१० टन लप्सी अमेरिका निर्यात



नेपाल समाचारपत्र, पर्वत
लप्सी उत्पादनको पकेट क्षेत्र मानिएको पर्वतबाट यो वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ। लप्सी संकलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो।

फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका विभिन्न ठाउँमा पुगेर कृषकको लप्सी खरिद गरेर प्रशोधन गर्दै आएको छ। उद्योगबाट उत्पादित माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डीलगायतका परिकार निर्यात गरिएको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिनुभयो।

यो वर्ष उद्योगले कुल १३० टन लप्सी संकलन गरेकोमा अहिलेसम्म ६० टन लप्सी प्रशोधनपछि बजारमा गएको छ भने ७० टन लप्सी प्रशोधनको क्रममा छ। गत वर्षको यही समयसम्म ४० टन मात्र लप्सी प्रशोधन गरेको उद्योगले यस वर्ष अघिल्लो वर्षको तुलनामा २० टन बढी प्रशोधन गरिसकेको छ। उद्योगले पर्वत र बागलुङ जिल्लाबाट लप्सी संकलन गरेर प्रशोधनपछि देशका विभिन्न जिल्लासहित विदेशमा पनि निर्यात गर्दै आएको छ।

‘अहिलेसम्म प्रशोधन गरिएको लप्सी स्थानीय बजार र विदेशमा अमेरिका पुगिसकेको छ,’ भुसालले भन्नुभयो–‘कोरियाबाट पनि माग आएको छ, अब प्रशोधन गरिएकोलाई कोरिया पठाउने हो।’ उहाँका अनुसार यो वर्ष प्रशोधित लप्सीको बिक्रीबाट कम्तीमा पनि २० लाख रुपियाँभन्दा बढी कमाइ हुने अपेक्षा गरिएको छ। २०५८ सालमा स्थापना भएको उद्योगमा बर्सेनी नाफा बढ्दै गएको छ। उद्योग स्थापना भएपछि बसाइँसराइँ र अन्य कारणले पनि बाँझो रहेका जिल्लाका पाखाबारी तथा खाली जमिनमा लप्सी लगाउने होड चलिरहेको छ। केही वर्षअघिसम्म बोटबाटै झरेर कुहिने गरेको लप्सीले आजभोलि मूल्य पाउन थालेपछि कृषकलाई राहत भएको छ।

प्रतिक्रिया दिनुहोस्