व्यापार महोत्सवको विरोधमा व्यापारीहरु



हेटौंडा,(नेस) ।
हेटौंडाका स्वर्गीय पत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुरले आयोजना गर्ने भनिएको दोस्रो खेलकुद तथा व्यापार महोत्सवको व्यापारीहरुले विरोध गरेका छन् ।

यस प्रकारको व्यापार महोत्सवको आयोजना गर्दा बाहिरका व्यापारीहरु मात्र आउने, गुणस्तरहीन लत्ताकपडाको मात्र व्यापार हुने र यसका कारण मकवानपुरका व्यापारी विस्थापित हुने अवस्थामा पुग्ने भएका कारण विरोध गरिएको कपडा तथा तयारी पोशाक व्यवसायी संध मकवानपुर अध्यक्ष समिरलाल डंगोलले बताउनुभयो ।

भुकम्प, नाकाबन्दी र २५ मिटरको समस्याले व्यापारी आक्रान्त बनेको अवस्थामा बल्ल व्यापारको समयमा बाहिरका व्यापारीहरु आएर मेला महोत्सवको नाममा फेरि यस प्रकारको कार्य गर्दा यहाँका व्यापारी बाँच्नै नसक्ने अवस्थामा पुग्ने अध्यक्ष डंगोलले बताउनुभयो ।

विशुद्ध सामाजिक कार्यका लागिमात्र स्थापना भएको प्रतिष्ठानले व्यापार महोत्सव गर्न लागेको भन्दै विवाद उत्पन्न भएकोे हो । यस प्रकारको महोत्सवको मकवानपुर उद्योग वाणिज्य संघले पनि विरोध जनाएको छ ।

यस पटक सहयोगीका रुपमा रहेको औद्योगिक शान्ति नेपाल नामक संस्थाले १७ लाख रुपियाँमा महोत्सवको ठेक्का लिएको संस्थाका एक पदाधिकारीले बताएका छन् ।

व्यापार महोत्सवको स्थगित गर्न व्यापारीले माग गरेका छन् । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पेश गर्दै मेला स्थगनको माग गरेको हो । संघ अध्यक्ष डंगोलले प्रजिअ चक्रबहादुर बुढालाई ज्ञापनपत्र बुझाउनुभएको छ । अध्यक्ष डंगोलले यस प्रकारको व्यापार मेलाको आयोजना गर्दा यहाँका व्यापार व्यवसाय चौपट हुने अवस्था आउने हुनाले मेला स्थगन माग गरिएको बताउनुभयो ।

प्रजिअले स्थगनको निर्णय नगर्ने हो प्रतिकारमा उत्रने चेतावनी उहाँले दिनुभयो । यसको जिम्मेवार स्वयम् प्रमुख जिल्ला अधिकारी हुनुपर्ने अध्यक्ष डंगोलले चेतावनी दिनुभयो । यस सम्वन्धमा मकवानपुरका प्रजिअ बुढाले छलफल गर्न आयोजक संस्थालाई बोलाउने बताउनुभयो । पुस ७ देखि १८ सम्म हेटौंडामा मेला गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्