आजदेखि चेम्बर एक्स्पो



नेपाल समाचारपत्र
काठमाडौं
बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०१७ आयोजना हुँदै छ। नेपाल चेम्बर अफ कमर्सको आयोजना तथा व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको सहयोगमा हुने मेला मंसिर १८ गतेसम्म जारी रहने छ।

एक्स्पोको उद्घाटन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ। ५ दिनसम्म चल्ने मेलामा करिब ३ लाखभन्दा बढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा आयोजकको रहेको छ।

मेलाबारे जानकारी दिन बुधबार आयोजित कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक, औद्योगिक एवम् वाणिज्य क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको सहजीकरणका लागि एक्स्पो आयोजना गरिएको बताउनुभयो। तेस्रोपटक आयोजना गरिएको मेलामा बी–टू–बीजस्ता ब्रान्डिङ कार्यक्रम रहेको उहाँको भनाइ छ।

एक्स्पोमा नेपालसहित कोरिया, थाइल्यान्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठ वटा मुलुकको सहभागिता रहने जनाइएको छ। यसपटक प्रस्तुत मेलामा दक्षिण कोरियाले पार्टनर मुलुकको हैसियतमा सहभागिता जनाउने छ भने थाइल्यान्ड फोकस मुलकुको रूपमा सहभागी हुने छ।

मेलामा कुल २ सय २५ वटा स्टल रहने जनाइएको छ। ९० स्टलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कम्पनी, उद्योगी व्यवसायीको सहभागिता रहने छ। एक्स्पोमा अटोमोबाइल, विद्युतीय घरायसी तथा फनिर्सिङ सामग्री, फेसनदार न्याना कपडा, खानाका परिकार, मोबाइल तथा ग्याजेटका सामान पाइने छन्। मेलामा कोरियाको २३ र थाइल्यान्डका १५ वटा स्टल रहने छन्।

प्रतिक्रिया दिनुहोस्