ऊर्जाको विकासमा सरकार र निजी क्षेत्र एकजुुट हुनुपर्छ ः राष्ट्रपति

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा ऊर्जाको विकास अपेक्षित रूपमा नभएको बताउनुभएको छ। राजधानीको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो–२०१८ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो।

राष्ट्रपति भण्डारीले मुलुकमा ऊर्जाको विकास नहुँदा समग्र विकास पनि अपेक्षित हुन नसकेको बताउनुभयो। विगत १ सय ७ वर्षमा नेपालमा ९ सय मेगावाट विद्युत्मात्रै उत्पादन भएको बताउँदै राष्ट्रपति भण्डारीले सरकार र निजी क्षेत्र एक भएर जलविद्युत्मा लगानी गर्नुपर्ने बताउनुभयो।
राष्ट्रपतिले पर्याप्त जलस्रोतको अधिकतम् सदुपयोग गर्दै ऊर्जा विकासमा लाग्न सरकार तथा सम्बद्ध पक्षसँग आह्वान गर्नुभयो। हाइड्रो एक्स्पोले ऊर्जा विकासका लागि सहजीकरण गर्ने मार्ग पहिचान गरी समस्या समाधानमा योगदान पुग्ने राष्ट्रपतिको अपेक्षा छ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकको विकासको सूचक ऊर्जा खपत भए पनि अवस्था निराशाजनक भएको बताउनुभयो। मुलुकमा जलविद्युत्को विकासमा बाधक बनेको प्रशासनिक र कानुनी प्रक्रिया सहज बनाउन उनले सरकारसँग आग्रह गर्नुभयो। नवीकरणीय ऊर्जाको विकासलाई उत्तिकै प्राथमिकतामा राख्नुपर्ने बताउँदै राणाले निजी क्षेत्र पनि जलविद्युत् विकासमा प्रतिबद्ध रहेको बताउनुभएको थियो।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले देशमा अधिक मात्रामा रोजगारी सिर्जना गर्न ऊर्जा विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो। ऊर्जा विकासबाट तीव्र औद्योगिकरण गरी विश्वमा उदाहरण प्रस्तुत गर्न सकिने उहाँको भनाइ थियो।

हाइड्रो एक्स्पो स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको आयोजनामा शुरु भएको हो। कार्यक्रममा इपान अध्यक्ष शैलेन्द्र गुरागाईंले राजनीतिक दल, सरकार र सम्बन्धित पक्षले ऊर्जा विकासमा लाग्नुपर्ने बताउनुभयो।

ऊर्जा विकासमा प्रयोग हुने प्रविधि दशकौं पुरानो हुनुले लागत धेरै हुने तथा नतिजा राम्रो नआउने गरेको इपान अध्यक्ष गुरागाईंको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेका आधुनिक प्रविधिलाई नेपालमा भित्र्याउनका लागि हाइड्रो एक्स्पोको आयोजना गरिएको उहाँको भनाइ छ। एक्स्पोले विभिन्न मुलुकसँग ऊर्जा उत्पादनका नयाँ प्रविधिको ज्ञान लिने अवसर सिर्जना गर्दै ऊर्जा विकासमा महत्वपुर्ण योगदान पुग्ने उहाँले बताउनुभयो।

पुस २१ गतेदेखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने हाइड्रो एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीलगायत झण्डै १ सयवटा भन्दा बढी स्टल रहेका छन्। जसमध्ये ५० प्रतिशत स्टल विदेशी कम्पनीको छ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाको रहेको सहभागिता छ।

७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुर्याउने एक्स्पोको आयोजक एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेजका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताउनुभयो। सबै नेपाली एकभएर जुटेको खण्डमा कम लागतमा अधिक ऊर्जा उत्पादन सम्भव रहेको उहाँको भनाइ छ।एक्स्पो अवधिमा हाइड्रो टनेलिङ, बैंकिङ तथा इन्स्योरेन्स, हाइड्रोपावरका मुख्य विषयमा सेमिनार सञ्चालन हुनेछन्।

एक्स्पोलाई राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ भने नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले सहयोग गरेका छन्।

Skip This