फेरि डलरमा पीपीए



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल विद्युत प्राधिकरणले २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अमेरिकी डलरमा तिर्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ।

प्राधिकरणले डलरमा भुक्तानी गर्ने गरी सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसँग विद्युत् पीपीए गर्ने निर्णय गरेको हो। निर्माण अवधिको ५ वर्षसमेत गरी १३ वर्षका लागि अमेरिकी डलरमा भुक्तानी गर्ने भनिए पनि सो आयोजना खिम्ती र भोटेकोसीको अर्को संस्करण भएको ऊर्जा क्षेत्रका जानकारहरूको भनाइ छ। हाल खिम्ती र भोटेकोसी आयोजनाको महशुल डलरमा प्राधिकरणले तिर्दै आएको छ। डलरमा पीपीए गर्दा प्राधिकरण आफैंलाई नोक्सान पुग्ने भए पनि ऊर्जा मन्त्रालयले जारी गरेको विद्युत् विकास दशक सम्बन्धी अवधारणापत्र–२०७२ बमोजिम पीपीए भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो।

आयोजनामा कोरियाली कम्पनी, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाली लगानीकर्ताको लगानी रहनेछ। ऊर्जा मन्त्रालय र कम्पनीबीच २०७३ पुस १४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो। सरकारले २०७२ को माघमा राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक सम्बन्धी अवधारणापत्र–२०७२ मार्फत विदेशी परिवत्र्य मुद्रामा गरिने आयोजनाका लागि गरेको व्यवस्थाका आधारमा प्राधिकरणले कार्यान्वयनमा ल्याएको निर्देशिका अनुसार माथिल्लो त्रिशूली–१ को पीपीए गर्न लागिएको प्राधिकरणले जनाएको छ।

कम्पनीले पर्पmरमेन्स ग्यारेन्टीवापत २१ करोड ६० लाख भुक्तानी गरेपछि पीपीएमा हस्ताक्षर हुने प्राधिकरणका निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो।

प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने एक सय मेगावाटभन्दा ठूला आयोजनासँग विदेशी ऋणको अंशका लागि मात्रै अमेरिकी डलरमा भुक्तानी गर्ने गरी नेपाली मुद्रामा पीपीए गर्ने नीति लिएको छ। माथिल्लो त्रिशूली–१ सँग अधितकम १० वर्ष वा व्यावसायिक विद्युत् उत्पादन शुरू दिन (सीओडी) देखि ऋण चुक्ता अवधि (पे–व्याक पिरियड) अवधिसम्मका लागि मात्रै अमेरिकी डलरमा पीपीए हुने घिसिङले बताउनुभयो।

उक्त अवधि सकिएपछि बाँकी पीपीए अवधिभर सबै रकम नेपाली रुपियाँमा भुक्तानी हुने व्यवस्था गरिएको छ। पीपीए गरिने दिनका लागि नेपाल राष्ट्र बैकले तोकेको डलरको सटही मूल्यलाई स्थिर राखिने जनाइएको छ।

प्राधिकरणले आयोजनाको विद्युत् सुक्खायाम र वर्षायामको क्रमश ८ रुपियाँ ४० पैसा र ४ रुपियाँ ८० पैसा प्रतियुनिट दरमा किन्ने छ। तर, आयोजना सम्पन्न हुँदा रिटर्न अन इक्विटी १७ प्रतिशतभन्दा बढी रहेको पाइएमा उक्त विद्युत् खरिद दर सोही अनुसार कम गरिने छ। नदी प्रवाहमा आधारित (रन अफ रिभर) आयोजनाका लागि १६ मंसिरबाट १५ जेठसम्मको अवधिलाई सुख्खायाम र १६ जेठदेखि १५ मंसिरसम्मको अवधिलाई वर्षायाम कायम गरिएको छ।

विदेशी लगानीमा निर्माण हुने आयोजनामा लगानी संरचनाको सीमा पनि निश्चित गरिएको छ। त्यस्ता आयोजनामा स्वपुँजी (इक्विटी) को अंश न्यूनतम २० प्रतिशत र ऋणको अंश अधिकतम ८० प्रतिशत तोकिएको छ। स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली–१ लाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यवृद्धि (स्कालेसन) पाउने व्यवस्था गरिएको छ।
जोखिम व्यवस्थापनका लागि ‘हेजिङ फन्ड’ माथिल्लो त्रिशूली–१ सँग डलरमा पीपीए गर्दा विदेशी मुद्रा विनिमय जोखिम बेहोर्न एक कोष स्थापना गरिने प्राधिकरणले जनाएको छ। नेपाली मुद्रा अवमूल्यनका कारण प्राधिकरणलाई अतिरिक्त व्ययभार परी प्राधिकरणको वित्तीय स्वास्थ्यमा पर्ने जोखिम न्यूनीकरणका लागि ‘हेजिङ फन्ड’ स्थापना गर्न लागिएको हो। ‘हेजिङ फन्ड’को स्थापना, सञ्चालन र नियमनको ढांँचा नेपाल राष्ट्र बैकले तयार पार्ने छ। उक्त कोषको लागत र प्रिमियम नेपाल सरकार, विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनीले संयुक्तरूपमा व्यहोर्ने छन्।

७ आयोजनाको अमेरिकी डलरमा पीपीए
प्राधिकरणले यसअघि खिम्ती (६० मेगावाट), माथिल्लो भोटेकोसी (४५ मेगावाट), तल्लो सोलु (८२ मेगावाट), माथिल्लो मस्र्याङदी–ए (५० मेगावाट), कोबेली–‘ए’ (३७ दशमलव ६ मेगावाट) र रसुवा–भोटेकोसी (१ सय २० मेगावाट) जलविद्युत् आयोजनाका लागि अमेरिकी डलरमा भुक्तानी गर्ने गरी पीपीए गरिसकेको छ। उक्त आयोजनामध्ये सञ्चालनमा आइसकेका खिम्ती, भोटेकासी र माथिल्लो मस्र्याङदी–‘ए’को हालको पीपीए दर प्रतियुनिट क्रमशः १० रुपियाँ ९५ पैसा,११ रुपियाँ १६ पैसा र ७ रुपियाँ ३५ पैसा रहेको छ।

६० मेगावाट खिम्ती जलविद्युत् आयोजनाको रोयल्टीसमेत प्राधिकरणले तिर्दै आएको छ। उक्त रकम गत आर्थिक वर्ष २०७३⁄७४मा ५४ करोड ५० लाख ८६ हजार रुपियाँ रहेको थियो।

त्यसैगरी निर्माणाधिन अवस्थाको तल्लो सोलुको पीपीए दर प्रतियुनिट वर्षायाममा ४ रुपियाँ ८० पैसा र सुख्खायाममा ८ रुपियाँ ४० पैसा रहेको छ। उक्त आयोजनाको बिल रकमको ५५ प्रतिशत डलरमा र ४५ प्रतिशत नेपाली मुद्रामा भुक्तानी गर्नुपर्ने व्यवस्था छ। त्यस्तै काबेली–‘ए’ जलविद्युत्को आयोजनाको पीपीए दर प्रतियुनिट ६ रुपियाँ ४१ पैसा रहेको छ भने भुक्तानी हुँदा विदेशी मुद्रा र नेपाली मुद्राको अनुपात ६० र ४० कायम गरिएको छ। रसुवा भोटेकासीको पीपीए दर भने माथिल्लो त्रिशूली–१ को जस्तै रहेको छ।

प्रतिक्रिया दिनुहोस्