विल गेट्स र वरेन वाफेटभन्दा पनि पुटिन धनी !



 

नेपाल समाचारपत्र
काठमाडौं
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कुल सम्पत्ति कति छ भन्ने कुरा कतै पुष्टि हुनसकेको छैन। तर, पुटिन बिल गेट्स र वरेन वाफेटभन्दा धनी छन् भने खबर पढ्दा धेरैलाई अचम्म लाग्न सक्छ। विश्व जगतमा मुलधारको व्यापारलाई नै परिवर्तन गर्ने मात्र होइन व्यापार र नाफाको परिभाषामा पनि परिवर्तन नै गरेका विल गेट्सभन्दा पुटिन कसरी धनी भए त ?

चर्चित अन्र्ताष्ट्रिय पत्रिका ‘द रिचेस्ट’ का अनुसार पुटिनसँग २ खर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति रहेको छ। उक्त पत्रिकाले रुसका राष्ट्रपतिको सम्पत्ति विश्वका महा धनाढ्यहरूको भन्दा बढी रहेको र पुटिन विश्वका सबैभन्दा धनाढ्य राजनीतिज्ञ रहेकोमा पनि दुईमत नरहेको उल्लेख गरेको छ। पुटिनको सबैभन्दा ठूलो लगानी इन्धन, ऊर्जा, हतियार र जग्गामा लगानी रहेको छ।

अर्को पत्रिका न्युजविकले पनि पुटिनको सम्पत्ति २ सय अर्ब अमेरिकी डलरभन्दा बढी रहेको उल्लेख गरेको छ। न्युजविकका अनुसार पुटिनले वार्षिक १ लाख ३५ हजार ७ सय ३६ अमेरिकन डलर र मासिक ११ हजार ३ सय ११ अमेरिकी डलर तलब बुझ्ने गरेका छन्। यसरी हेर्दा दैनिक ३ सय ७२ अमेरिकी डलर हुन जान्छ। उनले सन् २०१५ मा आफू र आफू मातहतका कर्मचारीले तलबको १० प्रतिशत नलिने घोषणा गरेका थिए। तर, वार्षिक तलबले मात्र उनको सम्पत्ति कसरी खर्बौँ रुपियाँ पुग्यो भने स्रोत भने खुलाइएको छैन।

गत जुलाई महिनामा हर्मिटेज क्यापिटल म्यानेजमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिल ब्राउडरले अमेरिकी सिनेटमा दुई अमेरिकी धनाढ्य विल गेट्स र जेफ बेजोजको सम्पत्ति जोड्दा पनि भ्यादिमिर पुटिनको सम्पत्ति बढी छ भनेपछि उक्त भनाइ निकै चर्चित भएको थियो। लामो समय रुसमा व्यवसाय गरेका ब्राउडरले सरकारी कम्पनी ग्याजपोर्म, ओएओ युनिफाईड इनर्जी सिस्टम अफ रसियासँग समन्वय गरेर व्यवसाय गरेका थिए। तर, सन् २००० मा उनको कम्पनीलाई रुसी सरकारले कालोसूचीमा राखेपछि अमेरिका फर्किएका थिए।

 

ब्राउडरको भनाइलाई आधार मान्ने हो भने पुटिनले आफ्ना आफन्त, नातेदारका नाममा दर्जनभन्दा बढी व्यावसायिक क्षेत्रमा लगानी रहेको छ। ती कम्पनीहरूका लागि युरोपका विभिन्न मुलुकमा १० हजारभन्दा बढी रसियन अफिसरहरू काम गरिरहेका छन्। सन् १९९९ देखि सन् २००० सम्म रुसका प्रधानमन्त्री बनेका पुटिनको राट्रपतिको रूपमा यो तेस्रो कार्यकाल हो।
(विभिन्न समाचार एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्