बुधबार पनि नेप्से ओरालो



नेपाल समाचरापत्र
काठमाडौं
साताको चौथो दिन बुधबार पनि नेप्से ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेको अवस्थामा छरिएको रकम शेयर बजारमा आउनेक्रम जारी रहेपनि परिसूचक भने ओरालो लागेको हो। बुधबार नेप्से ९ दशमलव २९ अंक घटेर १ हजार ४ सय ८४ दशमलव ४७ अंकमा पुगेको छ।

बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्दा कारोबार रकम पनि घटेको छ। मंगलबार ५९ करोड ९३ लाख रुपियाँको शेयर कारोबार भएको बजारमा बुधबार ४२ करोड ४३ रुपियाँको मात्र कारोबार भयो। यस दिन बजारमा १ सय ५५ कम्पनीका ९ लाख ८३ हजार कित्ता शेयर किनबेच भए।

यस दिन कारोबारमा आएका सबै समूह ओरालो लाग्दा नेप्से परिसूचक पनि ओरालो लागेको हो। तीमध्ये बीमा समूह सबैभन्दा धेरै ४३ दशमलव ४९ अंकले ओरालो लाग्यो। त्यस्तै उत्पादनमूलक र जलविद्युत् समूहका उपसूचकमा पनि क्रमशः ३५ दशमलव ८१ र २६ दशमलव ६६ अंकका गिरावट आए।

नेप्से परिसूचक घट्दा बुधबार ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ०७ अंकले घटेर ३ सय १२ दशमलव ६८ मा पुगेको छ।

अघिल्लो दिनझैं यस दिन पनि नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा बढी शेयर किनबेच भएको छ। कम्पनीका ४ करोड ९ लाख रुपियाँ बढीको शेयर कारोबार भएको हो। बुधबार सबैभन्दा धेरै कमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता रहे। बैंक लगानीकर्ताले सर्वाधिक ६ दशमलव ७१ प्रतिशत कमाउँदा हिमालयन डिस्टिलरीका लगानीकर्ताले ७ दशमलव ५५ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस्