“हामी सगरमाथाजस्तै अटल र विश्वासिलो छौं”



चंकी क्षेत्री
सीईओ, सगरमाथा
इन्स्योरेन्स कम्पनी लिमिटेड

सधैं हँसिलो, मिलनसार एवम् आफ्नो काममा अब्बल व्यक्तिका रूपमा बीमा क्षेत्रमा परिचित व्यक्ति हुन् चंकी क्षेत्री। रमाइलो गर्नेदेखि घुम्ने, डुल्नेलगायत सामाजिक सञ्जालमा समेत निकै सक्रिय उहाँ ख्याल–ख्यालमै बीमा क्षेत्रमा प्रवेश गरेको बताउनुहुन्छ।हाल सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा हुनुभएका चंकी क्षेत्री बीमा क्षेत्रमा योजनाबद्ध तरिकाले प्रवेश गरेको नभई संयोगले यस क्षेत्रमा लागेको बताउनुहुन्छ। तनहुँमा जन्मनुभएका उहाँ अभिभावकसँग सानैदेखि भारतमा बस्दै आउनुभएको थियो। पढ्दै गर्दा साथीभाइसँग नेपाल आउनुभएका उहाँ काठमाडौंको सुन्दरतादेखि मोहित हुनुभयो। काठमाडौंमा नै बसेर अध्ययन गर्ने अनि भविष्यको यात्रा तय गर्ने तत्कालै निर्णय गर्नुभयो। अनि शुरू गर्नुभयो पिपुल्स कलेजतर्फको यात्रा। सधैं रमाइलोमा नै दिन बिताउने उहाँलाई साथीभाइको जोश जाँगर अनि उनीहरूको कमाइले मोहित पार्यो। कलेजमा पढ्दापढ्दै उहाँ ओरियन्टल इन्स्योरेन्स कम्पनीको कर्मचारी बन्न पुग्नुभयो। उहाँ भन्नुहुन्छ–‘साथीाभाइले पैसा कमाएको देख्दा मन लोभियो, अनि मैले पनि जागिर खाने निर्णय गरें।’ ओरियन्टल, युनाइटेड इन्स्योरेन्स हुँदै सगरमाथा इन्स्योरेन्स पुग्नुभएका उहाँले बीमा क्षेत्रमा तीन दशकदेखि क्रियाशील हुनुहुन्छ। समग्र बीमा व्यवसाय, सगरमाथा इन्स्योरेन्स कम्पनी तथा व्यक्तिगत अनुभवलगायतका विषयमा चंकी क्षेत्रीसँग नेपाल समाचारपत्रका लागि परिवर्तन देवकोटाले गरेको कुराकानी :

बीमा क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

कलेजमा अध्ययन गर्दैगर्दा मैले यस क्षेत्रमा काम शुरू गर्न पुगें। साथीभाइहरूले अध्ययनसँगै जागिर पनि गरेको देखें। त्यसपछि मैले पनि जागिर गर्ने निर्णय गरें। बास्तवमा भन्नुपर्दा म लहलहैमा यो क्षेत्रमा प्रवेश गरें भन्दा पनि फरक पर्दैन।

सन् १९९१ मा मैले ओरियन्टल इन्स्योरेन्समा असिस्टेन्ट लेभलबाट काम शुरू गरेको हुँ। सन् १९९१ नै मेरो लागि औपचारिक कामको शुरूआत वर्ष बन्यो। त्यसपछि म सन् १९९३ मा युनाइटेड इन्स्योरेन्समा गएँ।

सो कम्पनी सञ्चालनमा आएपछि त्यहाँ ‘फस्र्ट विजनेस’ गर्ने मान्छे म हँु। म युनाइटेडमा गएपछि मार्केटिङमा काम गरें। त्यतिखेर एक वर्षमा ३ लाख विजनेस गर्ने कम्पनीको लक्ष्य थियो। तर, म एक्लैले १ लाख ६९ हजार रुपियाँको चेक पहिलो दिनमै गरें।

त्यतिखेर मेरो बारेमा निक्कै चर्चा भयो। त्यसपछि बिस्तारै राम्रो गर्दै गएँ। त्यहाँ पाँच वर्षसम्म काम गरें। त्यसलगत्तै सन् १९९८ मा सगरमाथा इन्स्योरेन्समा असिस्टेन्ट मेनेजरको रूपमा आवद्ध भएँ। अहिले सीईओको रूपमा कार्यरत छु।

निकै नै रमाइलो कुरा गर्नुभयो। यहाँसम्मको सफलता प्राप्तिमा आफ्नो के कुरा मुख्य देख्नुहुन्छ ?

मेरो विचारमा लक्ष्यअनुसार यात्रा तय गरिएन भने सफलता भेटिंँदैन। सोचेर बसेर पनि हँुदैन। काममा आफ्नो लगाव नै सबैभन्दा महत्वपूर्ण कुरा हो।

योजनाअनुसारको काम गर्नुपर्छ। त्यतिखेर नेपालमा गुगलको प्रयोग भइसकेको थिएन, सहजै पढ्ने वातावरण थिएन। त्यतिखेर पनि अध्ययन राम्रो गर्न पनि त लगावले नै काम गर्यो।

तपाईंको बीमा क्षेत्रमा त लगाव देखिनै रहेको छ। अब भन्नुहोस्, यस्तै लगाव अरू के–केमा देखाउनुहुन्छ ?

