गाउँमा गाईफार्म, मासिक ३५ हजार नाफा



सिर्जना पन्त, बागलुङ ।
विदेशी मोहलाई त्यागेर पशुपालन गरेका बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका एक कृषकले राम्रो आम्दानी गर्दै आइरहेका छन् । २०६८ सालबाट गाईफार्म सञ्चालन गरेका ३८ बर्षका हरिबहादुर रानाले सुरुका बर्षमा राम्रो आम्दानी गर्न नसकेपनि अहिले सन्तुष्टी हुने गरी आम्दानी हुने गरेको बताउछन् ।

सुरुमा एउटा गाईलाई ६० हजार रुपैँयामा बाहिरी जिल्लाबाट खरिद गरी गोठ एवं अन्य व्यवस्थापनका लागि झण्डै १ लाख ५० हजार रुपैँयाको लगानीमा सुरु गरेका व्यवसाय फस्टाउदैँ गएको बताउँछन् । अहिले उनको फार्ममा ८ वटा जर्सी तथा स्थानीय जातका गाई छन् ।

लगानीलाई बढाएर १० लाख भन्दा बढि पु¥याइसकेका रानाले आगामी दिनमा थप व्यवस्थापनका साथ लाग्ने योजना बनाएका छन् । दैनिक बर्खाको समयमा ५० लिटर र सुख्खा समयमा २० लिटर सम्म दुध उत्पादन गरी सहकारी मार्फत दुध बिक्रि गर्दै आएको भन्दै उनले मासिक ३५ हजार रुपैँया नाफा कमाउने गरेको बताए । दुध बिक्रिका लागि बजारिकरणको कुनै पनि समस्या नरहेको भन्दै उनले माग अनुसार दुध उत्पादन गर्न नसकिएको बताउछन् । राना पशुपालन क्षेत्र संगै सामाजिक क्षेत्रमा पनि क्रियाशिल छन् । उनी २०६४ सालदेखी सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रही काम गर्दै आइरहेका छन् ।

२०५९ सालमा बैदेशिक रोजगारका लागि मलेशिया पुगेर ३ बर्ष पछि पुनः नेपाल फर्केका उनले किराना, फेन्सी पसल सञ्चालन गर्दै गाईपालनमा लागेका थिए । अन्य व्यवसायबाट राम्रो प्रतिफल नपाएपछि गाईपालन सुरु गरेको बताउछन् । घरेलु तथा साना उद्योग विकास समितिमा उनले राना गाई फार्मको नाममा दर्ता गरेका छन् ।

विगतमा सरकारी निकायबाट भकारो सुधार, घाँस काट्ने मेसिन, खेत जोत्ने मेसिन एवं घाँसका विउ लगायत धेरै अनुदान पाएको भएपनि अहिले सम्पुर्ण बजेट स्थानीय तहमा आएपछि कुनै अनुदान नपाएको गुनासो गरे । आफ्नै गाउँठाउँमा भएका स्रोत साधनलाई सदुपयोग गरी आम्दानी गर्नुपर्छ भन्ने सोचका साथ अगाडी बढेको उनले बताए । विदेशमा गएर दुःख अनुसारको आम्दानी गर्न नसकिने भन्दै रानाले परिवार संग बसेर काम गर्न पाउदा सन्तुष्ट भएको बताउछन् ।

उनले आफु जस्ता कृषकहरुलाई राज्यले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराए दैनिक बैदेशिक रोजगारमा गएका युवाहरुको संख्या पनि घट्ने बताएका छन् । स्थानीय तह पुनःसंरचना पछि राज्यले कृषकहरुलाई ध्यान नदिइरहेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्