आयातित तरकारीको मूल्य चर्को



नेपाल समाचारपत्र
काठमाडौं
दशैं तिहारलगायतका चाडबाड शुरू भएसँगै अस्थिर देखिएको तरकारीजन्य वस्तुको मूल्य अझै घट्न सकेको छैन। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले माग अनुसार आपुर्ति हुन नसक्दा मूल्य बढेको जनाएको छ। तर, मूल्य आकासिएका अधिकांश तरकारीजन्य वस्तु आयातित रहेको देखिएको छ।

चाडबाडका बेला उच्च देखिएको मागको अवस्थाले चुनावको बेला पनि निरन्तरता पाएको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जारी गर्ने दैनिक मूल्यसूची अनुसार सबैभन्दा मूल्य बढेका वस्तुहरूमा काउली, गोलभेंडा, प्याज, हरियो तरकारीलगायत छन्। यी वस्तु नै नेपालले भारतबाट बढी आयात गर्ने गरेको छ।

उपत्यकाको औसत माग साढे ६ सय मेट्रिक टन हो। अहिले पनि सोही अनुपातमा तरकारी दैनिक रुपमा आपूर्ति भइरहेको समितिले जनाएको छ। तर, आन्तरिक रुपमा उत्पादन निकै घटेको छ भने भारतबाट आयात बढेको छ। समितिका अनुसार तरकारीमा कुल बजारको ४५ प्रतिशतभन्दा बढी भारतबाट आयातित तरकारीले ओगट्दै आएको थियो। पछिल्लो दुई महिनामा भने आयातको अवस्था बढेर ७० प्रतिशतसम्म पुगेको छ। त्यसमा पनि केही वस्तुको आयात उच्च देखिन्छ। केही अघिमात्र १ सय २५ रुपियाँसम्म पुगेको काउली र प्याजको मूल्य अझै घट्न सकेको छैन। कालीमाटी फलफूल तथा तरकारी बजारको बुधबारको मूल्यसूचीअनुसार गोलभेंडा प्रतिकिलो १ सय १० रुपियाँ, प्याज १ सय १० रुपियाँ, गाजर १ सय १५ रुपियाँ, परवर र भिन्डी १ सय ५ रुपियाँ, जिरी, पार्सले, सेलरीलगायत सागको १ सय १५ रुपियाँ किलो मूल्य देखिएको छ। सुख्यायाममा यी वस्तु नेपालमा कम मात्रामा उत्पादन हुने हुँदा भारतकै भर पर्नुपर्ने अवस्था रहेको छ।

कालीमाटी बजारका व्यापारीले बजारमा तरकारी आपूर्तिमा कमि आएपछि मूल्य बढेको तर्क गर्छन्। असोज–कात्तिकपछि तरकारीको उत्पादनमा तुलनात्मक रुपमा कमि आउने तथा माग र आपूर्तिको सिद्धान्तमा सन्तुलन आउन नसक्दा मूल्य बढेको व्यापारीले सजिलै जवाफ फर्काउन्छन्। अरूबेला प्रशस्त तरकारी पाइने कालिमाटी र बल्खु कृषि तथा तरकारी बजारमा अहिले पनि माग अनुसार नै तरकारी उपलब्ध छ। तर, मूल्य अझै किन घटेन भन्ने कुरामा भने सम्बन्धित निकायसँग पनि जवाफ छैन।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक तेजेन्द्र पौडेलका अनुसार आयातित तरकारीबाट उपभोक्ता मूल्यमा मात्र नभई गुणस्तरमा पनि ठगिँदै आएका छन्। बजार विकास समितिले विभिन्न तरकारीजन्य वस्तुमा नमुनाका रुपमा गरेको परीक्षणमा भारतबाट आयातित वस्तुमा अत्याधिक विषादि पाइने गरेको भेटिन्छ। सबैभन्दा बढी गोलभेंडा र काउलीमा अत्याधिक मात्रामा विषादि भेटिएको गरेको छ।

उपत्यकामा मुख्यगरी काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सर्लाही, चितवन, सिन्धुपाल्चोक, भक्तपुरलगायत स्थानबाट तरकारी आउने गर्दछ। निर्वाचनको बेला कामदारको अभावमा तरकारी बजारसम्म पुग्न नसकेको र मूल्यमा केही वृद्धि देखिएको पनि समितिका अधिकारीहरूले तर्क गर्ने गरेका छन्। तर, समितिको मूल्यसूचीलाई आधार मान्ने हो भने आयातित वस्तुको आयातमा मूल्य बढी देखिन्छ।

प्रतिक्रिया दिनुहोस्