होटल क्षेत्रमा ३३ अर्ब लगानी थपिँदै



नेपाल समाचारपत्र
काठमाडौं

पर्यटक आगमन उत्साहजनक नरहे पनि पर्यटकलाई लक्षित पूर्वाधार विकास भने तीव्र प्रगतिमा भइरहेको तथ्यांक छ। पछिल्लो १० महिनामा नेपालमा ७ लाख ५७ हजार पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागले जनाएको छ। यसबीचमा पर्यटक लक्षित होल क्षेत्रमा लगानी पनि उत्साहजनक रूपमा रहेको छ।

होटल संघ नेपालका महासचिव विनायक शाहका अनुसार भोलि राम्रो प्रतिफलका आशाका साथ पर्यटन व्यवसायीहरूले लगानी गरिरहेका छन्। राजनीतिक गतिरोधको अन्त्यसँगै देशले आर्थिक फड्को मार्ने विश्वासका लगानी बढाइरहेको शाहको भनाइ छ। राजनीतिक स्थायित्व, पूर्वाधारको विकास, सरकारी नीति नियम सकारात्मक रहेमा पर्यटक आगमनमा कमि नहुने दाबी शाहको छ। वातावरण अनुकुल हुँदै गएमा सन् २०२० मा २० लाख भित्र्याउन असम्भव नरहेको तर पूर्वाधार विकास गर्नुपर्नेमा शाहको जोड छ।

पर्यटनविद् प्रचन्डमान श्रेष्ठले भारत र चीनका नागरिकमा भ्रमण गर्ने परम्परा बढ्दै गएको बताउनुभयो। भोलिको आशा देखेर पनि नेपालमा लगानी बढेको श्रेष्ठको पनि धारण छ। पर्यटनमैत्री वातावरण, पर्यटकलाई सुरक्षाको प्रत्याभूति र पूर्वाधारको विकास गर्न सके नेपालको पर्यटन व्यवसाय उज्ज्वल रहेको धारणा श्रेष्ठको रहेको छ। अर्को अन्तर्राष्ट्रिय विमानस्थल भएमा मात्रै पनि पर्यटन आगमन हालको भन्दा दोब्बर हुने विश्वास श्रेष्ठको छ।

पर्यटन विभागका अनुसार १० महिनामा १९ पर्यटकीय होटल दर्ता भएका छन्। जसमध्ये ३ तारे होटलको संख्या ३ र ४ तारे होटल संख्या २ रहेको छ। पर्यटक विभागमा हालसम्म दर्ता भएको १ तारे होटलको संख्या ३६ रहेको छ भने,२ तारे होटलको संख्या ५० रहेको छ। ३ तारे होटलको संख्या ४१ रहेको छ भने ४ तारे होटलको संख्या ४ रहेको छ। ५ तारे होटलको संख्या ११ रहेको छ। त्यस्तै पर्यटकस्तरीय होटलको संख्या ४ सय ८० रहेको छ। पर्यटन विभागका अनुसार सन् २०१९ सम्म थप १० वटा पाँच तारे होटल थपिँदै छन्। आगामी तीन वर्षमा पर्यटन क्षेत्रमा ८३ अर्ब रुपियाँ लागानी गर्न लक्ष्य रहेकोमा ८ अर्ब सरकारले र बाँकी निजी क्षेत्रले लगानी गर्ने अपेक्षा राखिएको छ।

सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको छ। होटल क्षेत्रमा थप ३३ अर्ब लगानी हुँदैछ। सन् २०२० सम्म ४ हजार नयाँ बेड थपिँदै छन्। यसपछि कुल बेड क्षमता ४२ हजार पुग्नेछ। होटल एसोसिएसनका अनुसार ४ हजार बेडमध्ये २ हजार काठमाडौंमा थपिने छन्।

प्रतिक्रिया दिनुहोस्