सडकको गति सुस्त, सवारीको चाप तीव्र



दीपेन्द्र थापा, काठमाडौं
सवारी साधन थपिने क्रमको तुलनामा सडक विस्तारको क्रम भने सुस्त गतिमा देखिएको छ। पछिल्लो समयमा औसत साढे ४ लाख सवारी साधन थपिने गरेका छन्।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ४ लाख ४४ हजार २ सय ५९ सवारी साधन दर्ता हुँदा सडक ६ सय ३० किलोमिटर निर्माण एवम् कालोपत्रे भएको छ। सडक विभागका सिनियर डिभिजन इन्जिनियर रमेशकुमार सिंहका अनुसार गत आर्थिक वर्षमा १ हजार ५४ किलोमिटर नयाँ सडक बनाउने लक्ष्य लिएकोमा ८ सय ९ किलोमिटर सडकको ट्रयाक खोल्ने काम भएको छ भने माटोस्तरको सडकमा ९ सय ९२ किलोमिटर स्तर उन्नती गरिएको छ। यस्तो सडक १ हजार ५५ किलोमिटर बनाउने लक्ष्य राखिएको थियो।

त्यस्तै ७ सय २७ किलोमिटर कालेपत्रे सडक बनाउने लक्ष्यमा ६ सय ३० किलोमिटर कालोपत्रे भएको छ। साथै गत आर्थिक वर्षमा सय वटा पुल निर्माण गर्न लक्ष्य राखिएकोमा ७२ पुल निर्माणको क्रममा छन्। सडक विभागको कार्य क्षेत्रभित्र १५ हजार किलोमिटर सडक रहेको भए पनि स्थानीयस्तरको केही सडकसमेत विभागले बनाउने हुँदा २९ हजार १ सय १७ किलोमिटर सडक बनाउँदै आएको छ। स्थानीयस्तरमा पनि सडकको विस्तार हुने हँुदा त्यसको तथ्यांक विभागसँग छैन। देशभर गरी करिब ८६ हजार सडक रहेको विभागले जनाएको छ।

प्रत्येक वर्ष २० देखि ३० प्रतिशतले सवारी साधानको वृद्धि भइरहेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले बताउनुभयो।
उपत्यकाको १६ सय ५० किलोमिटर सडकमा दैनिक १० लाखभन्दा बढी सवारी साधन गड्ने गर्दछन्। यातायात व्यवस्था विभागमा हालसम्म सबै प्रकारका सवारी गरी २७ लाख ८३ हजार ४ सय २८ दर्ता भएको तथ्यांक छ। विभागका अनुसार तीमध्ये सबैभन्दा बढी बाग्मती अञ्चल कार्यालयमा मात्रै १० लाख ४२ हजार ८ सय ५६ वटा साना तथा ठूला सवारी साधन दर्ता भएको देखिन्छ। ८ लाख ७६ हजार ४ सय ७३ दुईपाङग्रे सवारी रहेका छन्।

देशभर दुईपांग्रे सवारी साधनको संख्या २१ लाख ८९ हजार ९९ रहेको छ। गत आर्थिक वर्षमात्रै ३ लाख ५४ हजार ७१ दुईपांग्रे दर्ता भएका थिए। यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७३⁄७४ मा मात्रै सवारी साधनबाट २० अर्ब ३२ करोड २९ लाख ६२ हजार रुपियाँ राजस्व संकलन भएको छ। यो राजस्व विभागले विभिन्न सडक कर र सेवा दस्तुरलगायतका करवापत गरेको हो। त्यस्तै २०७२⁄७३ मा १३ अर्ब ८१ करोड ३९ लाख २९ हजार, आव २०७१⁄७२ मा १२ अर्ब १५ करोड ५४ लाख ९० हजार रुपियाँ राजस्व संकलन भएको थियो।

त्यस्तै भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७३⁄७४ मा ७९ अर्ब ४९ करोड ९३ लाख रुपियाँ बराबरको सवारी साधन तथा पार्टपूर्जा आयात भएको छ। २०७४⁄७५ को पहिलो तीन महिनामा २२ अर्ब ४७ करोड ३४ लाख ३३ हजार रुपियाँको सवारी साधन र त्यसका पार्टपूर्जा आयात भएको छ।

प्रतिक्रिया दिनुहोस्