर्याततर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा डाबर नेपाल छ । साथै आयकर तिर्ने हिमाल पावर छ। कृषि तथा पशुपक्षी उद्योगतर्फ अन्नपूर्ण एग्रोभेट, सहकारीतर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा छिमेकी लघुवित्त छ । बैंकतर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक रहेको छ। साथै बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी रहेको छ। शिक्षण सेवातर्फ सबैभन्दा धेरै आयकर तिर्ने मणिपाल मेडिकल कलेज रहेको छ। पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी, मध्यमस्तरीय करदातामध्ये कामना सेवा बैंक, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ घोराही सिमेन्ट छ। भिएस सर्भिसेस प्रालिले धेरै आयकर तिर्ने कम्पनीमा छ।

प्रतिक्रिया दिनुहोस्