भारतको आन्दोलनले नेपाली सिमेन्ट उद्योग जोखिममा



कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्ज–पथलैया करिडोरमा सञ्चालित एक दर्जन सिमेन्ट उद्योग सीमावर्ती भारतीय शहर रक्सौलमा जारी प्रदूषणविरोधी आन्दोलनले जोखिममा पुगेका छन्। नेपाली सिमेन्ट उद्योगले कच्चा पदार्थ आयात गर्न रक्सौलस्थित रेलवे स्टेसन प्रयोग गर्ने गरेका छन्। त्यहाँ क्लिंकरलगायत ‘डस्टी’ (धुलोयुक्त) कार्गो अनलोड हुँदा त्यसबाट उड्ने धुलोले स्थानीयको जनजीवन नराम्ररी प्रभावित भएको भन्दै स्थानीय संघ–संस्थाले संयुक्त रूपमा आन्दोलन थालेका छन्।

वीरगन्जसँग जोडिएको यस नाकामा स्थानीय र भारतीय रेल्वेबीच जारी प्रदूषण विवादको चपेटामा नेपाली आयात पटक–पटक पर्ने गरेको छ। मुख्य रूपमा नेपालका पर्सा–बारा करिडोरका सिमेन्ट उद्योगले आयात गर्ने क्लिंकर, फलामको धुलो, जिप्सम, स्लेग, कोइलालगायत कार्गो लोड–अनलोड हुँदा उड्ने धुलोले जनजीवन प्रभावित भएको र मानिस रोगी हुन लागेको आन्दोलनकारीको गुनासो छ।

‘डर्टी कार्गो’ भनिने यस्ता सामानबाहेक खाद्यान्न, नुन, फलाम उद्योगले कच्चा पदार्थको रूपमा प्रयोग गर्ने विभिन्न खाले फलामलगायत वस्तु यही बाटो भएर नेपाल आउँछ। अहिले रक्सौलका विभिन्न संघ–संस्था र अगुवाले शुरु गरेको आन्दोलनअन्तर्गत आगामीे पुस १० (२५ डिसेम्बर) देखि नेपाल–भारत नाका नै अवरोध गर्ने तय गरिएको छ।

‘हामीले अहिले जागरणसभा, खबरदारी सभा गरिरहेका छौं, यो हाम्रो जीवन–मरणको सवाल होस त्यसकारण यसपटकको आन्दोलन निष्कर्षमा पु¥याएर मात्रै रोकिन्छ,’ आन्दोलनका संयोजक महेशकुमार अग्रवालले भन्नुभयो– ‘डिसेम्बर २५देखि नेपाल–भारत पारवहन हुने नाका हामी ठप्प पार्नेछौं।’ आन्दोलनकारीले गत वर्षकोे मंसिर २६ मा नाका ठप्प पार्दै धर्ना बसेका थिए। स्थानीय प्रशासनले समाधानको प्रतिबद्धता जनाएपछि धर्ना स्थगित गरिए पनि आन्दोलनका माग भने यथावत छन्। कि धुलो उड्ने कार्गो त्यहाँ अनलोड गर्न बन्द गर्नुपर्ने वा रेलवेले धुलो नियन्त्रण गर्न सक्ने संरचना निर्माण गर्नुपर्ने दुईवटा सर्त स्थानीयले राखेका छन्। रक्सौलस्थित रेल यार्डमा व्यवस्थित संरचना निर्माणको माग नेपाली आयातकर्ताले पनि राख्दै आएका छन्।

सीमापारि जारी आन्दोलनले नेपाली उद्योगी तथा आयातकर्ता चिन्तित बनेका छन्। यसले नेपाली सिमेन्ट उद्योगलाई बढी प्रभाव पर्ने र अर्बौंको लगानी समस्यामा पर्ने नारायणी सिमेन्ट उद्योगका प्रमुख सञ्चालक सज्जन चाचानले बताउनुभयो। पर्सा–बारा औद्योगिक करिडोरमा मात्र दर्जन जति सिमेन्ट उद्योग छन्। प्रतिदिन दुई सय ५० टनदेखि एक हजार ५० टनसम्म सिमेन्ट उत्पादन क्षमता भएका ती दर्जन उद्योगले दैनिक करिब आठ हजार टन सिमेन्ट प्रतिदिन उत्पादन गर्छन्। ती उद्योगले करिब १५ देखि २० प्रतिशत स्वदेशी क्लिंकर र बाँकी भारतबाट आयात गरेर सिमेन्ट तयार गर्ने गर्छन्।

अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी), पोजोलोना पोर्टल्यान्ड सिमेन्ट (पीपीसी) र स्ल्याग सिमेन्ट मुख्यरूपमा यहाँ उत्पादन हुने गरेको छ। सबैथरी सिमेन्ट उत्पादनका लागि क्लिंकर मुख्य कच्चा पदार्थ हो। क्लिंकरबाहेक सिमेन्ट उद्योगलाई चाहिने अरू कच्चा पदार्थ ‘स्ल्याग’, ‘लाइ–एस’ र ‘जिप्सम’ पनि सबै भारतबाटै आयात हुने गरेको उद्योगी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्