एउटै नगरपालिकाको बजेट एक अर्ब ६९ लाख



यमलाल भुसाल,वुटबल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि एक अर्ब ६९ लाख रुपैंयाँको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले  एक अर्ब ६९ लाख ५५ हजार ६ सय ८९ रुपैंयाँको बजेट प्रस्तुत गगर्नु भएको हो ।

मंगलबारको नगरसभा बैठकले नीति, मार्गदर्शन तथा कार्यक्रम पारित गरेको थियो । सोहीअनुसारको बजेट  बैठकमा पेश भएको हो ।बजेटमा चालु खर्चतर्फ ४८ करोड ७९ लाख ६ हजार र पूँजीगत तर्फ ५१ करोड ९० लाख ४९ हजार ६ सय ८९ रुपैंयाँ विनियोजन गरिएको छ ।

चालु खर्चमा सामाजिक सुरक्षा भत्ता मात्र १३ करोड रुपैंयाँ छ । नगरपालिकाले  अनुदानबाट ६७ करोड ४९ लाख ४९ हजार, आन्तरिक श्रोतबाट १४ करोड र गत आर्थिक वर्षकोे मौज्दातबाट १९ करोड २० लाख ६ हजार ६ सय ८९ रुपैंयाँ प्राप्त गर्ने बजेटमा उल्लेख छ ।बजेटमा ठूला पूर्वाधार विकास कार्यक्रम अन्तर्गत् पूर्वाधार विकास तथा अन्य कार्यक्रममा १२ करोड ८ लाख २७ हजार, सडक कालोपत्रे तर्फ ७ करोड ७० लाख, निकासी सडक मर्मततर्फ ४५ लाख विनियोजन गरिएको छ । यस्तै अन्य ठूला पूर्वाधार निर्माणमा ४ करोड १४ लाख र सडक ग्राभेल तर्फ ७ करोड ९० लाख गरी ३३ करोड १४ लाख विनियोजन गरिएको छ ।

साना पूर्वाधार योजनाहरुमा सडक कालोपत्रेमा २ करोड ७९ लाख, कल्भर्ड निर्माणमा १ करोड ३ लाख ३५ हजार, पर्यटन प्रवद्र्धन तर्फ ६२ लाख १२ हजार, अन्य साना पूर्वाधार कार्यक्रम तर्फ २ करोड गरी जम्मा ६ करोड ४४ लाख ४७ हजार विनियोजन गरिएकोछ ।बजेटमा बालबालिका तर्फ २ करोड, महिला तर्फ १ करोड ६० लाख, मुस्लिम मधेशी तथा पिछडा वर्ग विकास कार्यक्रममा ८ लाख, दलित वर्ग उत्थान विकास कार्यक्रममा १२ लाख, अपाङ्ग उत्थान विकास कार्यक्रममा १२ लाख, जेष्ठ नागरिक उत्थान विकास कार्यक्रममा ६१ लाख ५० विनियोजन गरिएको छ ।

युवा उत्थान विकास कार्यक्रममा ७० लाख, आदिवासी जनजाति उत्थान विकास कार्यक्रममा ६१ लाख, कृषक विकास कार्यक्रममा २ करोड १८ लाख  विनियोजन गरिएको छ । त्यस्तै बजेटमा समपुरक कोषतर्फ १ करोड ५० लाख विनियोजन गरिएको छ । जसमा संघ संस्थासँग साझेदारी कार्यक्रममा ८० लाख, भाषाकला संस्कृतिमा १० लाख, सडक बोर्ड तर्फका कार्यक्रममा ६० लाख विनियोजन गरिएको छ ।

यसैगरी कर्मचारी कल्याणकोषलगायत विभिन्न विशेष कोषतर्पm १ करोड ५० लाख विनियोजन गरिएको बजेटमा उल्लेखमा छ । नगरसभामा बजेट प्रस्तुत गर्दै नगर प्रमुख घिमिरेले माग भई आएका नगरपालिकाको स्रोतबाट सञ्चालन हुन नसक्ने ठूला योजनाहरुलाई केन्द्र सरकारमा अनुरोध गरिएको बताए ।

बजेटमा नगरबासीहरुको मागहरुलाई नगरपालिकाको स्रोत र साधनले भ्याएसम्म यथासम्भव समेट्ने प्रयत्न गरिएको उनले जनाए । ‘योजना तर्जुमा गर्दा स्थानीय तह संचालन सम्वन्धि विद्यमान कानुनमा गरिएको व्यवस्था, राष्ट्रिय योजना आयोग, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्राप्त मार्ग निर्देशनलाई पूर्णतः पालन गरिएको छ ।’ उनले भने ।बजेटमा नगरपालिकाको आन्तरिक आय स्रोतलाई दीर्घकालीन र भरपर्दो बनाउन एकीकृत सम्पत्ति करको व्यवस्था आ.व. २०७५÷०७६ बाट पूर्ण रुपमा कार्यान्वयन गर्नको लागि यसै आर्थिक वर्षमा सम्पूर्ण तयारी पुरा गर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।

बजेटमा चालू आर्थिक वर्षका लागि चौथो नगर परिषद्बाट पारित योजना तथा कार्यक्रम यथावत् राख्दै थप कार्यक्रम समावेश गरिएको हो । प्रत्येक वडामा कम्तिमा ७५ लाख रुपैंयाँसम्मका वडास्तरीय कार्यक्रम बजेटमा राखिएको छ भने सबै वडामा नगरस्तरीय कार्यक्रम पनि राखिएको छ । यसैवर्ष तिलोत्तमा नमूना सडक, नगरपालिकाको भवन, छ वटा वडा कार्यालयहरुको भवन, तिलोत्तमा भ्यूटावर साथै तिलोत्तमा बसपार्कको निर्माण कार्य सुरु गर्नेगरी आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

नगरभित्रका सामुदायिक बिद्यालयहरुको पूर्वाधार विकास, पर्यटकीय स्थलहरुको संरक्षण–संवद्र्धन, कृषि कार्यक्रम, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, सिंचाई अन्य भौतिक पुर्वाधार, स्वरोजगार मूलक कार्यक्रम लगायतका योजनाहरुमा उचित सम्बोधन गरिएको नगरप्रमुख घिमिरेले बताए ।

बजेटमा समूहबाट खेती वा पशुपालन व्यवसाय सञ्चालन गर्ने युवा वर्गलाई अनुदानको व्यवस्था मिलाइएको छ । यस्तै बाली तथा पशु संरक्षण राहत कोष स्थापना गरी अनुदानको व्यवस्था मिलाइएको बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्