एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने


काठमाडौँ ।

एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

क्यापिटलको सञ्चालक समितिको १७४औँ बैठकले गरेको निर्णयअनुसार आगामी भदौ २६ गते शुक्रबार काठमाडौँको थापाथलीस्थित क्यापिटलको रजिस्टर्ड कार्यालयमा दशौँ वार्षिक साधारणसभा आयोजना हुने भएको छ। साधारणसभा बिहान ९ बजे सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ। प्रस्तावित लाभांशमा करसमेत समावेश रहेको क्यापिटलले जनाएको छ।

त्यसैगरी, साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणलगायत अन्य नियमित प्रस्तावमाथि छलफल तथा निर्णय गरिने क्यापिटलले जनाएको छ।

यसैबीच, क्यापिटलले आफ्ना अधिकांश सेवा प्रविधिमार्फत ग्राहकसमक्ष पुर्‍याउने व्यवस्था गरेको जनाएको छ। ‘अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने नाराका साथ अघि बढेको क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा आफूले प्रदान गर्ने अधिकांश सेवा अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था मिलाएको हो।

प्रविधिमैत्री सेवामार्फत ग्राहकलाई सहज, छिटो र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल सेवाको विस्तारलाई प्राथमिकतामा राखिएको क्यापिटलले जनाएको छ।