क्रिसमस र अंग्रेजी नयाँ वर्षले होटल खचाखच



दीपेन्द्र थापा, काठमाडौं ।
पछिल्ला केही वर्षयता क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष मनाउनेको संख्या बढेको छ भने व्यवसायीलाई पनि त्यसले फाइदा पुगेको छ। क्रिसमस तथा नयाँ वर्ष मनाउने संस्कृति नेपालमा विकास हुँदै गएपछि यस सिजनमा आन्तरिक पर्यटकले होटल तथा रिसोर्टहरू भरिभराउ हुन थालेका छन्।

नयाँ पुस्ताले क्रिसमस तथा नयाँ वर्षलाई महत्वका साथ नेपालमै मनाउँदै आएका छन्। यस्ता चाडबाडका बेला आन्तरिक पर्यटकको संख्या बढ्ने गरेको होटल संघ नेपालका महासचिव विनायक शाहको भनाइ छ।

शाहका अनुसार पछिल्लो समयमा आन्तरिक पर्यटनमा पनि उत्साहजनक रूपमा घुमफिर गर्ने संस्कृतिको विकास भएको छ। ‘भूकम्प र नाकाबन्दीले सुस्ताएको पर्यटन व्यवसायलाई बढ्दो आन्तरिक पर्यटनले सुधारोन्मुख बनाएको छ,’ शाहले भन्नुभयो। अंग्रेजी नयाँ वर्षको सन्दर्भमा आन्तरिक पर्यटकले ७० प्रतिशत होटलको बुकिङ गराएको उहाँले बताउनुभयो।

अरु बेला ७० प्रतिशत बाह्य र ३० प्रतिशत आन्तरिक पर्यटकले धान्ने गरेकोमा अहिले उल्टो छ। खासगरी काठमाडौं नजिकैका गन्तव्य आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेका छन्।
काठमाडौंको पार्क भिलेज होटलका संञ्चालक तथा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनील शाक्यले काठमाडौं नजिकका क्षेत्रमा यो समयमा ६० प्रतिशतसम्म आन्तरिक पर्यटकले धान्दै आएको बताउनुभयो। क्लब हिमालयका फ्रन्ट डेक्स अफिसर कवि डंगोलले नगरकोटको होटल व्यवसाय उक्त समयमा ७० प्रतिशत आन्तरिक पर्यटकले धान्ने गरेको छ।
आन्तरिक पर्यटकका लागि सजिलो र बढी रोजाइमा पर्ने अर्को स्थान हो दामन, दामनको एभरेस्ट पानारोमा रिसोर्टका निर्देशक सुदेश गौतम क्षत्रीका अनुसार विगत केही वर्षदेखि दामनका सबै होटल क्रिसमस र नयाँ वर्षका बेला आन्तरिक पर्यटकले भरिभराउ हुने गरेका छन्।

यस्तै नेपालकै लोकप्रिय पर्यटकीयस्थल पोखरा पनि पर्यटकले भरिभराउ बनेको छ। प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै होटल तथा रेष्टुराँलाई सेवा प्रवाह गर्ने सकस बढेको छ।

स्वदेशमा पनि घुम्ने संस्कृतिको विकास बढेसँगै पर्यटकको संख्यामा वृद्धि भएको बताउनुहुन्छ होटल संघ पोखरा च्याप्टरका अध्यक्ष विकल तुलाचन। उहाँले भन्नुभयो–‘नयाँ वर्षको अवसरमा पोखरा आउने क्रम बढ्दै गएको र विस्तारै होटलमा जाने संस्कृति बढेर गएको छ।’

पोखरामा पनि यस समयमा ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक आउने गरेको तुलाचनले बताउनुभयो।

त्यस्तै विद्यार्थी पनि आफ्नो क्यालेन्डर मिलाएर यस्तो समयमा पोखरा जाने गरेका छन्। पर्यटकको चापकै कारण होटल नपाइने डरले अधिकांश पर्यटकले अग्रिम बुकिङ गर्ने प्रचलन पनि पछिल्लो समय बढ्दै गएको छ। क्रिसमसको एक महिना अघिदेखि बुकिङ गर्ने क्रम शुरु भएको जानकारी दिँदै अध्यक्ष तुलाचनले २ हप्ता बाँकी हुँदै ५० प्रतिशत बढी बुकिङ भइसकेको बताउनुभयो।

अंग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन पोखराले प्रत्येक वर्ष सडक महोत्सव (स्टेट फेस्टिवल) गर्दै आएको छ। महोत्सवले स्वदेशी पर्यटकलाई लक्षित गरेर उनीहरूकोे बसाई अवधि लम्बाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ। विगत केही वर्ष यता महोत्सवलाई समेत लक्षित गरी पर्यटक आउने गरेको १९औं पोखरा सडक महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले बताउनुभयो।

‘घुम्नका लागि अनुकूल समय, महोत्सव र नेपालभित्र बढ्दै गएको घुमफिर संस्कृतिका कारण उत्साहजनक रूपमा पोखरामा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ।’ भट्टराईले भन्नुभयो। प्राकृतिक सुन्दरतासँगै पर्यटकलाई आकर्षित गर्न यस्ता काम थालिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष टीकाराम सापकोटाले बताउनुभयो।

होटल संघमा आबद्ध पोखराका करिब साढे ४ सय र आबद्ध हुने क्रममा रहेका ५० होटल गरी ५ सय होटलले पर्यटकलाई सेवा प्रवाह गरिरहेका छन्। पोखरा क्षेत्रमा पर्यटक बस्ने होटलका लगभग ११ हजार कोठामा २५ देखि २७ हजार बेड रहेको होटल एसोसिएसन नेपाल (हान) ले जनाएको छ। नयाँ वर्षका कारण बढेको पर्यटकको चापलाई दृष्टिगत गरी होटलले आफ्नो सेवा प्रवाहलाई पनि चुस्त र प्रभावकारी बनाएको होटल श्वप्नबागका सञ्चालक दीपक आचार्यले बताउनुभयो। ‘एक साताअघिदेखि नै पर्यटकले होटेलमा अग्रिम बुकिङ गरेका छन्।’ आचार्यले भन्नुभयो।

अर्को पर्यटकीय क्षेत्र सौराहमा पनि नयाँ वर्षका कारण पर्यटकको चाप बढेको छ। होटल संघ चितवन च्याप्टर सौराहका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहाका सम्पूर्ण होटलहरू बुकिङ भइसकेका छन्। अरु समयमा ७० प्रतिशत बाह्य र ३० प्रतिशत आन्तरिक पर्यटक हुने गरेकोमा यस समयमा भने ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य हुने गरेको घिमिरेको भनाइ छ। नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नती भइरहेका कारण सडकमार्ग भएर सौराहा जाने पर्यटकको संख्यामा भने कमि आएको छ।

अरु बेला ७० प्रतिशत बाह्य र ३० प्रतिशत आन्तरिक पर्यटकहुँदै आएकोमा अहिले उल्टो छ। काठमाडौं नजिकैका गन्तव्य आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्