निगमलाई अझै मासिक २३ करोड घाटा



दीपेन्द्र थापा, काठमाडौं ।
दुईपटक इन्धनको मूल्य बढाए पनि नेपाल आयल निगमले आफू घाटामा रहेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रलियम पदार्थको मूल्य बढेपछि निगमले मूल्य बढाउँदा घाटा कम भए पनि घाटामुक्त भने हुन नसकेको हो।

अहिले पनि निगमको मासिक घाटा २३ करोड रहेको छ।भारतमा इन्धनको मूल्यवृद्धि हुनु तथा नेपालमा औसत खपतभन्दा धेरै परिमाणमा इन्धन खपत हुनु घाटा कम नहुनुको मुख्य कारण रहेको निगमले जनाएको छ।

डिजेल र ग्यास सिलिन्डर महंँगोमा किनेर सस्तोमा बेच्दै आएको निगमले पेट्रोललगायत अन्य इन्धनमा नाफा राखे पनि घाटा व्यहोर्ने गरेको छ। निगमले यसै साता पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यासको मूल्य बढाएको थियो।

हरेक अंग्रेजी महिनाको १ र १६ तारिख इन्डियन आयल कर्पोरेसन (आईओसी) ले निगमलाई अन्तर्राष्ट्रिय मूल्यअनुसारको नयाँ मूल्यसूची पठाउने गरेको छ। विगतको महिनामा मूल्य बढेर आएको कारणले निगमको घाटामा बढेको हो। अब २०१८ को जनवरी १ मा पनि मूल्य सूचीमा मूल्य बढेर आए निगमको घाटा झन् चुलिने निगमको दाबी छ।
आईओसीले पठाएको मूल्यअनुसार समायोजन गरे पनि निगमले ग्यासमा प्रतिसिलिन्डर २ सय २६ रुपियाँ ७७ पैसा, डिजेलमा प्रतिलिटर १ रुपियाँ ७४ पैसा घाटा रहेको निगमले जनाएको छ। जसबाट एलपी ग्यासमा निगमलाई मासिक ५४ करोड १० लाख, डिजेलमा २४ करोड ५४ लाख रुपियाँ घाटा रहेको छ।

निगमलाई ग्यासमा प्रतिसिलिन्डर २ सय २६ रुपियाँ ७७ पैसा, डिजेलमा प्रतिलिटर १ रुपियाँ ७४ पैसा घाटा छ। जसबाट ग्यासमा मासिक ५४ करोशड १० लाख, डिजेलमा २४ करोड ५४ लाख रुपियाँ घाटा छ।

त्यस्तै निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपियाँ ६६ पैसा नाफा रहेको छ। यसको आधारमा पेट्रोलमा मासिक १० करोड ६१ लाख रुपियाँ नाफा, मट्टीतेलमा प्रतिलिटर १५ रुपियाँको दरले मासिक ३ करोड १२ लाख रुपियाँ नाफा रहेको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ १२ रुपियाँको दरले ७ करोड ५२ लाख रुपियाँ नाफा र अन्तर्राष्ट्रियतर्पm २४ रुपियाँको नाफा दरले मासिक ३४ करोड रुपियाँ नाफा रहेको निगमले जनाएको छ।

इन्धनको ३ पदार्थमा नाफा रहे पनि २ वटा पदार्थको घाटा बढी भएकाले त्यसले घाटाको परिपूर्ति गन नसकेको नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनुभयो। उहाँका अनुसार निगमलाई मासिक २३ करोड रुपियाँ घाटा रहेको छ।निगमका अनुसार अक्टोबर महिनामा कूल ६ अर्ब ४३ करोड भारुको इन्धन आयात भएकोमा नोभेम्बर महिनामा ८ अर्ब २३ करोड भारुको इन्धन आयात भएको छ। यो अक्टोबरको भन्दा ३३ दशमलव ८४ प्रतिशतले बढी हो।

इन्धनको खपतमा वृद्धि हुँदा नेपाल आयल निगमलाई अघिल्लो महिना ५४ करोड रुपियाँ घाटा भएको थियो।भारतमा भन्दा नेपालमा पेट्रोल लिटरमा १८ रुपियाँ २१ पैसा, डिजेल २२ रुपियाँ ९५ पैसा, हवाई इन्धन आन्तरिकतर्फ ११ रुपियाँ ८१ पैसा सस्तो रहेको छ। भारतमा पेट्रोल खुद्रा बिक्री मूल्य लिटरको १ सय १९ रुपियाँ २१ पैसा, डिजेल १ सय रुपियाँ ९५ पैसा विक्री हुँदै आएको छ।

आईओसीबाट निगमले भने झन्डै दोब्बर मूल्य कममा इन्धन खरिद गर्दै आएको छ। निगमले सस्तोमा इन्धन खरिद गरेको भए पनि सरकारले लगाउने सम्पूर्ण सरकारी करसहित जोडेर बेच्दा इन्धनको मूल्य महंँगो पर्न गएको हो।

निगमले आईओसीसँग पेट्रोल लिटरको ५३ रुपियाँ ६० पैसा, डिजेल ५४ रुपियाँ ७१ पैसा, मट्टीतेल ५३ रुपियाँ ९५ पैसा, हवाई इन्धन ५२ रुपियाँ ६९ पैसा लिटरका दरले खरिद गर्दै आएको छ। हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय प्रतिलिटर ५२ रुपियाँ ६९ पैसा, खाना पकाउने ग्यास सिलिन्डरको १ हजार १ सय ९ रुपियाँ ५८ पैसामा खरिद गदै आएको छ।

सरकारले लगाउने भन्सार शुल्क, सडक मर्मतसम्भार कर, बूढीगण्डकी जलविद्युत्का लागि पूर्वाधार कर, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष, मूल्य अभिवृद्धि कर, ढुवानी भाडा, बीमा खर्च, निगमको प्रशासनिक खर्च, प्राविधिक नोक्सानी, बिक्रेताको नाफासमेत जोडिँदा उपभोक्ता महंँगोमा इन्धन किन्न बाध्य भएका हुन्।

प्रतिक्रिया दिनुहोस्