टानमा दाहालको नेतृत्व



 

काठमाडौं,(नेस)
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहाल विजयी हुनुभएको छ । आइतबार टानको ३९औं वार्षिक साधारण र निर्वाचनमा अर्का अध्यक्षका प्रत्यासी मोहन लम्साललाई १८ मतले पराजित गर्दै दाहाल विजयी हुनु भएको हो।

दाहालले ३ सय ३१ मत ल्याउनु भएको थियो भने लम्सालले ३ सय १३ मत ल्याउनु भएको थियो । अर्का अध्यक्षका प्रत्यासी उम्मेवार नुरुजाङ्बु शेर्पाले ५० मत प्राप्त गर्नु भएको थियो। ११ सय ८६ मतदाता रहेको टानमा ७ सय २७ मत अर्थात ६१ प्रतिशत मात्र मत खसेको थियो।

निर्वाचित दाहाल गणतान्त्रिक स्टोनियाका लागि नेपाली वाणिज्यदूत हुनुहुन्छ। मत परिणाम घोषणापछि दाहालले टानलाई नयाँ उचाईमा पुर्याउने, व्यावसायिक हकहितको लागि काम गर्ने र नेपालको पर्यटन विकासमा टेवा पुर्याउने काम आफ्नो कार्यकालमा गर्ने बताउनुभयो।

टान निर्वाचन समितिकाअनुसार अध्यक्षसहित दाहाल समूहबाट पदाधिकारीमा प्रथम उपाध्यक्ष जीवन थापामगर, महासचिव आङपेम्वा शेर्पा, सचिव सुजन लामिछाने, कोषाध्यक्ष रामकृष्ण तिमिल्सिना सहकोषाध्यक्षमा तारा राना निर्वाचित हुनुभएको छ। लम्साल समूहबाट भने वरिष्ठ उपाध्यक्ष खुमबहादुर केसी, द्वितीय उपाध्यक्ष नीलहरी बास्तोला र महिला सदस्य र अन्य २ सदस्य पदमा निर्वाचित भएका छन्। कार्यसमिति सदस्यमा ऋतु ग्याम्देन, रवीन्द्र अधिकारी, राजनप्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुकबहादुर लामा, शेरबहादुर परियार र जंगबहादुर लामा निर्वाचित हुनुभएको हो।

प्रतिक्रिया दिनुहोस्