अनुगमन नहुँदा मूल्यवृद्धि उच्च



काठमाडौं, (नेस)
पछिल्लो समयमा सर्वसाधारणले दैनिक उपभोग्य सामानको मूल्य साविकको भन्दा चर्को तिर्नुपरेको छ। चुनावको बेला अनुगमन नहुने भएकाले व्यवसायीहरूले उपभोक्ताबाट चर्को मूल्य असुल्दै आएको सरोकारवालाहरूको भनाइ छ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनअनुसार व्यवसायीको चुनावका बेला पैसा असुल्ने योजनाका कारण बजारमा मूल्यवृद्धि उच्च रहेको छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै महर्जनले भन्नुभयो– ‘े मूल्यवृद्धिले बजारमा प्रभाव पार्नुको मूल कारण राजनीति हो। चुनावको समयमा राजनीतिक दलका भड्किलो खर्च नै बजारमा पैसाको प्रवाह बढाउने मूख्य कारण हो।’ उहाँका अनुसार अहिले बजारमा देखिएको मूल्यवृद्धि धेरै ठूलो होइन। चुनाव सकिएपछि यो दर विस्तारै बढ्दै जाने उहाँको दाबी छ। उहाँले भन्नुभयो– ‘चुनावको समयमा हुने पैसाको प्रभाव तत्कालका लागि कमै देखिए पनि चुनावको एक हप्तापछि क्रमशः देखा पर्न थाल्छ। यतिबेला सबैको ध्यान चुनाव तथा चुनावी परिणाममा जाने भएकाले मूल्यवृद्धितर्फ चासो हुँदैन।’

उभोक्तासँग सिधै सम्पर्कमा रहने आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग चुनावको अवसरमा बजार अनुगमन गर्न नसकिएको स्वीकार्छ। चुनावको समयमा कर्मचारी मतदानस्थलमा खटिने हुँदा अनुगमन गर्ने कर्मचारी अभाव भएको विभागका महानिर्देशक कुमारप्रसाद दाहाल बताउनुहुन्छ। सबै कर्मचारी चुनावमा गएको हुँदा अहिले कार्यालयमा आफूसहित ३ जना मात्र रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो– ‘चुनावको समयमा अनुगमन गर्न नसकिए पनि मंसिर २२ गतेदेखि कार्यतालिका अनुसार अनुगमनमा जान्छौं।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचन सकिएको एक हप्ताभित्रै थेग्नै नसक्ने गरी मूल्यवृद्धि भएको थियो। त्यसैको परिणाम सो वर्षको वार्षिक मुद्रास्फ्रिति १४ प्रतिशत पुगेको थियो। पछि त्यो विस्तारै घटेर ९ दशमलव ९ प्रतिशतबाट ९ दशमलव १ प्रतिशत हुँदै ७ दशमलव २ प्रतिशतमा सीमित भएको थियो।अहिले पनि त्यसै गरी मूल्यवृद्धि भएको हुँदा निर्वाचनपछि उपभोक्ताले थेग्न नसक्ने गरी महँगी हुने सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्