‘आर्थिक विकास अबको प्राथमिकतामा’

0
Shares

काठमाडौं, (नेस)
पूर्वसभामुख सुभाष नेम्वाङले अब आर्थिक विकासको एजेन्डालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतिनिधिसभामा निर्वाचित भएका महासंघका सल्लाहकारहरूको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेम्वाङले यस्तो बताउनुभएको हो।

आफूहरू प्रतिनिधिसभामा निर्वाचित भए पनि अझै कानुनीरूपमा प्रतिनिधिको हैसियत प्राप्त गरिनसकेको बताउँदै नेम्वाङले नयाँ सरकार गठनपछि मुलुकको अािर्थक मुद्दाले प्राथमिकता पाउने बताउनुभयो।
पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले अब मुलुकमा आर्थिक विकासको पालो आएको बताउनु भएको छ। मुलुकका व्याप्त राजनीतिक तरलताका कारण मुलुकमा लामो समयसम्म आर्थिक विकास ओझेलमा परेको भन्दै सिंहले अब आर्थिक विकास नै पहिलो प्रथामिकतामा राखिनुपर्ने बताउनुभयो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका सल्लाहकारहरू प्रतिनिधि सभा निर्वाचनबाट इलाम क्षेत्र नम्बर २ बाट सुभाषचन्द्र नेम्वाङ, काठमाडौं क्षेत्र नं १ बाट प्रकाशमान सिंह, रूपन्देही क्षेत्र नं १ बाट छविलाल विश्वकर्मा र काठमाडौं क्षेत्र नं ९ बाट कृष्ण गोपाल श्रेष्ठ विजयी हुनुभएको छ।

सम्मान कार्यक्रममा महासंघका अध्यक्ष मोहन कुमार सुनारले महासंघका विभिन्न गतिविधिको बारेमा प्रकाश पार्दै सुनचाँदी व्यवसायीले भोग्नुपरेका समस्याको बारेमा अवगत गराएका थिए। महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायले राज्यलाई कर मार्फत् योगदान पुर्याएको र रोजगारी सिर्जना गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो।

Skip This