चौधरी फाउण्डेसनद्वारा राहत वितरण



 

काठमाडौं, (नेस)
चौधरी फाउण्डेसनले बाढीपीडितहरूलाई तत्काल राहत पुर्याउन प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, कम्बल, म्याटलगायतका सामग्री वितरण शुरू गरेको छ। फाउण्डेसनका छुट्टाछुट्टै टोली सुनसरी, सप्तरी, चितवन, नवलपरासी र बर्दियामा बाढीबाट सर्वाधिक प्रभावित क्षेत्रमा पुगी राहत वितरण शुरू गरेका हुन्। बाढी प्रभावित क्षेत्रमा खाद्यान्न अभाव भएकाले पीडितहरूमा तत्काल राहत पुर्याउन फाउण्डेसनबाट छुट्टाछुट्टै टोली खटाई राहत वितरण गर्ने निर्णय लिइएको हो।
चौधरी ग्रुपद्वारा उत्पादित तयारी खाने कुरा बाढीपिडितलाई वितरण गरिएको छ। जसमा वाईवाई चाउचाउ, वाईवाई भुजिया, रियो जुस र रियो पानी रहेका छन्। ती खाद्यान्न पीडितका हातमा पर्ना साथ उपभोग गर्न सकिने भएकाले पीडितलाई तत्कालै राहत पुग्ने विश्वास गरिएको छ।यसका साथै पीडितलाई कम्बल, ओछ्याउने म्याट पनि वितरण गरिएको कम्पनीले जनाएको छ।

फाउण्डेसनले मंगलबार सप्तरी जिल्लाका बाढीबाट सर्वाधिक प्रभावित कदमाहा र जोगिनियामा पुगि राहत वितरण गरेको छ। बुधबार सुनसरीको देवानगन्ज र हरिनगरलगायत गाउँमा राहत वितरण गरिएको छ। चितवनको दक्षिणी भेग मेघौलीको सुकुम्बासी वस्तीमा पनि राहत वितरण गरिएको छ।

त्यसैगरी नवलपरासीको सरावल गाउँपालिकाको भुजवागाउँमा राहत वितरणका लागि टोली प्रस्थान गरिसकेको छ।बर्दियामा प्रमुख जिल्ला अधिकारी विष्णु थापालाई एक हजार प्याकेट राहत सामग्री हस्तान्तरण गरिएको छ।

फाउण्डेसनले काठमाडौं, नवलपरासी र बर्दियास्थित चौधरी ग्रुपका कार्यालयहरूमार्फत् राहत वितरणको अनुगमन गरिरहेको छ। बाढी प्रभावित क्षेत्रमा रहेका ग्रुपका डिलर र डिस्ट्रिब्युटरहरूलाई पनि परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्