चौधरी ग्रुपले पौने ८ अर्ब राजस्व तिर्यो



 

काठमाडौं, (नेस)
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले नेतृत्व गरेको औद्यँेगिक समूह चौधरी ग्रुपले सरकारलाई आफ्ना विभिन्न कम्पनीमार्फत् गत आर्थिक वर्षमा ७ अर्ब ८८ करोड रुपियाँ राजस्व तिरेको जनाएको छ। यो आर्थिक वर्ष २०७२÷७३ को तुलनामा ४० प्रतिशत बढी रहेको चौधरी ग्रुपद्वारा जारीे विज्ञप्तिमा भनिएको छ। आर्थिक वर्ष २०७२÷७३ मा ग्रुपले कुल राजस्वमा १ दशमलव ४८ प्रतिशत योगदान गरेको र गत आर्थिक वर्षमा १ दशमलव ५९ प्रतिशत योगदान गरेको दाबी गरेको छ।

आर्थिक वर्ष २०७२÷७३ मा राज्यलाई ५ अर्ब ५९ करोड रुपियाँ राजस्व तिरेको ग्रुपले आन्तरिक राजस्व विभागले गर्ने सम्मानमा व्यावसायिक घरानाको विषय नसमेटिएको उल्लेख गर्दै राष्ट्रिय कर दिवसका सन्दर्भमा विभिन्न समूहबाट अधिक कर बुझाउने व्यक्तिका रूपमा सम्मानित करदातालाई चौधरी ग्रुप बधाई दिएको छ। साथै राज्यद्वारा यसरी गरिने वर्गीकरण र सम्मानले करदातालाई राष्ट्रिय अर्थतन्त्रमा सघाउन र विकास प्रक्रियामा योगदान दिनका लागि उत्प्रेरित गर्ने जनाएको छ। शेयरधनीले लाभांश लिनुअघि कम्पनीले नै ऐनअनुसार राजस्व तिर्ने गरेको भन्दै राजस्व तिरिसकेपश्चात् मात्र लाभांश प्राप्त गर्ने हुनाले शेयरधनीले राजस्व तिरे पनि व्यक्तिगत करको रूपमा प्रतिबिम्बित हुने गरेको चौधरी ग्रुपलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्