डेढ महिनादेखि बलेवा विमानस्थल ठप्प

0
Shares

नेपाल समाचारपत्र, पर्वत
झण्डै साढे दुई दशकपछि सञ्चालनमा आएको बलेवा विमानस्थल फेरि पनि डेढ महिनादेखि ठप्प बनेको छ । गएको चैत ९ गतेदेखि नियमित सञ्चालनमा आएको विमानस्थल झण्डै पाँच महिना पनि नपुग्दै बन्द भएको हो ।

अहिले डेढ महिनाभन्दा बढी दिनदेखि कुनै पनि उडान हुन सकिरहेको छैन ।
बलेवा विमानस्थलमा उडान भर्दै आएका दुईवटै विमान बिग्रिएपछि उडान अवरुद्ध भएको हो । नेपाल एयरलाइन्सको विमान मर्मतमा राखिएको र तारा एयरको विमान हुम्लामा दुर्घटनामा परेपछि विमान अभावका कारण उडान नभरेको विमानस्थलले जनाएको छ ।

तारा एयरले सँचना नै जारी गरी असार, साउन र भदौमा उडान नहुने जानकारी गराएको थियो । अन्तिमपटक गएको असार २८ मा नेपाल एयरलाइन्सले उडान भरेको थियो ।

नेपाल वायु सेवा निगम बलेवा विमानस्थलका स्टेसन म्यानेजर कमलप्रकाश पौडेलका अनुसार विमान बिग्रिएका कारण झण्डै डेढ महिनादेखि उडान हुन नसकेको हो ।

‘एकातिर यात्रुको अभाव हुने र अर्कोतर्फ विमान बिग्रिएर मर्मतका लागि राखिएकाले उडान हुन नसकेको हो ।’ पौडेलले भन्नुभयो ।

अपुग यात्रुको हर्जना बागलुङ नगरपालिकाले व्यहोर्ने सहमति भएपछि गएको चैत ९ गतेदेखि विमानस्थल सुचारु भएको थियो । नगरपालिकाले अपुग यात्रुको हर्जना तिर्दे आएको भए पनि चालँ आर्थिक वर्षदेखि विमान नै आउन छाडेपछि भुक्तानी गर्न समेत रोकेको छ ।

चैतदेखि हालसम्म दुवै कम्पनीले गरी २५ वटा उडान भरेका छन् । नेपाल एयरलाइन्सले १३ र तारा एयरले १२ वटा उडान भरेको म्यानेजर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल एयरलाइन्सको १३ वटा उडानमा अपुग भएका यात्रुहरुको हर्जाना ५ लाख १४ हजार ४ सय र तारा एयरको १२ वटा उडानमा अपुग यात्रुको ५ लाख ६५ हजार रुपियाँ नगरपालिकाले हर्जाना तिरेको छ ।

बिमानस्थल पनि कालोपत्रे नभएको तथा मौसमको कारण देखाउँदै उडान गर्न नमान्ने गरेको पौडेलले बताउनुभयो । रनवे कालोपत्रे नभएकाले वर्षा रोकिएको दुई घण्टापछि मात्र उडान भर्न मिल्छ । उहाँले भन्नुभयो–‘वर्षा र यात्रुको ग्यारेन्टी नहुँदा पनि समस्या भएको हो ।’ तारा एयरले आगामी असोजदेखि र नेपाल एयरलाइन्सले केही दिनपछि मात्रै उडान भर्ने जानकारी आएको भए पनि निश्चित भने नभएको पौडेलले बताउनुभयो ।

आइतबार तारा एयर र बिहीबार नेपाल एयरलाइन्सले उडान भर्दै आएका थिए ।

विमानमा दुवैतर्फ गरेर २४ जना यात्रु हुनुपर्नेमा यात्रु नपुग भएमा त्यसको हर्जना बागलुङ नगरपालिकाले बुझाउनुपर्ने सम्झौता अनुसार एक जना यात्रुको भाडा ६ हजार ७ सय ९५ को दरले नपुग हर्जना गर्दै आएका थियो ।

२०१८ सालमा निर्माण भएको विमानस्थल पोखरा–बागलुङ राजमार्ग खुलेपछि २६ वर्षदेखि बन्द रहेको थियो । बलेवादेखि काठमाडौंसम्म ४५ मिनेटमा पुगिने हवाई शुल्क धेरै भएपछि यात्रुले भाडा समायोजन गर्न माग गरेका थिए ।