म पहिलेदेखि नै रमाइलो मान्छे। रमाइलो गर्न, घुमफिर गर्न तथा खेलकुदमा सहभागी हुन बढी समय छुट्याउँथें। अहिले पनि म त्यस्तै नै छु।

विदेशी साथीले बेला–बेला मलाई भन्छन् तपाईं त कति धेरै व्यस्त, कसरी भ्याउनुहुन्छ हो ? म आफैंमा दंग पर्छु, खुशी पनि लाग्छ। अहिले पनि फुर्सद भयो कि, फिल्म हल तथा घुमफिरमा निस्किहाल्छु। खेलकुदमा पनि समय दिन्छु।

अहिलेको अवस्थामा बीमा बजारलाई यहाँले कसरी नियालिरहनु भएको छ ?

अहिले बीमा बजारमा २ अर्ब १७ करोडभन्दा बढीको विजनेस छ। ३ सयभन्दा बढीले रोजगारी पाएका छन्। मोटरसाइकल चढ्नेको संख्या नै बढीरहेको छ। यसरी हेर्दा विजनेस राम्रो छ। तर, हाम्रो चाहना यो भन्दा अझै राम्रो गर्नुपर्ने हुन्छ।

नेपालमा बीमाको बजार अथाह छ। अहिले सामान्यतया बजारको ग्रोथ १९/२० प्रतिशतको हाराहारीमा छ। यो अवस्था नराम्रो होइन। कुनै कम्पनी तलमाथि हुन सक्छ। तर, समग्रमा हेर्ने हो भने बजार अझै बढ्दै जान्छ, घट्ने कुनै अवस्था छैन।

अहिलेको अवस्थामा बीमा कम्पनीहरूको मर्जर आवश्यकता हो कि होइन ?

अहिले सबै बीमा कम्पनीहरूको चुक्ता पुँजी बढेको छ। मर्जरको कुरा पनि चलिरहेको छ। कसैले लाइसेन्स ल्याएर विजनेस गर्छु भन्ने अवस्था आयो भने नगर भन्ने अवस्था पनि हुँदैन।

तर, यसरी लाइसेन्स दिँदै जाँदा अस्वस्थ प्रतिस्पर्धा हुन्छ र विकृत सिर्जना हुन जान्छ। त्यसकारण मर्जर आवश्यकता हो। अहिले सामान्य कुरामात्रै सुनिए पनि अर्को आर्थिक वर्षसम्ममा त यो अनिवार्य आवश्यकता नै हुन जान्छ। मन मिल्ने कम्पनी मर्जरमा जानैपर्छ।

पछिल्लो समय बीमा बजारमा कस्ता–कस्ता चुनँैती देखिन्छन् ?

अहिले बीमा बजारमा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ, यो नै मुख्य चुनौती हो। त्यस्तै, अहिलेको बजार पनि सानै हो। यसलाई बढाउन पनि अर्को चुनौती छ। बीमा बजारमा अझै पनि पहुँच पुगेको छैन। शहरका कतिपय शिक्षित वर्गले बीमा गरिरहेको पाइँंदैन, यो पनि चुनँैती नै हो।

तर, चुनौती मात्र पनि छैन, अवसर पनि प्रशस्तै छन्। अहिले गाउँ–गाउँमा कृषि तथा पशु बीमाका लागि अभियान शुरू भएका छन्। सरकारले पनि राम्रो साथ दिएको छ। यो बजार विस्तारको आधार हो।

अहिलेको अवस्थामा सगरमाथा इन्स्योरेन्सको अवस्था चाहिँ कस्तो छ ?

अहिले सगरमाथा इन्स्योरेन्स विश्वको सर्वोच्च शिखर सगरमाथाजस्तै अटल, विश्वासिलो र मजबुत छ। हाम्रो काम पनि सगरमाथाजस्तै नै छ। हामीले जहिले पनि केही न केही नयाँ कुरा बजारमा गरिरहेकै छौं। अहिले हाम्रो विजनेस १ अर्ब ४५ करोड हाराहारीको छ। त्यस्तै दाबी भुक्तानी पनि ६५ करोडको हाराहारीमा गरेका छौं ।

आम मानिसले सगरमाथा इन्स्योरेन्सलाई नै किन रोज्ने ?

मैले माथि नै भनिसकेको छु, हामी सगरमाथाजस्तै अटल र विश्वासिलो छौं। हामी वर्तमान आवश्यकतालाई हेर्दै दीर्घकालीन यात्रा तय गर्छौं। उपभोक्तालाई सेवा प्रवाह नै हाम्रो मुल मन्त्र हो । हामीले दाबीमा फोकस गरेर जतिसक्दो छिटो भुक्तानी दिने गर्छौं। उपभोक्ताको सन्तुष्टिलाई नै हामीले बढी ध्यान दिएका छौं।

हामीले ‘भीआईपी अन द स्पोट’ भन्ने अभियान चलाइरहेका छौं। कुनै पनि घटना भयो भने हामी त्यहींँ पुगेर भुक्तानी दिने तथा आवश्यक सहयोग गर्ने गर्छौं। यस्तै आईटी सेक्टरमा पनि हामी अघि बढिरहेकै छौं। हामी नै पहिलो कम्पनी हौं, जसले हात–हातमा बीमा पुर्याउन ‘हातहातमा बीमा’ एन्ड्रोइड एप सञ्चालनमा ल्याएका छौं।

प्रतिक्रिया दिनुहोस्