उद्योगमा एघार अर्ब लगानी



दाङ, यहाँ स्थापना भएका उद्योगमा रु १० अर्ब ९५ करोड १७ लाख ४० हजार लगानी भएको छ ।

उद्योग विकास शाखा दाङमा २०७४ साल असार मसान्तसम्म दर्ता कायम रहेका विभिन्न ५४ प्रकारका उद्योगमा उक्त लगानी भएको हो ।

उक्त लगानी सिमेन्ट उद्योग बाहेकका अन्य उद्योगको भएको उद्योग अधिकृत उमबहादुर वलीले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म चार हजार ९०२ वटा उद्योग अहिलेसम्म खुलेको र दर्ता भएको बताउनुभयो ।

जिल्लामा सबैभन्दा धेरै कुटानी पिसानी र च्युरा मिल उद्योग ७४८ वटा दर्ता भएको छ । त्यसैगरी होटल, रेस्टुराँ उद्योग ६२२, पोल्टी फिड ५८६, सः मिल तथा फर्निचर उद्योग ३६५, ग्रिल उद्योग २२३ र निर्माण सेवा २५५ वटा दर्ता भएका छन् ।

कृषि बहुउदेश्यीय उद्योग तीन सय ७ र पशुपालन उद्योग ३३२ वटा दर्ता भएका छन् । ती ५४ प्रकारका उद्योगले वार्षिक रु आठ अर्ब, ६७ करोड ६२ लाख ३७ हजार १६२ मेट्रिक टन उत्पादन गर्ने गरेको वलीले जानकारी दिनुभयो । ती उद्योगमा २२ हजार ९८१ जनाले रोजगारी पाएका छन् ।

चालु आवको पहिलो चौमासिकमा तीन सय आठवटा उद्योग दर्ता भएका छन् भने रु ४१ करोड ९५ लाख ७५ हजार लगानी हुनुका साथै एक हजार १९ जनाले रोजगारी पाएका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्