निर्वाचनलाई शेयर बजारको ग्रिन सिग्नल



काठमाडौं, (नेस)
प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचन भएको दिन नेप्से परिसूचक २१ दशमलव शून्य ५ अंकले बढेको छ। साताको पहलिो दिन शेयर बजार १ हजार ४ सय ९३ दशमलव २९ अंकबाट शुरू भएको बजार १ हजार ५ सय १४ दशमलव ३४ को बिन्दूमा पुगेर बन्द भएको हो। अघिल्लो साताको पहलिो दिनदेखि सकारात्मक रहने क्रम जारी रहेको शेयर बजार परिसूचक आइतबार सकारात्मक रहेको हो।

आइतबार नेप्से परिसूचक बढ्दा कारोबार रकममा भने गिरावट आएको छ। आइतबार बजारमा ५९ करोड ७५ लाख १४ हजार ७२ रुपियाँको कारोबार भएको छ। यसक्रममा १ सय ५५ कम्पनीका १० लाख ८३ हजार ५ सय ८८ कित्ता शेयर किनबेच भए। बिहीबार बजारमा ६८ करोड ५७ लाख २८ हजार ३ सय ५५ रुपियाँको शेयर किनबेच भएको थियो। निर्वाचनको समयमा बजारमा अल्पकालीन तरलता बढ्नु तथा अधिकांश कम्पनीको शेयर मूल्य घट्दा बजारमा खरिद चाप परेको हो। जसको कारण बजार परिसूचक उकालो लागेको बताइएको छ।
आइतबार शेयर बजारमा कारोबार शुरू भएदेखि दिनभरि बजार बढ्दा बजारले गति लिएको हो। नेप्से परिसूचक बढ््दा आइतबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ७२ अंकले बढेर ३ सय १९ दशमलव १५ अंकमा पुगेको छ।

आइतबार कारोबारमा आएका १० वटा समूहमध्ये ट्रेडिङ समूहबाहेक सबै समूहका परिसूचकमा सुधार आएको छ। बढ्नेमा जलविद्युत् समूह सर्वाधिक ३ दशमलव ५६ प्रतिशतले बढ्यो। त्यस्तै अन्य समूह १ दशमलव ६३ प्रतिशतले बढ्दा लघुवित्त र बैंकिङ समूह क्रमशः १ दशमलव ६१ र १ दशमलव ४६ प्रतिशतले बढे। विकास बैंक समूहमा १ दशमलव शून्य ८ र बीमा समूहमा पनि १ दशमलव शून्य ३ अंकको सुधार आयो। आइतबार बढ्नेमा अन्य समूहमा वित्त, उत्पादनमूलक र होटल समूह रहे। ती समूह क्रमशः शून्य दशमलव ३७, शून्य दशमलव ३३ र शून्य दशमलव शून्य ७ प्रतिशतले बढे। घट्नेमा ट्रेडिङ समूह २ दशमलव ९४ प्रतिशतले ओरालो लाग्यो। अंकका आधारमा बीमा समूह सर्वाधिक ८२ दशमलव १२ र जलविद्युत् ६८ दशमलव ५ अंकले उकालो लागे।

आइतबार स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयरको सबैभन्दा बढी कारोबार भएको छ। बैंकका ६ करोड ८६ लाख रुपियाँभन्दा बढिको शेयर किनबेच भएको छ। त्यस्तै नेपाल बैंकको पनि ५ करोड ५९ लाखभन्दा बढिको कारोबार छ।

आइतार सबैभन्दा धेरै कमाउनेमा नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ता रहे। बैंकका शेयरधनीले १० प्रतिशत कमाउँदा विशाल बजार कम्पनीका शेयरधनीले सबैभन्दा धेरै ४ दशमलव ८७ प्रतिशत गुमाए। आइतबार कर्णाली डेभलपमेन्ट बैंकको शेयर ९ दशमलव ७७ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्