खरिद मूल्यभन्दा कयौं गुणा बढीमा समान बिक्री दरबारमार्गका चार पसलमा शिलबन्दी



 

नेपाल समाचारपत्र
काठमाडौं
दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्रान्डको नाममा खरिद मूल्यको कयौं गुणाभन्दा बढी मूल्यमा सामान बेच्ने गरेको पाइएको छ। सोमबार आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा २६ सय रुपियाँमा खरिद गरी अन्तर्राष्ट्रिय ब्रान्डको भन्दै २६ हजार रुपियाँसम्ममा बेच्ने गरेको पाइएको हो।

सोमबार मन्त्री मण्डल नेतृत्व टोलीले उपभोक्ता ठगी गरेको भेटिएका कारण दरबारमार्गका चार पसलमा शिलबन्दी गरिएको छ। आपूर्ति मन्त्रालयले दरबारमार्गमा स्टोर वान, ब्रेटली, पुमा र नाइक गरी अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसल शिलबन्दी गरेको हो। मन्त्रालयका अनुसार नाइकले ४ हजार ७ सयको खरिद बिलको जुत्ता २६ हजार ९ सय ९० रुपियाँमा र २ हजार ६ सय रुपियाँको सामान २६ हजार रुपियाँमा बिक्री गर्ने गरेका छन्।

त्यस्तै सामान्य बजारभाउभन्दा कयौं गुणा बढी अर्थात १ सय रुपियाँ खरिद मूल्य भएको चप्पल २५ सयमा बिक्री गरिँदै आएको खुल्नमा आएको छ। त्यसैगरी नर्थ फेसमा १३ हजारको सामान बेचेर ४ हजारको बिल काटेको भेटिएको थियो।सोमबार आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ती पसलमा शिलबन्दी गरेको हो। खरिद र बिक्री मूल्यमा धेरै अन्तर राखेको ती पसललाई सबै कारोबारको कागजातसहित तीन दिनभित्र उपस्थित हुन मन्त्रालयले निर्देशन दिएको छ।

ती पसलले बिल बिजक नभएको, ओभर बिलिङ गरेको, वास्तविक मूल्यमा अत्यधिक वृद्धि गरी दशैं छुट गरिएको भेटिएकाले शिलबन्दी गरिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताउनुभयो। मण्डलले उपभोक्ताले महँगो सामान बाध्यात्मक तरिकाले किन्नुपर्ने र जनताका समस्याभन्दा पनि व्यवसायीको मनपरी भएकाले समाजमा विकृति ल्याएकाले अनुगमन आएको आपूर्तिमन्त्री शिवकुमार मण्डलको भनाइ छ।

मन्त्री मण्डलले व्यवसायी र उपभोक्ताको बीचमा समन्वय गरी जनता ठगिने कार्यलाई नियन्त्रण गरिने पनि विश्वास दिलाउनुभयो। अनुगमनका क्रममा उहाँले भन्नुभयो–‘नियम र कानुनले भेटेको कानुनसम्मत तरिकाले हुने प्रकारको हदसम्मको कारबाही हामी गछौं।’ निर्दोष व्यवसायीलाई हाम्रो अनुगमनको कारणले व्यवसायमा कुनै दखल नहुने तर दोषीलाई कुनै पनि प्रकारको क्षमा नगरिने उहाँको भनाइ छ।

यसैबीच दरबारमार्गसँगै कमलपोखरीको सिटी सेन्टर, ठमेलको नर्थ फेसलगायतमा पनि आपूर्ति विभागले अुनगमन गरेको छ।अनुगमनका क्रममा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने व्यवस्था रहेको बताउनुभयो। उहाँले पसलले अत्याधिक नाफा खाने गरेको भेटिएकाले उनीहरूलाई कालोबजारी ऐन अनुसार कारबाही गरिने पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्