पर्वतको फलेबास नगरपालिकाले सडकको मापदण्ड तयार गर्ने



दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको फलेबास नगरपालिकाले नगर क्षेत्र भित्रका सबै सडकको मापदण्ड तयार गर्ने भएको छ ।
नगरपालिकाले ब्यबस्थित नगर बनाउने अभियान अनुरुप दुई हप्ता भित्र मापदण्ड तयार गर्न लागेको हो । सडक मापदण्ड तयार नभए सम्म संरचना निर्माण कार्य समेत रोक लगाएको छ ।
फलेबास नगर उन्मुख क्षेत्र भएकाले नयाँ बस्ती बिकास गर्न पनि सडकको मापदण्ड तोक्न लागिएको कार्यकारी अधिकृत मोतीराम सापकोटाले जानकारी दिए । नगरपालिकाले हरेक सडक कम्तीमा दुई वटा सवारी साधन सहज रुपमा आवत जावत गर्न सक्ने गरि तोकिने उनले बताए ।

‘दिर्घकालिन रुपमा सडक साँघुरो नहोस भनेर अहिले नै मापदण्ड तोकेर सोही अनुसार संरचना बनाउन अनुमति दिन लागेका हौ’ उनले भने ।
नगरपालिकाले पौषको तेस्रो हप्ता सम्म मापदण्ड तयार गरि सक्ने लक्ष्य लिएको नगरप्रमुख पदमपाणी शर्माले बताए । मापदण्ड तयार गर्न नगरपालिकाको प्राबिधीक शाखाका इन्जिनियर र ओभरसियरहरु खटिएका छन ।

५० बर्ष पछिको फलेबासको आवश्यकतालाई हेरेर नगरभित्रका सडकको मापदण्ड तोकिने प्रमुख शर्माले बताए । ‘अहिले थोरै मापदण्ड राख्दा भोलि समस्या नहोस भनेर नयाँ बन्ने शहर भएकाले सोही अनुसारको मापदण्ड तयार हुन्छ’ उनले भने ‘अहिले कसैलाई मर्का परे पनि सम्बृद्ध फलेबास नगर बनाउने अभियानलाई यसले सहयोग पु¥याउँछ ’
फलेबास नगरपालिका भित्र अहिले सम्म झण्डै ३ सय किलोमिटर कच्ची सडक बनि सकेको छ ।
कालीगण्डकी लोकमार्गमा पर्ने मुडिकुवा देखि पाङ्गराङ्ग सम्मको सडक राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार राखिने भएको छ भने जैमिनुघाट देखि खानीगाउँ, थापाठाना हुँदै कार्किनेटा जोडिने सडकको मापदण्ड पनि राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार नै तयार गर्ने योजना नगरपालिकाको छ । यस बाहेक सडक बिभागले तोकेको मापदण्डका आधारमा भित्री र अन्य सडकको पनि मापदण्ड तयार हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्