नेपाल–बंगलादेश व्यापार सहज बनाउन जोड



काठमाडौं, (नेस)
वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले बंगलादेशका वाणिज्य सचिव शुभाषिश बोससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। अर्जेन्टिनाको ब्युनर्स आयर्समा जारी विश्व व्यापार संगठनको सम्मेलनमा दुई देशका वाणिज्य सचिवबीच छलफल भएको हो।

भेटका अवसरमा नेपाल र बंगलादेशबीच व्यापार, ट्रन्जिट, कनेक्टिभिटी, व्यापार पूर्वाधार, पारवहन सहजीकरण तथा कम विकसित देशमा लगानी प्रवद्र्धनलगायतका विषयमा छलफल भएको थियो। भेटमा नेपाल र बंगलादेशबीच व्यापार तथा लगानीको प्रशस्त सम्भावनाका बाबजुत व्यापारले त्यति गति लिन नसकेको विषयमा पनि छलफल गरियो।

भेटमा सचिव घिमिरेले बंगलादेशले नेपाललाई उपलब्ध गराएको पारवहन मार्गको उपयोगको क्रममा नेपाली व्यापारीले प्रक्रियागत समस्याका अतिरिक्त पूर्वाधारजन्य सीमिताका कारण भोगिरहनु परेका जटिलतालाई यथाशक्य निवारण गरी नेपालको व्यापार लागत घटाउन सहयोग गरिदिन बंगलादेशका वाणिज्य सचिवसँग अनुरोध गर्नुभयो। उहाँले विगतमा बंगलादेशमा ठूलो परिमाणमा निर्यात भइरहेको नेपालको कुचोलगायतका वस्तुमा बंगलादेश सरकारले हालका दिनमा उच्च भन्सार महशुल लगाएको कारण निकासीकर्ताहरूलाई मर्का परिरहेको र नेपाली धागोको आयातमा लगाइएको प्रतिबन्धले नेपालको बंगलादेशतर्फको निर्यात प्रभावित हुन पुगेको हुँदा यस विषयमा आवश्यक सहजीकरण गरिदिन पनि अनुरोध गर्नुभयो। साथै, नेपाली व्यापारीहरूले फूलबारी–बंगलाबन्ध भन्सार नाकामा झेल्नुपरेका समस्या बारेमा बताउँदै घिमिरेले भन्सारमा व्यापार पूर्वाधार निर्माण तथा सुधारका लागि बंगलादेशी सरकारलाई आग्रह गर्नुभयो।

त्यस्तै बंगलादेशी वाणिज्य सचिव बोसले नेपालमा जलविद्युत्मा लगानी बढाउने इच्छा व्यक्त गर्नुभएको थियो। उहाँले बंगलादेशबाट नेपाल निर्यात हुँदै आएका औषधिजन्य उत्पादनबाट नेपालले फाइदा लिनुपर्ने बताउनुभएको थियो। उहाँले बंगलादेशी लगानीकर्ता नेपालमा जलविद्युत् तथा औषधि उत्पादनमा लगानी गर्न तयार रहेको पनि जानकारी दिनुभयो। सम्मेलनमा वाणिज्य मन्त्री घिमिरेले कम विकसित राष्ट्रको भेटमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो। आइतबार शुरू भएको सम्मेलन बुधबारसम्म चलेको थियो।

प्रतिक्रिया दिनुहोस्