प्राधिकरणलाई दुहुनो गाई बनाएः ऊर्जामन्त्री



 

नेपाल समाचारपत्र
काठमाडौं
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभएको छ। प्राधिकरणको ३२औं वार्षिकोत्सव समारोहमा मन्त्री शाहीले विद्युत् उत्पादन, प्रसारण र वितरणमा देखिएका समस्या कम गर्न तथा प्राधिकरणका काम कारबाही चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको हो।

कर्मचारीले प्राधिकरणलाई दुहुनो गाई बनाएको र सकेजति लाभ लिन खोजेको भन्दै आलोचनासमेत गर्नुभयो। कर्मचारी युनियनलाई पनि आफ्नो मर्यादा र कार्यक्षेत्र भन्दा बाहिर गएर कुनै पनि काम नगर्न मन्त्रीले निर्देशन दिनुभयो। मन्त्री शाहीले प्रशासनिक कार्यमा हुने ढिलासुस्तीले ग्राहकले सास्ती पाउनुका साथै मुलुकलाई ठूलो घाटा हुने भएकाले कर्मचारीलाई आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न निर्देशन दिनुभयो।

प्राधिकरणका काउन्टरमा उपभोक्ताले पिउने पानी, ट्वाइलेट र बस्ने ठाउँसमेत नभएको भन्दै तत्काल ती समस्या हटाउन पनि प्राधिकरणलाई निर्देशन दिनुभयो। ‘ट्वाइलेट छैनन्, काउन्टरमा उपभोक्तालाई पिउने पानी छैन। भित्तामा पान खाएर थुकिएको छ र हरेक कोठामा चिया पाक्ने गरेको मैले भेटेको छु ती सबै समस्यालाई एक हप्ताभित्र समाधान गर्न म यही मञ्चबाट निर्देशन दिन्छु्’ –मन्त्री शाहीले भन्नुभयो।

उपभोक्ताका गुनासो सुन्न ऊर्जा मन्त्रालयले हटलाइन सेवा सुचारु गर्न लागेको पनि मन्त्री शाहीले जानकारी दिनुभयो। मन्त्री शाहीले भन्नुभयो ‘हामीले केही दिनभित्रै उपभोक्ताका गुनासो सुन्न हटलाइन सेवा सुचारु गर्न लागेका छौ र एउटा मात्र पनि गुनासो आएको खण्डमा प्राधिकरणका कर्मचारी सजायको भागिदार बन्छन्।’

मन्त्री शाहीले यदी कुनै ठाउँमा ट्रान्समिटर पड्कियो वा केही समस्या देखिएमा त्यसको जिम्मेवार सम्बन्धित क्षेत्रको कर्मचारी हुने बताउनुभयो। कर्मचारीहरूले काम नगर्ने तर संघ संगठन र युनियनमा लागेर भाषण गर्दै हिड्ने गरेको भन्दै आफ्नो मर्यादा र कार्यक्षेत्र भित्र रहेर काम गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा ऊर्जासचिव अनुपकुमार उपाध्यायले अहिले विद्युत् कटौती कम गर्यौं भनेर मख्ख परे बस्न नहुने उल्लेख गर्दै थप चुनौती रहेको बताउनुभयो। ३२औं वार्षिकोत्सवका अवसरमा प्राधिकरण उत्कृष्ट कर्मचारीलाई सम्मानसमेत गरेको छ।

सम्मानित हुनेहरूमा मिर्चैया वितरण केन्द्रका प्रमुख शिवराम यादव, टीकापुर वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साह, भैरहवा वितरण केन्द्रका उपप्रमुख मुनिन्द्र ठाकुर, प्रणाली सञ्चालन विभागका सहायक प्रबन्धक विनोद लोहनी, ग्रिड सञ्चालन विभागका सहायक प्रबन्धक अमित गोपाल वैद्य, आयोजना व्यवस्थापन निर्देशनालयका उपप्रबन्धक जुजुरत्न शाक्य, सूचना प्रविधि विभागका सहायक प्रबन्धक रोशन न्यौपाने र हेटौंडा केन्द्रीय ट्रान्सफर्मर भण्डारण तथा मर्मत केन्द्र प्रमुख सतिसचन्द्र साहलगायत १५ जना कर्मचारीलाई ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले प्रमाणपत्र र नगद २५ हजार रुपियाँ प्रदान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्